काठमाडौँ /२५ असार – डिस्कभर नेपाल डान्स थिएटरद्वारा दुई दिने राष्ट्रिय लोक नृत्य कार्यशाला सम्पन्न भएको छ । उक्त कार्यशाला असार २२ र २३ गते आयोजना गरिएको थियो ।
नेपालको लोपोन्मुख अवस्थामा रहेको सुनुवार र संथाल जातिको लोक नृत्य प्रवर्धन गर्ने मुख्य हेतुले सो कार्यक्रमको आयोजना गरिएको हो । सातै प्रदेश बाट विभिन्न विद्यालय तथा सांस्कृतिक संस्था बाट १ सय ३० जना प्रशिक्षार्थीहरूको सहभागीता रहेको थियो ।
कार्यशाला लेखक तथा नृत्य प्रशिक्षक रोचक थापा, नृत्य निर्देशक तथा प्रशिक्षक सुनील थापा, युवा प्रशिक्षक जिदानमार्दी र त्रिविको संस्कृति केन्द्रीय विभागका सह प्राध्यापक लोकनाथ दुलालको उपस्थितिमा सञ्चालन भएको थियो ।
उक्त कार्यशाला पश्चत विभिन्न विद्यालयका सहभागी नृत्य शिक्षकहरूले विद्यार्थीहरूलाई सुनुवार र संथाल समुदायको लोक नृत्य सिकाउनुका साथै उक्त समुदायको जीवन शैली, भाषा र पहिरनको उत्पत्तिको सिद्धान्त समेत बुझाउन सक्ने मेरिगोल्ड इंग्लिश स्कुल, भक्तपुरकी नृत्य शिक्षिका तथा कार्यक्रम संयोजक नारायणी थापा मगरले बताइन ।
कार्यक्रमका प्रमुख अतिथि नेपाली सेना श्रीमती संघकी अध्यक्ष सुनिता शर्माले लोक नृत्य सम्बन्धी यस्ता कार्यशालाले आदिवासी संस्कृति, भाषा र जीवन शैलीको संरक्षणमा सहयोग पु¥याउने बताइन । साथै लोकनृत्य मनोरञ्जनको माध्यम मात्र नभई राष्ट्रिय सम्पदाको एउटा महत्वपूर्ण पक्ष रहेको उनको भनाई थियो ।
कार्यक्रमका विशिष्ट अतिथि नृत्य शिरोमणि भैरव बहादुर थापाले यस प्रकारका कार्यशालाहरूले नृत्य प्रशिक्षकहरूको कौशल विकासका लागि धेरै महत्त्वपूर्ण भूमिका खेल्ने विचार व्यक्त गरे ।
त्यस्तै कार्यक्रममा प्राज्ञ माधव प्रधान, काठमाडौँ, राष्ट्रिय नाच घर जमलका पूर्व महाप्रबन्धक राजेश थापा, राजोपाध्याय समाजका अध्यक्ष सञ्जय राज उपाध्याय, बज्रयान बौद्ध धर्म अनुसन्धानकर्ता अरुण श्रेष्ठ, पद्म कन्या क्याम्पस स्नातकोत्तर तहका पूर्व निर्देशक प्रकाश तुलाधर लगायतको उपस्थित रहेको थियो ।
सिटी मन्टेसरी बानेश्वरकी संस्थापक अध्यक्ष पुष्पा रिजाल र उज्वलतारा स्कुल, पेप्सीकोलाकी अध्यक्ष गायत्री कार्कीले यस्ता प्रयासहरूले नेपाली लोक संस्कृतिको प्रवर्धन गर्न विद्यालय तहबाटै राम्रो अभ्यास हुने विश्वास व्यक्त गरे ।
कार्यक्रमका मुख्य प्रायोजक तथा डिस्कवर नेपाल टेलरिङ एण्ड डान्स ड्रेस हायर सेन्टरका प्रवर्धक राजेश गौतम र दुर्गा गौतमले यस्ता कार्यक्रमलाई सहयोग गर्न पाउँदा निकै खुसी लागेको बताए । कार्यक्रमकी सभापति एवं डिस्कवर नेपाल डान्स थिएटरकी संस्थापक निर्देशक भावना कार्कीले सबै सहभागी, प्रायोजक, विशिष्ट अतिथि र प्रशिक्षकहरूलाई धन्यवाद ज्ञापन गर्दै यो पहिलो चरण मात्र रहेको र आफ्नो संस्थाले आगामी दिनमा नेपाली लोक नृत्यको संरक्षण र प्रवर्धनका लागि यस्ता कार्यशालाहरूको शृङ्खला गर्दै जाने बताइन ।




