काठमाडौँ /५ माघ – प्राज्ञिक विद्यार्थी परिषद् नेपालले नेपालको समग्र शिक्षा क्षेत्र सुधारका लागि माघ महिनाभर सञ्चालन गर्ने शैक्षिक सुधार अभियानका कार्यक्रमहरू घोषणा गरेको छ ।
बिहिवार त्रिभुवन विश्वविद्यालय उपकुलपति कार्यालय अगाडि पत्रकार सम्मेलनको आयोजना गरि देशको समग्र शिक्षा क्षेत्र सुधारका लागि राष्ट्रव्यापी शैक्षिक अभियानका कार्यक्रमहरू घोषणा गरेको हो ।
विद्यार्थी परिषद्का राष्ट्रिय महासचिव विष्णु प्रसाद पंगेनीले देशको समग्र शैक्षिक अवस्था विस्तारै खस्कदै गइरहेकोले विद्यार्थी परिषद्ले प्रवेश, परीक्षा, परिणाम, पात्रो र पाठ्यक्रम सुधार गर्नु पर्ने आवश्यकता भएकोले राष्ट्रव्यापी शैक्षिक अभियान सञ्चालन गर्नु पर्ने आवश्यकता रहेको बताए ।
आज विश्वविद्यालयहरूको उपकुलपति, रेक्टर, रजिस्ट्रार दलीय भागबन्डाबाट नियुक्ति हुने परिपाटीको अन्त्य गर्नु पर्ने, नैतिक शिक्षा लागु गर्नु पर्ने, ट्रास्कृप्ट लिने व्यवस्था अनिवार्य रूपमा अनलाइनबाट गरिनु पर्ने, नेपाली भाषामा पनि प्रश्न पत्र तयार गर्नु पर्ने, कक्षा १२ सम्म संविधानमा निर्दिष्ट गरिएको निःशुल्क शिक्षालाई छिटो भन्दा छिटो लागु गर्नु पर्ने जस्ता मागहरू राख्दै शैक्षिक अभियान सञ्चालन गर्न गइरहेको महासचिव पंगेनीले बताए ।
साथै राष्ट्रिय मिडिया प्रमुख कृष्ण हुमागाईँले त्रिविको मुल्याँकन पद्धति ठिक नभएको र स्नातक तहसम्म नेपाली भाषामा अध्ययन गरेका विद्यार्थीले भाषाकै कारण प्रश्नपत्र बुझन नसकेर फेल भएको विषय बताउँदै छिटो भन्दा छिटो दुवै भाषामा प्रश्नपत्र तयार गर्न माग गरेका थिए । साथै उनले उपकुलपति नियुक्तिका लागि दलको नेताहरूलाई भेटन बन्द गर्दै कसरी विश्वविद्यालय राम्रो र उत्कृष्ट बनाउन सकिन्छ भन्ने विषयमा ध्यान केन्द्रीत गर्न अनुरोध गरेका थिए ।
परिषद्का केन्द्रीय विश्वविद्यालय प्रमुख छितराज न्यौपानेले विश्वविद्यालयका पदाधिकारीहरूले दलको झोला बोक्ने अनि शिक्षा क्षेत्र बिग्रीयो भन्ने चिन्ता गर्ने त्यो नैतिकता कसरी हुन सक्छ रु भनि प्रश्न गरे, उनले देशको माटो महापुरुष, संस्कृतिको सम्मान गर्ने राजनीतिक दलबाट स्वतन्त्र रहेका प्राज्ञिक व्यक्तित्वले मात्रै विश्वविद्यालय लगायत समग्र शैक्षिक क्षेत्र सुधार गर्न सक्ने भएकोले त्यसमा केन्द्रीत हुनु पर्ने आवश्यकता रहेकोले बताए ।
मा।वि।सम्मको शिक्षकलाई योग्यताको प्रमाणपत्र अनिवार्य गरिएको छ भने स्नातक र स्नातकोत्तर तहमा प्राध्यापन गराउने प्राध्यापकहरूलाई त्यो व्यवस्था गर्न माग गरेका थिए, उनले प्राध्यापकको लागि पनि योग्यता परीक्षणको प्रणाली अनिवार्य गरिनुपर्ने कुरा उठाएका थिए ।
साथै उनले भातृ संगठनहरूले आज परिषद्ले स्थापना कालदेखि नै उठाएका मागहरूलाई उठाइ रहेको विषय बताउदै अब ढिला नगरी विश्वविद्यालय सुधार गर्न दलीय भागबन्डा अन्त्य गर्नु पर्ने बताएका थिए । पत्रकार सम्मेलनमा उनले बोल्दै हिजो बन्दुक बोकेर हत्या हिंसा गर्ने, अराजक शैलीबाट राजनीति गर्ने र आफैँ प्रधानमन्त्री हुँदा नैतिक शिक्षा हटाउने र आज संस्कारित व्यक्ति र नेतृत्व भएनन् नैतिकता शिक्षाको कमि भयो भनेर चिन्ता गर्न लाज लाग्दै भन्दै प्रधानमन्त्री प्रचण्डजीलाई प्रश्न गरेका थिए ।
राष्ट्रिय सचिव जानकी आचार्यले अभियानको विज्ञप्ति सार्वजनिक गर्दै अभियानमा माग गरिएका शैक्षिक मुद्दाहरूलाई आवश्यकताको आधारमा तुरुन्तै लागु गर्न माग गरेकी थिइन् ।
परिषद्ले अभियान पूर्व देशभर शैक्षिक सर्वेक्षण सम्पन्न गरिसकेको र माघ महिना भर देशभरका प्राज्ञिक वर्ग, विद्यार्थी, शिक्षक तथा समाजका विभिन्न निकाय समक्ष बृहत् भेटघाट तथा अन्तरक्रिया गर्ने, देशका प्रमुख क्याम्पसमा विचारगोष्ठी तथा अन्तरक्रिया सञ्चालन गर्ने, अभियानको क्रममा देशका प्रमुख स्थानमा शिक्षाका महत्वपूर्ण मुद्दालाई लिएर दबाब र्याली गर्ने प्राज्ञिक व्यक्तिहरूबाट सुझाव सङ्कलन गर्ने, मागपत्र प्रस्तुत गर्ने, देशका सबै जिल्ला मार्फत सम्बन्धित निकायलाई ज्ञापनपत्र प्रस्तुत गर्ने, देशभरबाट आएका सुझाव तथा विषयलाई समावेश गरेर काठमाडौँमा विशेष अन्तरक्रिया गर्ने । जस पश्चात् विश्वविद्यालय, शिक्षा मन्त्रालय, विश्वविद्यालय अनुदान आयोग आदि निकायमा सुधारका लागि सुझाव पेस गर्ने, त्यसबाट पनि मागहरू सुनुवाइ नभए विद्यार्थी दबाब आन्दोलन गर्ने, धर्ना, अनसन गर्ने जस्ता कार्यक्रमहरू घोषण गरेको छ ।



