गणतन्त्र आएपछि पनि सामुदायिक विद्यालय उपेक्षित भए

काठमाडौँ /१० माघ – नेपालमा सामुदायिक (सरकारी) विद्यालयको सम्बन्धमा आजभोलि धेरै बहस हुने गरेका छन् । सामान्यतः सामुदायिक विद्यालय भन्नेबित्तिकै नकारात्मक चित्र आँखाअगाडि आउँछ । सामुदायिक विद्यालयको विषयमा चर्चा गर्दा नकारात्मक मात्र किन हुने भन्ने प्रश्न पनि खडा हुन्छ । आजकाल सामुदायिक विद्यालयले राम्रो गरेका तथ्य पनि छर्लङ्गै छन् ।


बुटवलको कालिका माध्यमिक विद्यालयमा ८ हजार विद्यार्थी छन् । यति विद्यार्थी कुनै निजी विद्यालयमा छैनन् । अरु पनि धेरै सामुदायिक विद्यालय भौतिक पूर्वाधार, विद्यार्थी संख्या, शिक्षकको क्षमता र परीक्षाको नतिजाको दृष्टिले निजी क्षेत्रबाट सञ्चालित संस्थागत विद्यालयभन्दा अब्बल छन् । जुन सत्य पनि हो तर यस्ता तीन–चार सय विद्यालयको तथ्याङ्क दिएर जिम्मेवार निकाय आत्मरतिमा रुमलिनु चाहिँ विडम्बना भएको छ ।


यथार्थ के हो भने विगत १५ वर्षमा करिब ९ हजार सामुदायिक विद्यालय बन्द भएका छन् । बाँकी २५औँ हजार सामुदायिक विद्यालयमा विद्यार्थी र अभिभावकको आकर्षण छैन । सरकारले विद्यालय चलाउन सकेन । वास्तवमा क्षमता पुगेन । देशमा गणतन्त्र आएपछि पनि सामुदायिक विद्यालय उपेक्षित भएका छन् । जुनसुकै राजनीतिक दलले सरकारको नेतृत्व वा शिक्षा मन्त्रालयको जिम्मेवारी लिए पनि गुणात्मक काम हुन सकेको छैन । विद्यालय क्षेत्र बिगार्नु र बिग्रिसकेपछि सुधार नगर्नु हिजोदेखि आजसम्मका सरकारको गम्भीर भूल साबित भएको छ । विडम्बना, शीरदेखि तीरसम्म राजनीतिक नेतृत्व, जनप्रतिनिधि र कर्मचारीतन्त्रका अधिकांश जिम्मेवार व्यक्तिहरुले संस्थागत विद्यालयबाट शिक्षा सेवा लिने गरेका छन् ।


कहाँबाट सुरु भयो बिगार्ने काम ?


परीक्षाफल उत्कृष्ट र पृष्ठभूमि अब्बल भएका विद्यार्थीलाई शिक्षण पेशामा आकर्षित गर्ने योजना कहिल्यै बनेन । परिणामस्वरुप औसत वा कमजोर क्षमता र पृष्ठभूमि भएका विद्यार्थीको मात्र शिक्षण पेशामा प्रवेश हुने नै भयो । शिक्षक उत्पादन गर्ने संकाय शिक्षा रोज्ने विद्यार्थी प्रायः विगतदेखि नै कमजोर सिकाइस्तर भएका हुनु र सबैलाई लाइसेन्स अनिवार्य गर्नु सुधारको नाममा प्रत्युत्पादक काम भयो ।


एकपछि अर्को कक्षा गर्दै माध्यमिक शिक्षा निःशुल्क बनाउने घोषणा गर्ने होडबाजी खासगरी २०४७ सालपछिका सरकारले गरिरहे । निःशुल्क भन्नेबित्तिकै अभिभावकले पैसा नतिर्ने सन्देश जाने नै भयो । विद्यालय सञ्चालन गर्न आवश्यक रकम सरकारले समेत व्यवस्थापन गरेन । परिणामस्वरुप खर्चको अभावमा पर्याप्त शिक्षक र अन्य आवश्यक व्यवस्थापन नहुँदा सामुदायिक विद्यालयको पहिचान पढाइ नहुने, फोहोर र उजाड हुँदै गयो ।


भौतिक पूर्वाधार निर्माणको प्राथमिकतामा विद्यालय परेनन् । एकाधमा ध्यान दिँदा समग्र छुटे । शौचालय, झ्यालढोका, घामपानी छेक्ने छाना जस्ता न्यूनतम पूर्वाधारबिनाका विद्यालयमा विद्यार्थी र अभिभावकले असहज महसुस गर्नु स्वभाविक थियो ।


अंग्रेजीको लहर संसारभरि चल्न थाल्दा नेपाल अछुतो रहेन । सामुदायिक विद्यालयले त्यस भावनालाई पक्रिन सकेन । तालुकदार निकायले त्यसलाई बेवास्ता गरिरहे । क्रमशः
लेखक रमेश गुरागाईँ सामुदायिक विद्यालय सुधारका अभियन्ता हुन् ।