काठमाडौं विश्वविद्यालयले ‘एकेडेमिया ईन्डष्ट्रि मिट–२०२३’को आयोजना गर्दै

काठमाडौं/१२ पुस – काठमाण्डौ विश्वविद्यालयले ‘एकेडेमिया ईन्डष्ट्रि मिट–२०२३’ को आयोजना गर्ने भएको छ । विश्वविद्यालयको एकेडेमिया ईन्डष्ट्रि को–ओपरेशनले पहिलो ‘एकेडेमिया ईन्डष्ट्रि मिट–२०२३’ को आयोजना गर्ने भएको हो ।


सरकार, उद्योग र प्राज्ञिक संस्थाहरुलाई एकै छातामुनि आबद्ध गराएर देश विकासमा सहकार्य गर्ने उदेश्यका साथ सम्मेलनको आयोजना गरिएको विश्वविद्यालयले जनाएको छ । ‘एकेडेमिया ईन्डष्ट्रि मिट–२०२३’ पुस १३ गते शुक्रबार केयूको सिभि रमण हलमा हुनेछ ।


सम्मेलनमा शिक्षा, उद्योग र नीति निर्माणमा रहेका विद्यमान समस्याहरुको पहिचान गरी समाधान गर्ने, अनुसन्धान र उद्योगबीच सहकार्य बढाउँदै औद्योगिक विकासका लागि निजी क्षेत्रलाई प्रोत्साहन गर्ने र राज्यको नीतिलाई रोजगार मुखी र औद्योगिक मैत्री बनाउने विषयमा छलफल तथा अन्र्तक्रिया हुनेछ ।


उपकुलपति प्रा.डा.भोला थापाले पछिल्लो समय नेपालको उच्च शिक्षामा देखा परेको समस्या, विद्यार्थीहरुको बाहिरीदो क्रमलाई रोक्न र रोजगार सिर्जनाका लागि सम्मेलनले महत्वपूर्ण भूमिका खेल्ने बताए ।


सम्मेलनमा पूर्व प्रधानमन्त्री तथा अर्थशास्त्री डा.बाबुराम भण्ट्टाराई, पूर्व अर्थमन्त्रीहरु वर्षमान पुन र सुरेन्द्र पाण्डे, मुख्य सचिव डा. बैकुण्ठ अर्याल, उद्योग सचिव मुकुन्द प्रसाद निरौला, उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्र प्रसाद ढकाल, केयूका रजिष्ट्रार तथा अर्थशास्त्री प्रा.डा. अच्यूत प्रसाद वाग्लेले आ–आफ्नो क्षेत्रका बारे प्रस्तुति दिने छन् ।