नेपाली कांग्रेसले समयसापेक्ष ’शिक्षा नीति’ निर्माण गर्ने


काठमाडौं/१६ भदौं -बिग्रदो शैक्षिक अवस्थालाई सुधार गरी स्वदेशमै सर्वसुलभ र गुणस्तरीय शिक्षा तथा रोजगारीका अवसर निर्माण गर्न नेपाली कांग्रेसले समयसापेक्ष ’शिक्षा नीति’ निर्माण गर्ने जनाएको छ । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको साउन २३ देखि भाद्र १६ गतेसम्म सञ्चालन भएको बैठकले बिग्रदो शैक्षिक अवस्थालाई सुधार गर्न विषय विज्ञ एवं सरोकारवालाहरूको परामर्शबाट समयसापेक्ष ’शिक्षा नीति’ निर्माण गर्ने निर्णय गरेको हो ।


त्यसैगरी यस वर्ष प्रकाशित एसईई र कक्षा १२ को परीक्षाफलमा अधिकांश विद्यार्थी अनुत्तीर्ण भएको परिस्थितिलाई नेपाली कांग्रेसले गम्भीर चिन्ताको रूपमा लिएको र विद्यालय शिक्षा पूर्ण रूपमा निःशुल्क बनाउन र वर्तमान शिक्षा क्षेत्रमा देखिएका तमाम समस्या समाधानका लागि उचित कदम चाल्न विज्ञप्ति मार्फत सरकारको ध्यानाकर्षण गराएको छ ।


विज्ञप्तिमा भनिएको छ “यस वर्ष प्रकाशित एसईई र कक्षा १२ को परीक्षाफलमा अधिकांश विद्यार्थी अनुत्तीर्ण भएको परिस्थितिलाई नेपाली कांग्रेसले गम्भीर चिन्ताको रूपमा लिएको छ । राष्ट्रको सर्वाङ्गीण विकासका लागि किशोर किशोरीको शिक्षा र रोजगारीमा विशेष ध्यान दिनु पर्ने कुरामा हाम्रो अटुट विश्वास छ । बिग्रदो शैक्षिक अवस्थालाई सुधार गरी स्वदेशमै सर्वसुलभ र गुणस्तरीय शिक्षा तथा रोजगारीका अवसर निर्माण गर्न नेपाली कांग्रेसले विषय विज्ञ एवं सरोकारवालाहरूको परामर्शबाट गरी विद्यालयदेखि विश्वविद्यालयसम्मको समयसापेक्ष ’शिक्षा नीति’ निर्माण गर्नेछ । विद्यालय शिक्षा पूर्ण रूपमा निःशुल्क बनाउने र वर्तमान शिक्षा क्षेत्रमा देखिएका तमाम समस्या समाधानका लागि उचित कदम चाल्न नेपाली कांग्रेस नेपाल सरकारको ध्यानाकर्षण गर्दछ ।”