नवलपुर / ८ मंसिर – नवलपुरको हुप्सेकोट गाउँपालिकाका सबै माध्यमिक विद्यालयका विद्यार्थीलाई व्यावसायिक सीप सिकाउन थालिएको छ । विद्यालयमा पढ्दै कमाउँदै कार्यक्रम लागु गरी १२ वटा माध्यमिक विद्यालयमा फरक–फरक सीपमूलक तालिम सञ्चालन गरेको हो ।
पढ्दै कमाउँदै कार्यक्रम अन्तर्गत सिलाई कटाई, इलेक्ट्रिसियन, मोबाइल मर्मत, प्लम्बर, ब्यूटीसियन, कपाल काट्ने तालिम सञ्चालन गरिएको हुप्सेकोट गाउँपालिका शिक्षा अधिकृत माधवराज गौतमले बताए । “कक्षा १२ उत्तीर्ण गर्दा विद्यार्थीले केही न केही व्यावसायिक सीप सिकेर निस्किउन् भन्ने नीतिका साथ नयाँ कार्यक्रम लागू गरिएको हो” उनले भने ।
पढ्दै कमाउँदै कार्यक्रमले विद्यालयमा विद्यार्थी टिकाउ दर बढेको नेपाल शान्ति मावि हुप्सेकोट –३ बेलाहानीका प्रधानाध्यापक सूर्य भण्डारीले बताए । “हाम्रो विद्यालयका कक्षा ९ का ४० र कक्षा ११ का ३० विद्यार्थी प्लम्बिङ तालिममा सहभागी भएका छन” उनले भने, “यही तालिमले गर्दा बीचमा पढाइ छाड्ने सङ्ख्या यो वर्ष छैन ।” आर्थिक रूपले विपन्न समुदायका विद्यार्थीलाई यस्तो तालिमले धेरै सहयोग पुग्ने अपेक्षा गरिएको उनले बताए ।
यस्तै, विद्यालयमा सञ्चालन भएको पढ्दै कमाउँदै कार्यक्रम अन्तर्गतको सिलाइ कटाइ तालिममा सूर्यज्योति मावि कक्षा ९ मा अध्ययनरत ४३ विद्यार्थी सहभागी भइ पढाइसँगसँगै सीप पनि सिकीरहेका छन् । कक्षाका छात्र–छात्रा सबै जना सिलाई कटाई तालिममा सहभागी हुने गरेका छन् ।
क्याट्रिना तामाङले पनि विद्यालयमा नै दैनिक सिलाई कटाई तालिम लिन पाउँदा खुसी लागेको बताइन । उनले भनिन्, “विद्यालयमा पढाइ मात्र हुने गरेको थियो तर यो वर्षदेखि सिलाई कटाई तालिम पनि सुरु भएको छ, हामीलाई धेरै प्रभावकारी भइरहेको छ ।” आफूले सिकेको सीपबाट घरमा नै बसेर पनि आम्दानी गर्न सकिने भएकाले राम्रो भएको तामाङले बताइन ।
चालु आर्थिक वर्षमा गाउँपालिका भित्रका संस्थागत विद्यालयमा पनि पढ्दै कमाउँदै कार्यक्रम सञ्चालन गर्ने तयारी गरेको हुप्सेकोट गाउँपालिका अध्यक्ष लक्ष्मीदेवी पाण्डेले बताइन । हुप्सेकोट गाउँपालिकाले शिक्षामा मात्रै २० करोड नौ लाख ५४ हजार विनियोजन गरेको छ ।
विद्यार्थीलाई एक सय ८० घण्टे सीपमूलक तालिम र प्राविधिक तालिमकै लागि पालिकाले १२ विद्यालयलाई ६२ हजार पाँच सयका दरले सात लाख ५० हजार बजेट विनियोजन गरेको छ । यो वर्ष चार सय ५० विद्यार्थीले तालिम लिइरहेका छन् ।



