काठमाडौँ /१९ कार्तिक – नेपाल शिक्षक संघले जाजरकोटमा गएको शक्तिशाली भूकम्पबाट घाइते भई उपचाररत शिक्षक, विद्यार्थी र अभिभावकलाई सहयोग गरेको छ । भूकम्प पीडित शिक्षक, विद्यार्थी र अभिभावकहरूको राहतका लागि संघको नेतृत्वमा सहयोग गरेको हो ।
संघले भेरी अस्पताल नेपालगन्जमा उपचाररत शिक्षक, विद्यार्थी र अभिभावक र कुरुवाहरूलाई खानाको व्यवस्था र बस्नका लागि सहयोग गरेको छ । महासचिव ज्ञानेन्द्र रावलले भूकम्पबाट घाइते भई उपचाररत रहेका रुकुम र जाजरकोटका शिक्षक, विद्यार्थी र अभिभावकसँग भेटगरी सहयोग गरिएको बताए ।
साथै वरिष्ठ उपाध्यक्ष इलम बहादुर शाहीको नेतृत्वमा जाजरकोट र रुकुम जिल्लामा स्थलगत अवलोकन गरी विद्यालय, शिक्षक, विद्यार्थी र अभिभावकहरूको अवस्था हेरेर सहयोग गरिने र त्यसका लागि शिक्षकहरूलाई खटाएको बताए ।
त्यसैगरी भूकम्प पीडित व्यक्तिहरूको राहतका लागि नेपाल शिक्षक सङ्घले प्रधानमन्त्री राहत कोषमा एक लाख जम्मा गर्ने निर्णय गरेको छ । प्रभावित विद्यार्थीका लागि शैक्षिक सामग्री तथा विद्यालय पोसाक सहयोग उपलब्ध गराउने र आवश्यकता अनुसार मनोसामाजिक परामर्शका कार्यक्रम सञ्चालन गर्ने रावलले बताए ।



