काठमाडौँ /७ मंसिर – शैक्षिक योग्यताको झुट्टा प्रमाणपत्र पेश गरी सुविधा लिने शिक्षक विरुद्ध मुद्दा दायर गरिएको छ । अख्तियार अनुसन्धान आयोगले झुट्टा प्रमाणपत्र पेश गर्ने शिक्षक डिलमाया कुमारी कडेल उपर मुद्दा दायर गरेको हो ।
रुपन्देही जिल्लाको गैडहवा गाउँपालिका वडा नं. ४ स्थित मुक्तिधाम आधारभूत विद्यालयका प्रा.वि. राहत शिक्षक डिलमाया कुमारी कडेल उपर शैक्षिक योग्यताको झुट्टा प्रमाणपत्र प्रयोग गरेको आरोपमा मुद्दा दाउर गरेको आयोगले जनाएको छ ।
कडेलको शैक्षिक योग्यताको प्रमाणपत्र नक्कली भएको र नक्कली प्रमाणपत्रको आधारमा शिक्षक पदमा नियुक्त भएकोले आवश्यक कारबाहीका लागि उजुरी परेपछि अनुसन्धान हुँदा झुट्टा शैक्षिक योग्यताको प्रमाणपत्र पेश गरी प्रा.वि. राहत शिक्षक पदमा कार्यरत रही लाभ लिएको पाइएको छ ।
मुक्तिधाम आधारभूत विद्यालयका प्रा.वि. राहत शिक्षक डिलमाया कुमारी कडेलले साबिक श्री मुक्तिधाम प्राथमिक विद्यालय, मिनमिनवा–९, विष्णुपुरा, रुपन्देहीमा प्रा.वि. राहत कोटको शिक्षक दरबन्दीमा नियुक्ति हुनका लागि माध्यमिक शिक्षा परिषद्, उत्तर प्रदेश, भारतबाट जारी भएको हाई स्कूल परीक्षा तहको झुट्टा शैक्षिक योग्यताको प्रमाणपत्र पेश गरी प्रा.वि. राहत शिक्षक पदमा कार्यरत रही लाभ लिई भ्रष्टाचार गरेको आयोगले जनाएको छ ।
साथै निजलाई भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा १६ को उपदफा (१) बमोजिमको कसुरमा ऐ. ऐनको दफा १६ को उपदफा (१) वमोजिमको सजाय हुन मागदावी लिई आज बिशेष अदालत काठमाडौंमा आरोपपत्र दायर गरिएको छ ।



