हल्ट प्राइजमा सहभागी हुन विद्यार्थीहरू मुम्बई प्रस्थान

काठमाडौँ /२४ जेठ – विद्यार्थीहरूका लागि नोबेल पुरस्कारका रूपमा परिचित हल्ट प्राइजको सेमिफाइनल प्रतिस्पर्धामा भाग लिन नेपाल इन्जिनियरिङ कलेजका विद्यार्थीहरू मुम्बई प्रस्थान गरेका छन् । विद्यार्थीहरूलाई रचनात्मक र सामाजिक उद्यमहरू विकास गर्न प्रोत्साहित गर्ने विश्वकै प्रतिष्ठित हल्ट प्राइजको नयाँ संस्करणमा कलेजका तीन जना विद्यार्थी छनौट भएका थिए ।


एक लाख अमेरिकी डलर पुरस्कार राशि भएको हल्ट प्राइजको अन्ताराष्ट्रिय प्रतिस्पर्धामा भाग लिन कलेजका लजिता भट्ट, लिजा तामाङ र साइम मानन्धर जुन ७ र ८ मा भारतको मुम्बईमा हुने प्रतिष्पर्धामा भाग लिने मौका पाएका हुन् । उनीहरूलाई बुधवार कलेजले खादा तथा अबिर लगाएर विदाई समेत गरेको छ ।


प्रतिस्पर्धामा भाग लिन जाने विद्यार्थीहरूलाई विदाई गर्दै कलेजका कार्यवाहक प्रिन्सिपल दुर्गाप्रसाद भण्डारीले नेपालको तथा कलेजको नाम उच्च राख्ने गरी प्रतिस्पर्धामा भाग लिन आग्रह गरे । ‘तपाईहरू कलेजको प्रतिनिधि भएर मात्र हैन देशकै प्रतिनिधित्व गरेर जाँदै हुनुहुन्छ, आत्मविश्वासका साथ भाग लिनुहोला’ कार्यवाहक प्रिन्सिपल भण्डारीले भने ।


प्रतिस्पर्धामा भाग लिइरहेका विद्यार्थीहरूले कलेज तथा देशको नाम उच्च राख्ने गरी आत्मविश्वासका साथ प्रतिस्पर्धा गर्ने बताए । ‘हाम्रो कन्सेप्ट पृथक र जीवनोपयोगी छ । विश्वव्यापी प्रतिस्पर्धामा हामीले शतप्रतिशत राम्रो गर्देछौँ’ विद्यार्थी लजिता भट्टले भनिन् । उनका अनुसार यो पटकको ग्लोवल प्रतिस्पर्धामा उनिहरुले तयार पारेको अवधारणाले सबैको ध्यान खिच्नेछ । अवधारणा भने प्रतिस्पर्धामा भाग लिएपश्चात मात्र सार्वजनिक गर्ने उनीहरूको सोच छ ।


यो वर्ष हल्ट प्राइजले सामाजिक उद्यम र संयुक्त राष्ट्र संघको दिगो विकास लक्ष्यहरू मध्ये कम्तीमा एउटा विषयलाई संवोधन गर्दै प्रतिस्पर्धा आयोजना गरिरहेको छ । प्रतियोगितामा नेपाल इन्जिनियरिङ कलेजसँगै कसमस इन्जिनियरिङ कलेज, पुल्चोक क्याम्पस, त्रिभुवन विश्वविद्यालय लगायतले समेत सहभागिता जनाएका छन् । प्रतिस्पर्धामा ३ देखि ५ जना विद्यार्थीको समूह बनाएर भाग लिने प्रावधान छ ।