काठमाडौँ /९ मंसिर – आफ्ना छोराछोरीलाई लिएर अभिभावकको मुख्य एजेन्डा भनेको भविष्यमा गएर उनीहरू अरूसँग आश्रित नभई आत्मनिर्भरका साथ जीवनयापन गर्न सफल रहन्, कुलतमा नफसुन, बौद्धिक हिसाबले सम्मानित रहुन् , आफू र समाजलाई योगदान गर्न सकून् …जस्ता सोचहरू हुन्छन् । अर्थात्, बाल सशक्तीकरण नै अभिभावकको मुख्य एजेन्डा र जिम्मेवारी हो र हुनु पर्दछ । एक सफल जीवनयापन गर्नका लागि आफैँले आफ्नो बारेमा उचित निर्णय लिन सक्ने क्षमताको ध्येय सहित अभिभावकले बाल सशक्तीकरणका लागि मुख्य भूमिका खेल्नु पर्ने हुन्छ ।
खासगरी, पछिल्लो डेढ दुई दशकयता अभिभावकलाई आफ्ना छोरा–छोरीसँग व्यवहार गर्न बढी तनाव र गाह्रो भएको पाइन्छ । किन अभिभावकको तनाव र गाह्रोपन बढी भएको महसुस भएको होला ? अभिभावकत्व कसरी कम तनाबपूर्ण र बढी रमाइलो तथा आत्मसन्तुष्टि पूर्ण हुन सक्छ ? यस लेखको ध्येय र मुख्य एजेन्डा यिनै प्रश्नका उत्तर खोजी अभिभावकले आफ्ना छोराछोरीको बाल सशक्तीकरणका लागि प्रभावकारी तरीकाले व्यवहार गर्ने तरीकाहरूबारे जानकारी दिनु हो ।
त्यसो भए, नयाँ पुस्तालाई चिनौं
एक–दुई दशक अगाडीका बालबालिका र किशोर किशोरीका तुलनमा अहिलेका बालबालिकाहरू बढी विद्रोह गर्ने, अरूको वास्ता कम गर्ने, आफूले चाहेको कुरा प्राप्त गर्न अलिक हठी स्वभाव देखाउने प्रवृत्ति पाइन्छ । शायद पश्चिममा प्रभाव बढेर होला मेरो जिन्दगी मेरो इच्छा, ‘मेरो कुरामा हस्तक्षेप नगर्नु, ’भन्ने खालका वाक्यांश प्रयोग गर्ने, ‘मलाई एक्लै छोड्दिनु, जबरजस्ती नगर्नु’ भन्ने जस्ता पारिवारिक भन्दा आत्मकेन्द्रित बढी भएको पाइन्छ ।
यो अवस्था आउनुमा ग्याजेट, सोसल मिडियामा अधिकाशँ व्यक्ति तथा बालबालिकाहरू बढी समय बिताएकाले पनि हो । फोन, सामाजिक सन्जाल एक लतको रूपमा विकसित भइरहेको पाइन्छ । अहिलेको नयाँ पुस्ता इन्स्टाग्राम, स्न्यापच्याट, अनलाइन गेम आदिमा व्यस्त भई समय वितेको पत्तो नहुने, लाइक र कमेन्टका आधारमा खुसी या दुखी हुने, मनका कुरा व्यक्तिसँग प्रत्यक्ष व्यक्त गर्ने भन्दा पनि सामाजिक सञ्जालमा पोख्ने जस्ता गतिविधिमा अहिलेको के नयाँ पुस्ता, के अभिभावक सबै लागि परेको पाइन्छ ।
शायद यिनै कारणहरूले लगभग ७० प्रतिशत भन्दा बढी बालबालिका तथा किशोर किशोरीको पढाइ या अन्य कुनै लगाव राखी सिक्नु पर्ने कुरामा ध्यान दिने क्षमता घटदै गएको पाइन्छ । संयमता, पालो कुर्ने ध्यान पूर्वक सुन्ने, अरूलाई सम्मान गर्ने जस्ता कुराहरू घटदै गएको पाइन्छ । साथै, पहिलेको तुलनामा साथी–साथी बिच र आफन्तबिच एक अर्कामा गरिने विश्वासमा पनि ह्रास आएको र असमझदारी बढ्दै गएको पाइन्छ । अरूले मलाई के सोचे होला, मलाई किन बुझ्दैनन्, म किन सबैको प्यारो हुन सकिन, फलानोले मलाई मन पराएन, वास्ता गरेन…आदि जस्ता सोचले किशोर किशोरीहरू बढी तनावमा हुने गरेको पाइन्छ ।
