शिक्षामन्त्रीको निर्देशन : डा. दाहालमाथिको निलम्बन तत्काल फिर्ता गर्नु

काठमाडौँ /२४ पुस – केएमसी अस्पतालका आवासीय चिकित्सक डा. विशद दाहालमाथिको निलम्बन तत्काल फिर्ता गर्न शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री अशोककुमार राईले निर्देशन दिएका छन् ।


मंगलबार अस्पताललाई एक पत्र पठाएर मन्त्री राईले डा.दाहालमाथिको निलम्बन फिर्ता गरी पठनपाठन सुरु गर्न निर्देशन दिएका हुन् ।


पत्रमा भनिएको छ, ‘काठमाडौं विश्वविद्यालयबाट हेल्थ क्याम्प र फिल्ड भिजिटसम्बन्धी कार्यविधि तर्जुमा भएपछि मात्र स्वास्थ्य शिविरमा विद्यार्थीहरूलाई खटाउने कार्य गर्नू, गराउनू हुन र निलम्बित विद्यार्थी डा. विशद दाहालको निलम्बन तत्काल फिर्ता गरी कलेजमा स्वस्थ शैक्षिक वातावरण तयार गर्न गराउन काठमाडौं विश्वविद्यालय ऐन, २०४८ को दफा १३ (क) को उपदफा ३ बमोजिम निर्देशन दिएको छु ।’


सोमबार मन्त्रालयले डा. दाहालमाथिको निलम्बन फिर्ता गर्न अस्पताललाई आज दिउँसोसम्मको समय दिएको थियो । तर, अस्पतालले कुनै जवाफ नदिएपछि मन्त्रालयले लिखित निर्देशन दिएको हो ।


मन्त्रीको निर्देशनपछि अहिले डा. दाहालसहितको आवासीय चिकित्सक र अस्पतालबीच छलफल चलिरहेको छ ।