नवलपुर/१७ पुस-देवचुली नगरपालिका वडा नम्बर १६ बेलस्वारास्थित सरस्वती आधारभूत विद्यालयका सबै विद्यार्थीलाई न्यानो कपडा प्रदान गरिएको छ । परिवर्तनका लागि युवा नेपालको संयोजनमा विभिन्न व्यक्तिहरूको सहयोगमा न्यानो कपडा प्रदान गरिएको हो ।
सोमवार न्यानो कपडा अन्तर्गत विद्यालयकै पोसाक ८० थान स्वीटर र टोपी एक प्रदान गरिएको न्यानो अभियानका अभियन्ता राजु चापागाईले बताए । चिसोका कारण कोही पनि बालबालिका विद्यालय छोडन नपरोस् भन्दै चिसोमा बालबालिकाहरूका लागि युवाको न्यानो अभियान सुरु गरेको उनले बताए ।
कार्यक्रममा प्रमुख अतिथि देवचुली नगरपालिकाका प्रमुख हरिप्रसाद न्यौपानेले देवचुली नगरपालिकाको विकट गाउँमा रहेको सरस्वती आधारभूत विद्यालयको शैक्षिक गुणस्तरदेखि भौतिक र पूर्वाधार विकासका लागि नगरपालिकाले निरन्तर सहयोग गर्ने बताए । युवाहरूले अभियानमार्फत बालबालिकाका लागि स्विटर टोपी वितरणले समुदायमा सकारात्मक सन्देश जाने बताउँदै शैक्षिक सुधारका लागि सरोकारवालाहरूको सहकार्य आवश्यक रहेको उनको भनाई छ ।
न्यानो कपडा वितरण कार्यक्रममा देवचुली नगरपालिकाका बालमैत्री परामर्शदाता खिमानन्द भुसालले युवाहरूको पहलमा भएको यस्तो कार्य र अभियानले शिक्षाका क्षेत्रमा महत्वपूर्ण भूमिका खेल्ने बताए । त्यसैगरी अभियन्ता दीपक शर्माले एक हप्ता अगाडि विद्यालयका बारेमा अध्ययन गरी वास्तविक रूपमै जाडोको समयमा आधारभूत तहका विद्यार्थीहरूमा एकनासको पोसाक नहुँदा विद्यालयमा उपस्थित हुन समेत अप्ठ्यारो परेको र जसका कारण पठन पाठनमा प्रभाव परेकाले सामाजिक सञ्जालमा अभियान थालेको बताए ।



