शैक्षिक योग्यताको नक्कली प्रमाणपत्र पेस गर्ने विरुद्ध मुद्दा

काठमाडौँ /२४ मंसिर – शैक्षिक योग्यताको नक्कली प्रमाणपत्र पेस गर्ने अधिकृत विरुद्ध मुद्दा दायर गरिएको छ । राष्ट्रिय अनुसन्धान विभागका तत्कालीन अनुसन्धान अधिकृत माधव बस्नेत उपर शैक्षिक योग्यताको नक्कली प्रमाणपत्र पेस गरी लाभ लिए पछि मुद्दा दायर गरिएको हो ।


राज्यको सुरक्षा निकायहरूमा कार्यरत कर्मचारीहरूले सेवा प्रवेश र बढुवाका लागि नक्कली शैक्षिक प्रमाणपत्र पेश गरेकाले ती निकायहरूमा कार्यरत कर्मचारीहरूको शैक्षिक प्रमाणपत्र छानबिन गरी कारबाही हुन भन्ने उजुरीका आधारमा अनुसन्धान हुँदा बस्नेतले नक्कली शैक्षिक प्रमाण पत्र पेस गरेको पाइएको अख्तियार अनुसन्धान आयोगले जनाएको छ ।


अधिकृत बस्नेतले माध्यमिक शिक्षा परिषद् क्षेत्रीय कार्यालय, प्रयागराज, भारतबाट जारी भएको हाइस्कुल तहको नक्कली प्रमाणपत्र पेस गरी राष्ट्रिय अनुसन्धान विभागमा सहायक निरीक्षक पदमा नियुक्ति लिई बढुवासमेत भएको अनुसन्धानबाट खुलेको छ ।


भ्रष्टाचार निवारण ऐन २०५९ को दफा १६(१) बमोजिमको कसुर भएकोले निज माधव बस्नेतलाई सोही ऐनको दफा १६(१) बमोजिम कैद र जरिबाना हुन मागदावी लिई आज विशेष अदालत काठमाडौँमा आरोपपत्र दायर गरिएको छ ।