भौतिक पदार्थहरूले हामी र हाम्रा सन्ततिहरू बढी सुखसयलमा रहेता पनि मानसिक तथा मनोसामाजिक हिसाबले समग्र मानवजाति नै बढी तनाबमा रहेको पाइन्छ । यतिमात्र नभई इतिहास मै सबैभन्दा बढी सङ्ख्यामा बालबालिकाहरूमा एडिएचडी, एन्जाइटी, अटीजम, डिप्रेसन जस्ता मानसिक विविधताहरू बढदै गएको पाइन्छ । आत्महत्याका प्रयास र आत्महत्याका घटनाहरू १८ वर्ष मुनिका किशोर किशोरीमा पनि बढेको तथ्याङ्कले देखाउँछ ।
यी तथ्यहरू आगामी पुस्तालाई लिएर हतोत्साही हुने किसिमको देखिन्छ । नयाँ पुस्ताका आसलाग्दा पक्षहरूको पनि कमी छैन । तर्क गर्ने क्षमता, सिर्जनशीलता, प्रस्तुतीकरण आदि स्वभावहरू सबलपक्ष हुन् । सकारात्मक आशा राख्ने ठाउँ पनि छन् । त्यसैले, हामीले नयाँपुस्ताका विशाल सम्भावनालाई उजागर गर्नका लागि उनीहरूलाई अझ राम्रोसँग चिनी भावनात्मक तथा सामाजिक तबरले सम्बोधन गर्नुपर्ने हुन्छ ।
अभिभावकले गर्नु भएका मुख्य तिन गल्ती
आफ्नो छोराछोरीको अधिकतम स्याहार सुसार गरी उचित शिक्षादीक्षा दिन पछि नपर्ने अहिलेका अभिभावकबाट बाल सशक्तीकरणलाई हानी हुने कार्यहरू पनि प्रशस्तै भएको पाइन्छ । यी मध्ये मुख्य तिन सम्भावित गल्ती यस प्रकारका छन् :
क) बालबालिकालाई पुलपुलाउने र कडाइ गर्ने बिचको असन्तुलन
छोराछोरी कहिलेकाहीँ भोको हुने, उनीहरूलाई चोट लाग्ने या उनीहरू बिरामी पर्ने हुन सक्छ । उक्त अवस्थामा छोराछोरीको बढी माया लाग्नु स्वभाविक नै हो । र, यी तिनै अवस्थाको अनुभव बालबालिकाले गर्नु पर्ने नै हो । तर, पुलपुलिने गरेर छोराछोरीको सेवामा समर्पित हुँदा उनीहरू आफ्नो समस्या आफैले हल गर्ने र दुःख पर्दा संयमित हुने क्षमताको विकाश नै नहुन सक्छ । त्यसैले, उनीहरूको उमेर र परिस्थिति अनुसार उनीहरूलाई दुःखबोध गर्न, आफ्नो आवश्यकता प्रति आफैँ जिम्मेवार बन्नका लागि आफ्नो समस्याको समाधान आफैले गर्न प्रोत्साहन पनि गर्नु पर्दछ ।
अर्कोतर्फ, केही अभिभावकहरू छोराछोरीलाई असल व्यवहार सिकाउने नाममा असाध्यै बढी कडाई गर्ने, किचकिच गरी रहने, सजाय दिने काम पनि प्रशस्तै गर्नुभएको पाइन्छ । यस्ता व्यवहारले छोराछोरीको तनाव बढने र उत्प्रेरणा घट्ने गरेको पनि पाइन्छ । साथै, पढ्न, होमवर्क गर्न दबाब दिइ राख्नाले पनि छोराछोरीमा तनाव बृद्धि भई पछि गएर पढाइ प्रतिको झुकाव कम भएको हामीले विद्यालयमा देखेका छौँ ।
सन्तुलनलाई ख्याल गरी छोराछोरीसँग बाबुआमाले सहमति र सहकार्यको वातावरण सिर्जना गर्न सके पारस्परिक सम्बन्ध पनि राम्रो हुने र असल आचरण पनि विकाश हँँदै जाने हुन्छ । ठुलो स्वरले कराउने, गाली गर्ने, डर त्रास देखाउने किसिमका व्यवहारले क्षणिक रूपमा छोराछोरीले काम गरेको हुन सक्छ । तर, पुलपुलाउने र कडाई गर्नेको बिचमा रहेर छोराछोरीको व्यवहारलाई शान्त पूर्वक सशक्तीकरण गर्दै अघि बढ्नु उचित हुन्छ ।
