काठमाडौँ /२६ फागुन — पूर्वाञ्चल, सुदूरपश्चिम र मध्यपश्चिम विश्वविद्यालयमा उपकुलपतिहरुको कार्यकाल सकिएपछि अहिले निमित्त उपकुलपतिहरु तोकिएको छ । कुलपति तथा प्रधानमन्त्री पुष्पकमल दाहालले तीनवटै विश्वविद्यालयमा निमित्त उपकुलपति नियुक्त गरेका छन् ।
पूर्वाञ्चलमा शैलेषमणि पोखरेल, सुदूरपश्चिममा कर्णबहादुर थापा र मध्यपश्चिममा केशरसिंह रानालाई निमिक्त कुलपति तोकेका छन् । उपकुलपतिको पद रिक्त भएपछि विश्वविद्यालय ऐनअनुसार बढीमा ३ महिनासम्म निमित्तको जिम्मेवारी दिन सक्ने व्यवस्था भएकोले उनीहरुलाई जिम्मेवारी दिएको हो ।
पोखरेल र थापा सम्बन्धित विश्वविद्यालयका चिकित्सा संकाय र कानुन संकायका डिन हुन भने मध्यपश्चिम विश्वविद्यालयका प्राध्यापक राना सेवा आयोगका पूर्व सदस्य तथा पूर्व डिन हुन् । सुदूरपश्चिम, पूर्वाञ्चलमा उपकुलपति अम्मराज जोशी र यादवराज कोइरालाको कार्यकाल फागुन तेस्रो साताबाट सकिएको छ । मध्यपश्चिम विश्वविद्यालयका उपकुलपति नन्दबहादुर सिंहको कार्यकाल पनि फागुन १८ गतेदेखि सकिएको हो ।
विश्वविद्यालयमा उपकुलपतिको कार्यकाल सकिनु भन्दा अगाडी नै नयाँ उपकुलपति नियुक्तिका लागि प्रक्रिया अघि बढाइए पनि अहिलेसम्म नियुक्ति हुन सकेको छैन । पूर्वाञ्चल विश्वविद्यालयमा उपकुलपति बन्नका लागि १८ जनाले आवेदन दिएका छन । त्यसैगरी सुदूरपश्चिम र मध्यपश्चिम विश्वविद्यालयका लागि छनोट गर्न गठित समितिले आवेदन माग गरे पनि बिचमै स्थगित गरेको छ ।



