काठमाडौँ /२३ पुस – शिक्षकहरूको पेसागत दक्षता अभिवृद्धिका लागि काठमाडौँ विश्वविद्यालय द्वारा नियमित रूपमा सञ्चालन गरिरहेको शिक्षक तालिमको दसौँ र एघारौँ सत्र सम्पन्न गरेको छ । पुस १९ र २० गते गोदावरी रेसिडेन्सियल स्कुलमा उक्त सत्र सम्पन्न गरेको हो ।
सत्र तालिम समस्या समाधान तथा खेलमा आधारित शिक्षण सिकाइमा आधारित रहेको थियो । कार्यक्रम अर्थपूर्ण, प्रभावकारी तथा प्रयोगात्मक ढङ्गले क्रमशः काठमाडौँ विश्वविद्यालयका प्रशिक्षक दिनकर नेपाल र सगुन ढुङ्गाना द्वारा सम्पन्न भएको थियो ।
समस्या समाधानमा आधारित सिकाइलाई अनुभवात्मक सिकाइसँग आबद्ध उपस्थित शिक्षकहरूलाई समस्या समाधान विधिका विभिन्न शैक्षणिक संयन्त्रहरूको बारेमा प्रशिक्षक दिनकर नेपालले जानकारी दिएका थिए । साथै समस्या कथनको प्रारूप निर्माण, विद्यार्थीका प्रतिविम्बलाई प्रभावकारी बनाउने माध्यम, समस्या समाधान अन्तर्गत अवधारणा, सन्दर्भ र रुजु सूची समावेश गरी बनाइएको सिकाइ ढाँचा, समस्या समाधान सिप, समालोचनात्मक सोचको विकास र समस्या समाधान सिकाइका विभिन्न चरणहरूको बारेमा वृहत् छलफल गरिएको थियो ।
त्यसैगरी विद्यार्थीहरूमा उत्सुकता, सुखद शैक्षिक वातावरण सिर्जना गर्न विद्यार्थीको संलग्नता र सक्रियता बढाउनेदेखि लिएर एक अन्तरक्रियात्मक सिकाइ वातावरणको लागि खेलमा आधारित सिकाइ आधुनिक युगको एक महत्वपूर्ण विधिको रूपमा रहेको तथ्यका बारेमा प्रशिक्षक सगुन भट्टराईले जानकारी गराए । खेलमा आधारित सिकाइको संरचना, खेलमा आधारित सिकाइका संयन्त्र अन्वेषण, जिज्ञासा, चुनौती र पुरस्कार जस्ता विषयमा जानकारी दिनुका साथै पाठ्यपुस्तकलाई प्रविधिसँग जोडेर खेलको माध्यमबाट शिक्षण गरिदा विद्यार्थीलाई थप स्वनिर्भर बनाउन सकिने तथ्यमा प्रकाश पारिएको थियो ।
पाठ्यवस्तुको प्रकृतिअनुसार खेलको प्रारूप बनाएर शिक्षण गर्दा थप प्रभावकारी हुने मान्यताका साथै खेलमा आधारित सिकाइसँग सम्बन्धित विभिन्न एप्सको बारेमा पनि जानकारी दिइयो ।
उपस्थित शिक्षकहरूले उपरोक्त दुवै सिकाइ अन्तर्गत दिएका शीर्षकमा प्रस्तुतीकरण दिएका थिए । शिक्षकको सहजीकरणमा विद्यार्थीहरूले स्वयम् सक्रिय रहेर अन्तरक्रियात्मक ढङ्गले वास्तविक संसारको अनुभूति दिलाउनु नै उक्त तालिमको औचित्य रहेको थियो ।



