काठमाडौं/२७ कार्तिक –नेपाल शिक्षक महासङ्घले अस्थायी प्रकृतिका शिक्षक, बालकक्षाका शिक्षक र विद्यालय कर्मचारी राज्यबाट चरम श्रम शोषणमा परेको जनाएको छ । दरबन्दी तथा पद र तह अनुसारको तलब प्रबन्ध नभएको भन्दै राज्यले नै वर्षौदेखि चरम श्रम शोषणमा परेको जनाएको हो ।
महासङ्घसँग भएको सहमति वमोजिम् नयाँ सङ्घीय शिक्षा ऐन जारी गरे यस्ता समस्याको समाधान हुने भन्दै दिँदै शिक्षक–कर्मचारी तथा प्रधानाध्यापकहरूले ढुक्कले काम गर्नसक्ने अवस्था सिर्जना गर्नुपर्नेमा जोड् दिएको छ ।
वर्तमान संवैधानिक प्रबन्धका कारण सामुदायिक विद्यालयमा अनावश्यक हस्तक्षेप र राजनीतिक चलखेलको अवस्था सिर्जना भएकोले उक्त संवैधानिक प्रबन्धमा परिवर्तन गरी यसलाई तीन तहका सरकारको साझा अधिकारको सूचीमा राखिनु पर्ने नेपाल शिक्षक महासङ्घको माग रहेको छ ।
राहत, साविक उमावि, करार, शिक्षण सिकाइ अनुदान, प्राविधिक धार, विशेष शिक्षा लगायतका सबै अस्थायी प्रकृतिका शिक्षकहरूलाई महासङ्घसँग भएको सहमति वमोजिम् शिक्षक सेवा आयोगबाट स्थायी गर्न र विद्यालय कर्मचारी र बालकक्षाका शिक्षकका लागि स्वीकृत दरबन्दीको व्यवस्था गरी तह अनुसार पूरा तलबभत्ता दिने तथा स्थायित्वको प्रकृयामा लैजानु पर्ने जनाएको छ ।
त्यसैगरी अस्थायीको मात्र नभई स्थायी शिक्षकको अवस्था पनि दयनीय रहेको र वर्षौंदेखि निरन्तर काम गरिरहँदा पनि धेरै स्थायी शिक्षकको एक श्रेणी बढुवा समेत नभएकोले सहमति वमोजिम् आवधिक बढुवाको प्रबन्ध गर्न माग गरेको छ ।
निजामती, प्रहरी, सेना र विश्वविद्यालय सबैतिर विशिष्ट श्रेणीको व्यवस्था भएको हुँदा विद्यालय शिक्षामा पनि विशिष्ट श्रेणीको प्रबन्ध हुनुपर्ने, शिक्षक र निजामती कर्मचारीका बिचमा ग्रेडको विभेद रहेकोले यसको अन्त्य गर्नुपर्नेमा जोड् दिएको छ ।



