शिक्षकबिचको तह हटाएर सबै शिक्षक समान बनाउनु पर्छ : शिशिर खनाल

काठमाडौँ /१५ माघ-राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद तथा पूर्व शिक्षा मन्त्री शिशिर खनालले सबै शिक्षकलाई समान बनाउनुपर्ने बताएका छन् । अहिलेको व्यवस्थाले शिक्षकहरूलाई तहमा विभाजन गरेको भन्दै तहलाई हटाएर सबै शिक्षक समान बनाउनुपर्ने बताएका हुन् ।


काठमाडौँ विश्वविद्यालय स्कुल अफ एजुकेशनले आयोजना गरेको अन्तरक्रिया कार्यक्रममा बोल्दै शिशु कक्षामा पढाउने भएपनि प्राइमरीमा पढाउने भएपनि पनि शिक्षक नै भएकोले तह विभाजन गर्ने व्यवस्था हटाउनु पर्ने बताए । शिक्षामा स्नातक गरेको भए पुग्ने तर शिक्षक भित्र कक्षा र विषय अनुसार पढाउन सक्ने क्षमता भए पुग्ने उनको भनाई थियो ।


खनालले छलफलमा रहेको विधेयकमा समेत आफूले यसबारे संशोधन हालेको बताउँदै विश्वविद्यालयसँग सहकार्य गरेर १० वर्ष पछि लागु गर्ने गरी व्यवस्था गर्नुपर्ने बताए । उनले भने “शिक्षकमा एउटा व्यवस्था गर्न प्रस्ताव गरेको छु । यति पढे यो तहलाई पढाउनुपर्ने विधेयकमा आएको छ । मैले के भनेको छु भने तह छोडौँ, शिक्षक भनेको शिक्षक नै हो, चाहे त्यो शिशु कक्षा, प्राइमरी कक्षा वा मावि कक्षामा पढाउने भएपनि व्यच्लर्स इन एजुकेशन पढेको भए पुग्छ । तर, त्यो भित्र प्रोफेशनल तालिम चाहिन्छ । जस्तै त्यस भित्र मुख्य अर्ली चाइल्ड हुन सक्छ वा विषय अनुसार हुन सक्छ त्यसको दक्षता शिक्षकमा हुन आवश्यक छ ।”


त्यसैगरी मावि शिक्षक विद्यालयमा छिर्दा महत्वको हुने र प्राविका शिक्षक भनेको निमुखा कुनामा बस्ने र मिटिङ राख्दा पनि बोल्दै नबोल्ने जस्तो हुने गरेकोले सबै शिक्षक एउटै हुने व्यवस्था आवश्यक रहेको खनालले जोड् दिए ।