विद्यालय दिवा खाजाको थप व्यवस्थापन स्थानीय तहले गर्नुपर्ने

काठमाडौं/२७ कार्तिक – स्थानीय उत्पादनमा आधारित पोषणयुक्त विद्यायलय दिवा खाजा कार्यक्रमको व्यवस्थापनको प्रमुख जिम्मा स्थानीय तहको हुने विद्यालय दिवा खाजा प्रारुप २०८१ शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले उल्लेख गरेको छ । स्थानीय उत्पादनमा आधारित पोषणयुक्त विद्यालय दिवा खाजा प्रारुप कार्यन्वयन गर्न आग्रह गर्दै सो कुरा उल्लेख गरेको हो ।


उत्पादनलाई प्रोत्साहन गर्ने र दिवा खाजालाई स्थानीय उत्पादनमा आधारित एवम् गुणस्तरीय बनाउने गरी नीति बनाउनुपर्ने, स्थानीय उत्पादन आपूर्ति, निकासी प्रक्षेपण गरी स्थानीय उत्पादनको मूल्य निर्धारण जस्ता पक्ष सम्बोधन गर्नुपर्छ विद्यालयमा प्रयोग गरिने खाजा मेनु अनिवार्य रूपमा निर्धारण गरिनुपर्ने र स्थानीय तहभरमा एकै प्रकारको मेनुको उपयोग गर्ने वा परिवेश र स्थानीय उत्पादनअनुसार फरक हुने भन्ने निर्धारण गर्नुपर्ने प्रारुपमा भनिएको छ ।


त्यसैगरी विद्यालय दिवा खाजका लागि सङ्घीय सरकारद्धारा वित्तीय हस्तान्तरण भएको बजेटमा आवश्यकताअनुसार बजेट थप गर्ने वा वस्तुगत सहयोग जुटाई विद्यालयमा यस कार्यक्रमसम्बन्धी योजना र कार्यान्वयन स्वीकृत गरी कार्यन्वयन स्थानीय तहले गर्नुपर्ने भएको छ ।


आफ्ना स्थानीय तहअन्तर्गतका विद्यालयमा राष्ट्रिय मापदण्डअनुसारका मापदण्ड र स्तर कायम गर्ने र कार्यक्रको अनुगमन र मूल्याङकन गर्ने भूमिका स्थानीय सरकारको हुने र स्थानीय तहले प्रदेश सरकारसँग सहकार्य गरी सम्बन्धित सरोकारवालाको क्षमता विकास र आवश्यकताका आधारमा थप स्रोतको माग गरी प्राप्त गर्न सक्ने भनिएको छ ।


तोकिएको मापदण्डबमोजिम दिवा खाजाको व्यवस्थापन गर्दा हरेक खाजामा अन्न समूहबाट ५०–६० ग्राम गेडागुडी समूहबाट ४०–५० ग्राम, फलफूल तथा हरियो साग सब्जीबाट ३०–५० ग्राम र पशुजन्य उत्पादनबाट २०–३० ग्राम गरी कुल १५० दिखि २०० ग्रामसम्म हुने गरी तोकिएको छ । चारै समूहको औसत प्रतिविद्यार्थी १७५ ग्राम हुने गरी तोकिएको छ ।


संघीय सरकारले दिवा खाजाका लागि प्रतिदिन प्रतिविद्यार्थी १५ रुपियाँ र कर्णालीका विद्यार्थीका लागि २० रुपियाँ उपलब्ध गराउँदै आएको छ ।


हेर्नुहोस प्रारुप