काठमाडौं/८ मंसिर – काठमाण्डौं विश्वविद्यालय स्कुल अफ एजुकेसनले आउँदो शैक्षिक सत्र (२०२५ फेब्रुअरी) देखि प्रारम्भिक बालविकास विषयमा एमफिल सुरु गर्ने भएको छ । पाठ्यक्रम परिमार्जन गरि १८ महिना भित्र नै थेसिस/डिजर्टेसन सकाउने लक्ष्यका साथ सुरु गर्न लागिएको यो कोर्सका लागि हाल आवेदन माग गरिएको हो ।
कुनै पनि विषयमा स्नातकोत्तर विषय पुरा गरिसकेका विद्यार्थीले यो कार्यक्रममा भर्ना हुन सक्ने विश्वविद्यालयले जनाएको छ । तर, प्रारम्भिक बालविकास विषयमा पूर्व अध्ययन नभएकाहरूका लागि ६ क्रेडिटको ‘ब्रिज कोर्स’ पुरा गर्नु पर्ने फ्याकल्टी डा.मीनाक्षी दाहाल बताइन ।
नेपालको सन्दर्भमा प्रारम्भिक बालविकासका विषयमा पर्याप्त अध्ययन, खोज तथा अनुसन्धान हुन नसकेको विद्यमान परिप्रेक्ष्यमा यो कोर्सले सक्षम मानव पुँजीको विकास गरी खोज तथा अनुसन्धानमा नयाँ नयाँ आयामहरू सिर्जना गर्ने र बालबालिकाको सर्वाङ्गीण विकास देखि नेपालको शिक्षाको आधारभूत तहलाई थप मजबुत बनाउदै लैजान मद्दत गर्ने विश्वविद्यालयले अपेक्षा लिएको उनको भनाई छ ।
प्रारम्भिक बालविकासमा उच्च शिक्षाको माग बढेसँगै प्रारम्भिक बालविकास विषयमा काठमाण्डौं विश्वविद्यालयले चार वर्ष अगाडी स्नातकोत्तर (एमएड)सुरु गरेको थियो । विभिन्न पेशामा आबद्ध व्यक्तिहरू यो कोर्सका दौरान या अध्ययन पश्चात् विभिन्न संघसंस्था, विद्यालय, परियोजना तथा निकायहरूमा कार्यरत रही प्रारम्भिक बालविकासलाई प्रवर्धन गर्नुका साथै नीति निर्माण तहमा पनि योगदान दिइरहेका छन् ।
हाल नेपालमा प्रारम्भिक बालविकासका विषयमा थप चासो र चिन्ता व्यक्त हुन थालेको र एउटा अभियान जसरी गति लिइरहेको अवस्थामा काठमाण्डौं विश्वविद्यालय स्कुल अफ एजुकेसनले उक्त गतिलाई थप टेवा दिइरहेको आफूलाई पनि अनुभूति भएको यसै विषयमा स्नातकोत्तर गरेका र हाल एजुकेसनल लिडरसिपमा एमफिल अध्ययनरत विद्यार्थी/शोधकर्ता अनन्त घिमिरेले बताए ।



