गाउँपालिका उपाध्यक्षले पेस्तोल देखाई शिक्षकलाई धम्की दिएको भन्दै कारबाहीको माग

कपिलवस्तु/९ मंसिर – एकीकृत अखिल नेपाल शिक्षक संगठनले गाउँपालिका उपाध्यक्षले प्रधानाध्यापकलाई पेस्तोल देखाई धम्कि दिएको भन्दै कारबाही नभए आन्दोलनमा उत्रने चेतावनी दिएको छ । शुद्धोधन गाउँपालिका उपाध्यक्ष लाला चौधरीले श्री नेपाल राष्ट्रिय नमुना मा.वि., शुद्धोधन –४, कपिलवस्तुका प्रधानाध्यापक लाल चन्द्र पाण्डेय माथि पेस्तोल देखाई धम्काएको जनाएको हो ।


एकीकृत अखिल नेपाल शिक्षक संगठनलले एक विज्ञप्ति जारी गर्दै संगठनका पूर्व केन्द्रीय सदस्य तथा कपिलवस्तु जिल्ला समन्वय समितिका वर्तमान अध्यक्ष रहेका पाण्डेय माथि मंसिर ६ गते विद्यालयबाट घर फर्कने क्रममा लवनी चोक नजिकै शुद्धोधन गाउँपालिका उपाध्यक्ष लाला चौधरीले गाडी रोकी पेस्तोल देखाई डर, धाक धम्कि दिई निज उपाध्यक्षको भाई सन्तोष चौधरी, गोविन्द चौधरी लगायत ७ (सात) जनाको समूहले ज्यानै लिने गरी ज्यान मार्ने उद्योग गरेको जनाएको छ ।


स्थानीय सत्ताको जिम्मेवार उपाध्यक्षको प्रत्यक्ष संलग्नतामा भएको यो घटना अत्यन्तै दुःखद, अपराधपूर्ण र निन्दनीय रहेकोले घटनाका दोषीहरूलाई हदै सम्मको कानुनी कार्बाहीको माग गरेको छ ।


नमुना विद्यालय श्री नेपाल राष्ट्रिय नमुना मा.वि., शुद्धोधन – ४, कपिलवस्तुका प्र.अ. पिडित लालचन्द्र पाण्डेयलाई कानुनी न्यायको लागी सम्बन्धीत निकाय सँग जोडदार माग गर्दछौँ । हाम्रो मागलाई बेवास्ता गरी पीडितले न्याय नपाए हाम्रो संगठन कानुनी उपचार र आन्दोलनमा उत्रन बाध्य हुने र त्यसबाट उत्पन्न परिणामको जिम्मेवार सम्बन्धीत पक्ष नै हुने ब्यहोरा समेत जानकारी गराउँदछौँ विज्ञप्तिमा भनिएको छ ।


उपाध्यक्ष भन्छन् विद्यालय सहयोगीको तलब नदिएपछि विवाद भएको हो


शुद्धोधन गाउँपालिका उपाध्यक्ष होम प्रकाश चौधरी (कुर्मा) अर्थात् लाला चौधरीले आफूले शिक्षकलाई त्यस्तो कुनै व्यवहार नगरेको खबर एजुकेशनलाई बताए । उनले विद्यालय सहयोगीको तलब ५२ हजार निकासा गरेर ३२ हजार मात्र दिएको र सो बारेमा गाउँपालिकामा गुनासो आएपछि बुझ्न खोज्दा मुख छोडेर गाली गरेको पछि भनाभन मात्रै भएको बताए । चौधरीले पाण्डेले भनेको चोक नजिकै प्रहरी चौकी पनि रहेको र आफूबाट त्यस्तो कुनै गलत काम नगरेको दाबी गरे ।


त्यसैगरी गाउँपालिका अध्यक्ष कमलेश शरण चौधरीले उपाध्यक्षले पेस्तोल देखाएर धम्की दिएको बारेमा आफूलाई कुनै जानकारी नआएको तर उपाध्यक्षलाई गाली गरेको गुनासो आएपछि फोन गरेर प्रधानाध्यापकलाई सोध्दा उपाध्यक्षले आफूलाई गाली गरेपछि उनले पनि खुट्टा भाँच्छु भनेर गाली गरेको स्विकारेको बताए ।


उनले लालाका भाईहरूले प्रधानाध्यापकलाई पिटेको कुरा आएको बताउँदै विद्यालय सहयोगीको रकम ५२ हजार रकम निकासा गरेर ३२ हजार मात्रै रकम दिएपछि प्रधानाध्यापक र उपाध्यक्षबिच विवाद चर्किएको जानकारी दिए । कमलेश शरण चौधरीले गाउँपालिका उपाध्यक्ष र प्रधानाध्यापक एउटै पार्टिको भएको र उनीहरुलाई यो विवाद नगर्न समेत आग्रह गरिएको बताए ।


यसबारेमा प्रधानाध्यापक लाल चन्द्र पाण्डेयसँग बुझ्दा खोज्दा उनिसँग भने सम्पर्क हुन सकेन ।

प्रधानाध्यापक लाल चन्द्र पाण्डेय