ख) गुणस्तरीय समय दिन असक्षम
आधुनिक समाजमा आफ्नो र आफ्नाको लागि समय निकाल्नु चुनौती बन्न थालेको छ । परिवार एकै साथ बसी प्रशस्त समय सँगै बिताउन समय नै तगारो बनेको छ । अत्यन्तै जरुरी तथ्य यो छ कि एक स्वस्थ मस्तिष्क र सर्वाङ्गीण स्वास्थ्य प्राप्तिका लागी पोषणयुक्त आहार र शारीरिक आरामको साथसाथै पारस्परिक मेलमिलापसहित सक्रिय सामाजिक जीवनको पनि उत्तिकै महत्व रहन्छ । परिवारका अन्य सदस्यसँग आमने सामने रहेर बातचित गर्नु सक्रिय समाजीकीकरणको लागि न्यूनतम कुरा हो । विद्यालय, सामाजिक सञ्जालमा उनीहरूको कुराकानी गर्ने भएता पनि एक बालबालिकाको सामाजिक आवश्यकता र विश्वसनीय सम्बन्धको स्थापना गर्ने मुख्य थलो परिवार नै हो, र परिवार नै हुनु पर्दछ ।
आमा बुवाले दैनिक रूपमा छोराछोरीसँग बातचित गर्नु नै उनीहरूको सामाजिक आवश्यकता, सामाजिक सीप र केही हदसम्म मस्तिष्क सबलीकरण गर्नु हो । परिवार कतै रेस्टुरेन्ट वा बाहिर घुम्न जाने तर आफ्नो आफ्नो मोबाइलमै मस्त रही एक अर्काबिच कुराकानी खासै नगर्ने अहिलेको चलन जस्तो भएको छ । यस चलनले बालबालिकामा नकारात्मक असर परि रहेको छ । बरु घुम्नै नगएर पनि एक अर्काका कुरा साटासाट गर्ने, चेस या कुनै खेल साथमा खेल्ने, सँगै घर सफाइ या खाना पकाउने काम गर्ने, लुगा धुने, लुगा सुकाउने, सँगै छलफल गर्दै सरसामान किनमेल गर्ने आदि परिवारले गुणस्तरीय समय बिताउने केही सामान्य तरीकाहरू हुन् ।
यसरी सँगै काम गर्ने, एक अर्काको कुरा सुन्ने, पालो कुर्ने नियमित चलन कुनै परिवारमा भई रहेको खण्डमा विश्वासको वातावरण मजबुत भएर जान्छ । खुसीपन बढेर जान्छ । परिवार शान्त र रमाइलो बन्छ । फलस्वरूप एक अर्कालाई सहयोग गर्ने, एक अर्काका कुरा बुझ्ने, आफ्नो जिम्मेवारी राम्ररी वहन गर्ने जस्ता सकारात्मक बानीको विकास हुँदै जाने हुन्छ ।
ग) आफ्नो आत्म अनुशासनमा कमजोरी
हामी हाम्रा छोराछोरीबाट के चाहन्छौँ ? माथि मुख्य एजेन्डामा पनि भनिए जस्तै अल्छी नगरी सक्रिय तरीकाले आफ्नो पठन पाठन र अन्य कार्यहरू जिम्मेवारी पूर्वक पुरा गरुन भन्ने हामीले चाहेका हुन्छौँ । बिहान समयमा उठ्ने, फोन नचलाउने, पर्याप्त पानी पिउने, व्यायाम गर्ने, स्वस्थ खाजा–खाना खाने, दिनभरी आफ्नो कार्य पूरा गर्ने, सकारात्मक सोच राख्ने, आत्मबल उच्च राख्ने, आफू स्वयँको र अरूको सम्मान गर्ने, परिवारसँग समय बिताउने, निरन्तर केही नयाँ सिकी रहने, किताब पढ्ने, समयमा नै सुत्ने आदि केही सकारात्मक बानीहरू हुन् । यी बानीहरू हामी हाम्रो बालबालिकामा चाहन्छौँ । तर, एक पटक र पटक पटक हामी आफैँलाई हेरौँ । हाम्रा बानीहरू कस्ता छन् ।
