काठमाडौं/२१ भदौं – प्रधानमन्त्री केपी शर्मा ओलीले विद्यार्थीहरूले छात्रवृत्ति पाए/नपाएको अनुगमन अब सरकारले गर्ने बताएका छन् । सरकारले विपन्न विद्यार्थीलाई छात्रवृत्तिका लागि अनुदान रकम पठाएको र सोको अनुगमन सरकाले गर्ने बताका हुन् ।
सामुदायिक विद्यालयमा कक्षा ६–१० का विपन्न विद्यार्थीहरूको लागि वार्षिक १८ र विज्ञान विषय अध्ययन गर्नेको लागि वार्षिक २४ हजार रुपैयाँ अनुदान दिएको उनले बताए । यसका लागि रु ६० करोड अनुदान रकम उपलब्ध गराइएको उनको भनाई छ ।
“दुर्गम तथा अन्य क्षेत्रका सामुदायिक विद्यालयमा अध्ययनरत २२ वटा सूचीकृत जाति र सीमान्तकृत वर्गका गैरआवासीय विद्यार्थीका लागि प्रति विद्यार्थी वार्षिक १ हजार देखि ३ हजार ५ सय रुपैयाँसम्म छात्रवृत्तिका लागि रकम प्रदान गरिएको छ । गैर आवासीय छात्रवृत्ति अन्तर्गत देशभरका १५ लाख ५० हजार विद्यार्थीले छात्रवृत्ति पाउने छन् । यसका लागि ५९ करोड रुपैयाँ रकम विनियोजन भएको छ” उनले भने ।
त्यसैगरी शैक्षिक दृष्टिले पछि परेका समुदाय, अति बिकट हिमाली जिल्लाका विद्यार्थी लगायत ७ वटा लक्षित समूहका ११ हजार ४ सय विद्यार्थीको लागि मासिक ५ हजारका दरले आवासीय छात्रवृत्ति प्रदान गरिएको जानकारी दिएका छन् ।
उल्लेखित छात्रवृत्ति रकम प्रत्येक स्थानीय तहका प्रति विद्यार्थी लागत हिसाब गरी ससर्त अनुदानमा वित्तीय हस्तान्तरण गरिएको र यस सम्बन्धी कार्यविधि शिक्षा मन्त्रालयको वेबसाइटमा राखिएको छ ।



