काठमाडौँ/२५ जेठ – शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले औपचारिक रूपमा सार्वजनिक गरेको ‘उच्चस्तरीय राष्ट्रिय शिक्षा आयोग प्रतिवेदन २०७५’ को प्रतिवेदनमा अन्तर्राष्ट्रिय मानकमा ५ सय भित्र पर्ने खुला वा बन्द विश्वविद्यालय र तिनका क्याम्पस तथा कार्यक्रमहरूलाई मात्र प्रवेशको स्वीकृति दिइनुपर्ने सुझाब दिएको छ । विदेशी विश्वविद्यालय वा क्याम्पसका नाममा कमजोर शैक्षिकस्तरका विश्वविद्यालय तथा क्याम्पसहरू पनि भित्रिन सक्छन भन्दै सो सुझाब दिएको हो ।
त्यसैगरी ५ सय भित्रका विश्वविद्यालयका कार्यक्रमहरू सञ्चालन गर्ने तथा उपाधिहरूलाई समकक्षता दिने प्रबन्ध गरिनुपर्ने र कमजोर शैक्षिक स्तरका विश्वविद्यालयबाट उपाधि लिएर आएका स्वदेशीहरूलाई समकक्षता नदिने व्यवस्था मिलाइनु पर्ने उल्लेख छ ।
प्रतिवेदनमा भनिएको छ “नेपाल विश्व व्यापार संगठनको सदस्य राष्ट्र भएकोले विदेशी खुला वा बन्द विश्वविद्यालयहरू वा तिनका समझदारीमा चल्ने चलाइने विश्वविद्यालय वा क्याम्पस यहाँ स्थापना हुन सक्छन् । यस्ता विश्वविद्यालय वा क्याम्पसहरूले स्वदेशी विश्वविद्यालय वा क्याम्पसलाई धराशायी बनाउन सक्छन् । विदेशी विश्वविद्यालय वा क्याम्पसका नाममा कमजोर शैक्षिकस्तरका विश्वविद्यालय तथा क्याम्पसहरू पनि भित्रिन सक्छन । यसलाई मध्यनजर गरी अन्तर्राष्ट्रिय मानकमा ५०० भित्र पर्ने खुला वा बन्द विश्वविद्यालय र तिनका क्याम्पस तथा कार्यक्रमहरूलाई मात्र प्रवेशको स्वीकृति दिइनुपर्छ । तिनका कार्यक्रमहरू सञ्चालन गर्ने तथा उपाधिहरूलाई समकक्षता दिने प्रबन्ध गरिनुपर्छ । कमजोर शैक्षिक स्तरका विश्वविद्यालयबाट उपाधि लिएर आएका स्वदेशीहरूलाई समकक्षता नदिने व्यवस्था मिलाइनु पर्छ ।”
साथै राज्यले लगानी जुटाउन नसक्ने विधामा मात्रै विदेशी विश्वविद्यालय वा तिनका क्याम्पसहरूलाई नेपालमा कार्यक्रम चलाउने स्वीकृति दिइनु पर्ने सुझाब छ । यस्ता विदेशी विश्वविद्यालयहरूमा ५० प्रतिशत रकम स्वदेशी लगानीकर्ताको हुनुपर्ने र विश्वविद्यालयले आर्जेको खुद नाफामा २० प्रतिशत मात्रै लगानीकर्ताले नाफा लिन पाउँने छ ।
सार्वजनिक गरिएको ’उच्चस्तरीय राष्ट्रिय शिक्षा आयोग २०७५ को प्रतिवेदन तत्कालीन शिक्षा मन्त्री गिरिराजमणि पोखरेलको अध्यक्षतामा गठन भएर तयार पारिएको आयोगको प्रतिवेदन हो । तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले आयोगले बुझाएको प्रतिवेदन सार्वजनिक नगरेपछि करिब ६ वर्ष पछि शिक्षा विज्ञान तथा प्रविधि मन्त्री सुमना श्रेष्ठले बिहिवार सार्वजनिक गरेकी हुन् । उनले प्रतिवेदन कार्यान्वयनमा ल्याइने प्रतिबद्धता जनाएकी छन् ।