हामीले हाम्रा छोराछोरीबाट चाहेका बानीहरू आफैँले नियमित रूपमा प्रयोग गरेको हुनु पर्दछ । आवश्यक पर्दामात्र फोन चलाउने, पढ्ने, सिक्ने, व्यायाम गर्ने, शान्त र सिर्जनशील रहने आदि बानीहरू हामीले नियमित रूपमा देखाउनु पर्ने हुन्छ । एक मस्तिष्कले अर्को व्यक्तिको दैनिक व्यवहार हेरेरै पनि धेरै बानीहरू सिक्दै अनुसरण गरी रहेको हुन्छ । त्यसकारण अभिभावकले छोराछोरीलाई के गर्ने र के नगर्ने भनेर भनीरहनुको सट्टा आफू नै उदाहरण बन्न सक्नु सदा सर्वदा प्रभावकारी रहन्छ ।
मानसिक तनावका वास्तविकता
आधुनिक समाजमा हामी अधिकांशको खाने– लगाउने जस्ता आधारभूत आवश्यकताहरू पूरा गर्न सहज भएता पनि मानसिक र मनोसामाजिक दृष्टिकोणले हामी तनाब ग्रस्त बनेका छौँ । अरूको नजरमा आफू राम्रो बन्नुपर्ने, आफ्नो सफलता अरूलाई देखाउनु पर्ने आदि प्रचलन बढेको छ । साथै आर्थिक हिसाबले र परिवारमा सामञ्जस्ययताको हिसाबले कतिपय परिवारहरूमा तनाब बढेको पाइन्छ । शँका, दुस्मनी, विश्वसनीयता, रिस, राग, नैराश्ययता, इष्र्या, झै झगडा भित्रभित्रै बढेको पाइन्छ । तनाबग्रस्त तथा मेलमिलाप विहीन परिवार र अत्यधिक सामाजिक सञ्जालको प्रयोगको कारण मानसिक तनाब बढेको पाइन्छ । अस्वास्थ्यकर जंकफूड, व्यस्त जीवन शैली, घट्दो शारीरिक सक्रियताले पनि मानसिक तनाब बढेको पाइन्छ ।
मानसिक तनाव र समस्या आजको सच्चाइ हो । यसले विकराल रूप लिने सम्भावना देखिन्छ । हाम्रा छोराछोरीहरू मानसिक तनाव र समस्याका शिकारमा पर्न नदिन हामीले हाम्रो सोच, जीवनशैली र बानीलाई परिवारबाटै सकारात्मकता तिर लाने, विद्यालयको प्राथमिकतामा मानसिक स्वास्थ्य पनि पार्ने, र विद्यालय–परिवार मिलेर यस वास्तविकतालाई सम्बोधन गर्न जरुरी देखिन्छ ।
अन्तमा
यस लेखको मुख्य एजेन्डा बाल सशक्तीकरण भनेर सुरु गरिएको हो । आफ्ना छोराछोरीले हिँड्ने हरेक बाटाहरू मखमली फूलले बिछाएर नरम बनाईदिन खोज्नुको साटो उनीहरूलाई हरेक किसिमका बाटोहरूमा आफैँ आत्मनिर्भर भई हिँड्न सक्ने बनाउन कोसिस गर्नु बाल सशक्तीकरणको ध्येय हो । माया गर्नु भनेको चिन्नु हो । माया गर्नु भनेको छोराछोरीको कमजोरी र क्षमतालाई स्विकार्नु हो । माया गर्नु भनेको पुलपुलाउनु नभएर जिम्मेवारी सिकाउनु हो । जिम्मेवारी सिकाउनको लागि अभिभावकको भन्दा बढी भूमिका अरू कसैको हुँदैन ।
आउँ हामी अभिभावकहरू आफू आत्म अनुशासित बनौँ । छोराछोरी हुर्काउन सजिलो छ, रमाइलो छ । छोराछोरी हुर्काउने चुनौतीका बारेमा छलफल गरौँ । किनकि आगामी पुस्ता पिँढीलाई सकारात्मकता सिकाउने हामीसँग विशाल सम्भावना छ, सिकाउनै पर्छ ।
लेखक कुमार थापा अभिभावक सहजीकरणका प्रमाणिक सहजकर्ता हुनुहुन्छ । विगत २८ वर्षदेखि शिक्षाकर्मी उहाँ, बृहस्पति विद्या सदन मालीगाउँ काठमाडौँका प्रधानाध्यापक हुनुहुन्छ । [email protected]



