इलाममा सदस्यता त्याग्ने शिक्षकको ओइरो, झापामा पार्टीको अध्यक्ष बन्दै हेडसरहरु

झापा/१० असार – इलाममा सामुदायिक विद्यालयमा अध्यापन गराउने शिक्षकहरूले धमाधम राजनीतिक दलको सदस्यता त्याग्दै गर्दा झापामा भने पार्टीको अध्यक्ष बन्ने होडबाजीमा सामुदायिक विद्यालयका प्रधानाध्यापकहरू नै लागिपरेको देखिन्छ ।


नेपालको पूर्वी जिल्ला इलामका १ हजार १ सय ६ शिक्षकले राजनीतिक दलको आबद्धता त्याग्दै गर्दा सोही जिल्ला सँग सिमाना जोडिएको झापामा भने सामुदायिक विद्यालयका प्रधानाध्यापकहरूले राजनीतिक दलको जिम्मेवार पदको जिम्मेवारी लिएको जानकारी प्राप्त भएकोछ ।


हुनत जिल्ला स्थित शिक्षा विकास तथा समन्वय इकाईमा उजुरी पर्ने र सम्बन्धीत शिक्षकलाई इकाईले स्पस्टिकरण सोध्ने कार्य गरेता पनि केही पालिकाहरूमा भने शिक्षा मन्त्रालयको आदेशको बेवास्ता गर्दै सामुदायिक विद्यालयका प्रअहरूनै राजनीतिक दलको जिम्मेवारी लिन होडबाजी गरेको देखिएको छ ।


यसै प्रसङ्ग अनुसार झापा जिल्लाको गौरादह नगरपालिका वडा न. ५ अन्तर्गत भर्खरै गठित वडा पार्टी कमिटीको अध्यक्ष पदमा सोही वडाको खयरवारि आधारभूत विद्यालयका सहायक प्रअ याम श्रेष्ठ निर्वाचित भएको तथा वडा न ४ को कंचनजङ्गा आधारभूत विद्यालयका प्रअ तीर्थ भुजेल सहसचिव पदमा निर्वाचित भएको जानकारी खबर एजुकेसनलाई प्राप्त भएको छ ।


मन्त्रालयको निर्देशनलाई बेवास्ता गर्ने शिक्षकहरूलाई भोलिको दिनमा ईकाइले के कस्तो कारबाही गर्ला ? त्यो भने आगामी दिनमा आउनेनै छ । तर उता इलाममा भने शिक्षा मन्त्रालयको निर्देशनलाई पालना गर्दै गत असार ५ गतेदेखि १० गते सोमवार सम्ममा १ हजार १ सय ६ शिक्षकले राजनीतिक दलको आबद्धता त्याग गरेको घोषणा गरेको इलाम स्थित शिक्षा विकास तथा समन्वय इकाईले जनाएको छ ।


इकाईका अनुसार इलाममा दुई हजार दुई सय ८२ शिक्षक दरबन्दी रहेकामा दुई हजार दुई सय ५२ कार्यरत छन् । इकाई प्रमुख डम्बर सुवेदीले गत ५ गतेको सूचना अनुसार शिक्षकले आफू दलको सदस्यबाट अलग भएको लिखित निवेदन इकाईमा दिएका हुन् ।


‘कतिपय शिक्षकले आफू दलमा भएपनि सदस्यता नवीकरण नै नगरेको लामो समय भएको भन्दै निवेदन दिएर दल त्याग गर्नुभएको छ,’ उनले भने, ‘कतिपयले दलको सदस्य नरहने जानकारीसहितको निवेदन दिनुभएको छ ।’


शिक्षा मन्त्रालयको निर्देशनपछि इकाईले जिल्लाका शिक्षकलाई सूचना जारी गरी शिक्षक पदमा कार्यरत रही राजनीतिक दलको सदस्यता लिएको, राजनीतिक दलको कार्यकारिणी समितिमा रहेको महाधिवेशन प्रतिनिधि भएमा, दलमा आबद्ध वा दलको सदस्य वा शिक्षक पदमध्ये रोजी अन्य पद त्याग गरेको निवेदन दिन निर्देशन दिएको थियो ।


सूचनामा यसपछि पनि सामुदायिक विद्यालयको शिक्षक पदमा कार्यरत रही दलमा आबद्ध वा दलको सदस्य, कार्यकारिणी समितिमा रहेको पाइए कानुन बमोजिम कारबाही गर्ने चेतावनीसमेत दिइएको थियो । यस्तो सूचनापछि शिक्षकले दलको पद त्यागेका हुन् ।


‘अहिले पनि यसरी दलको पद त्याग गर्ने भन्दै टाढाका शिक्षकले सम्पर्क गरि रहनु भएको छ,’ इकाई प्रमुख सुवेदीले भने, ‘म्याद पाँच दिनको मात्रै तोकिएको भएपनि अझै पद त्याग गर्ने शिक्षकका लागि निवेदन लिने समय खुकुलो गरिएको छ, अझै केही समय यस्तो निवेदन लिनेछौँ ।’