बारा/३१ भदौं – शिक्षा विकास तथा समन्वय इकाइ बाराले राजनीतिक दल र तिनका भातृ संगठनहरूले विद्यालयमा विभिन्न गतिविधि गरेका कारण पठनपाठनमा असर पारेको भन्दै त्यसता गतिविधि नगर्न आग्रह गरेको छ । बाराका सबै स्थानीय तह र सबे विद्यालयलाई ध्यानाकर्षण गराउँदै राजनीतिक गतिविधि नगर्न आग्रह गरेको हो ।
साथै यस्ता गतिविधि विद्यालयमा गरेको पाइएमा सम्बन्धित विद्यालयका प्रधानाध्यापक र शिक्षकलाई आवश्यक कारबाही गरिने शिक्षा विकास तथा समन्वय इकाइ बाराले चेतावनी दिएको छ ।
‘जिल्लाका केही विद्यालयहरूमा राजनीतिक दलका र तिनका भातृ संगठनका गतिविधिहरू भई बालबालिकाको पठन पाठनमा प्रतिकूल प्रभाव परेको भन्ने जानकारी प्राप्त भएकोले आगामी दिनमा यस्ता गतिविधि गर्न/गराउनु नदिन सम्बन्धित सबैमा सचेत गराउनु हुनका साथै यस्ता गतिविधि विद्यालयमा भए÷गरेको पाइएमा सम्बन्धित विद्यालयका प्रधानाध्यापक / शिक्षकलाई आवश्यक कारबाही गरिने ब्यहोरा समेत जानकारीका लागि सम्बन्धित सबैमा ध्यानाकर्षण गरिएको ब्यहोरा अनुरोध छ’ पत्रमा उल्लेख छ ।
विद्यालय शान्ति क्षेत्र राष्ट्रिय ढाँचा र कार्यान्वयन निर्देशिका २०६८ मा कुनै पनि विद्यालयमा राजनीतिक दल वा तिनका भातृ संगठनका गतिविधि गर्न नहुने व्यवस्था रहेको छ ।



