दशैमा ३९ पालिकाका शिक्षकले तलब भत्ता पाएनन्

काठमाडौं/२२ असोज – नेपाल राष्ट्रिय शिक्षक सङ्गठनले देशभरका ३९ पालिकाले शिक्षकहरूको तलब नदिएको भन्दै विरोध गरेको छ । नेपालीहरूको महान पर्वहरू दशैँ, तिहार, छठ र नेपाल सम्वत् लगायतका महत्त्वपूर्ण अवसरमा समेत केही स्थानीय तहहरूले शिक्षकहरूको चाडपर्व खर्च तथा नियमित तलब भत्ता उपलब्ध नगराएको भन्दै विरोध गरेको हो ।


आम शिक्षक कर्मचारीहरू समयमानै तलब भत्ता प्राप्त गर्ने अधिकारबाट वञ्चित हुने वातावरण सिर्जना भएको र यस असामान्य परिस्थितिले नेपाल राष्ट्रिय शिक्षक सङ्गठन राष्ट्रिय समितिको गम्भीर ध्यानाकर्षण भएको विज्ञप्तिमा उल्लेख गरेको छ ।


सङ्घीय सरकारबाट उपलब्ध ससर्त अनुदान अनुसार स्थानीय तहहरूले समयमा नै तलब भत्ता वितरण गर्नुपर्नेमा हाल सम्म नगरेपछि तत्कालै शिक्षक तथा कर्मचारीहरूको तलब भत्ता निकासा गरी वितरण गर्न गराउन सम्पूर्ण सम्बन्धित स्थानीय तहहरूसँग नेपाल राष्ट्रिय शिक्षक सङ्गठन माग गरेको छ ।


‘नेपालको वर्तमान संविधान २०७२ अनुसार धारा ३३ को रोजगारीको हक र धारा ३४ अनुसार श्रमको हक बमोजिम प्रत्येक शिक्षक श्रमिकलाई उचित पारिश्रमिक सुविधाको हक हुने छ भन्ने व्यवस्था रहेको र सङ्घीय शिक्षा शिक्षा नियमावली २०५९ को नियम १०० र नियम १०१ बमोजिम शिक्षकले आफ्नो पदमा बहाल गरेको मितिदेखि प्रत्येक महिना भुक्तान गरेपछि तलब र भत्ता पाउनेछ भन्ने प्रावधानलाई दृष्टिगत गरी संवैधानिक तथा कानुनी व्यवस्था बमोजिम तत्कालै शिक्षक तथा कर्मचारीहरूको तलब भत्ता निकासा गरी वितरण गर्न गराउन सम्पूर्ण सम्बन्धित स्थानीय तहहरूमा नेपाल राष्ट्रिय शिक्षक सङ्गठन जोडदार माग गर्दछ’ विज्ञप्तिमा भनिएको छ ।