नेपालको सार्वजनिक शिक्षा, विकृति, चुनौती र समाधान

नवलपरासी / १७ कार्तिक – २०४६ सालको ऐतिहासिक जन आन्दोलनले देशमा प्रजातान्त्रिक शासन व्यवस्थाको प्रत्याभूत गरे पश्चात् नेपाली जनताले आशा गरेको तिनवटा क्षेत्र मध्येको प्रमुख क्षेत्र थियो, शिक्षा ।


देशमा गणतन्त्रको स्थापना भएर सङ्घीय लोकतान्त्रिक गणतन्त्रमा रूपान्तरण भई २०७२ सालमा संविधान जारी भयो । संविधानले सबै प्रकारका कानूनहरू संविधान बनेको तीन वर्षभित्र बनी सक्नु पर्ने व्यवस्था गरेकोमा २०८० श्रावण सम्म आइपुग्दा पनि २०२८ को शिक्षा ऐन र २०५९ कै शिक्षा नियमावलीले शिक्षालाई निर्देशित गरि रह्यो।संविधानले आधारभूत र माध्यमिक शिक्षा भनी १–८ र ९–१२ लाई निर्धारण गर्यो तर सङ्घीय शिक्षा ऐन नबन्दा उक्त व्यवस्था लागु गर्न कठिन भयो । संविधानको भाग ३ को धारा ३१ ले आधारभूत तहको शिक्षा निःशुल्क तथा अनिवार्य र माध्यमिक तह निःशुल्क भनी स्पष्ट व्यवस्था गरेको छ । तर सार्वजनिक शिक्षा कतै निःशुल्क भएन । यो वा त्यो बहानामा विद्यार्थी र अभिभावकसँग निजिकै हाराहारीमा शुल्क लिइएको छ । १७ थरी शिक्षकहरू आ–आफ्नै वेदनामा पिल्सिएका छन् । सामुदायिक विद्यालयको ९–१२ तहमा करिब ५७ हजार शिक्षक दरबन्दी अपुग भएको प्रतिवेदन सार्वजनिक गरीयो । तर दरबन्दी वितरण गरिएन।शिक्षा राज्यको प्राथमिकतामा कहिल्यै परेन संविधान बनेको ८ वर्ष सम्म ८ वटा शिक्षा मन्त्री बने तर सङ्घीय शिक्षा ऐन कसैको प्राथमिकतामा परेन ।


शिक्षक संघ, संगठन, महासङ्घ नामका दलका शुभेच्छुक संस्थाहरूले दलको भातृसंस्थाको रूपमा काम गरेको, पेसागत बन्न नसकेको भन्ने वास्तविक गुनासोहरूलाई राज्यले सम्बोधन गर्न सकेन । शिक्षकहरूको नियुक्ति, सरुवा र बढुवामा मनपरी गर्न थालियो । स्थानीय तहमा प्रत्यायोजन गरिएको शिक्षा सम्बन्धी २३ वटा अधिकारलाई स्थानीय तहहरूले शिक्षक नियुक्ति र सरुवाको मात्रै अधिकार ठानेर विभिन्न पालिकाहरूले अन्धाधुन्ध शिक्षक सरुवा गरे । अदालतमा मुद्धा, मामिला भए । शिक्षकहरू स्थानीय जनप्रतिनिधिका सिकार भए । सामुदायिक शिक्षालाई ध्वस्त पार्न राज्य नै लागि परेको आभास हुन थाल्यो ।


चिकित्सा शिक्षा वा साधारण शिक्षामा माफियाहरूको दबदबा रह्यो । भएका विश्वविद्यालयलाई सुधार गर्नुको साटो आफ्ना राजनीतिक कार्यकर्ताहरूलाई जागीर खुवाउन अनावश्यक रूपमा च्याउ झैँ विश्वविद्यालय स्थापना गरीयो जसले देशको उच्च शिक्षालाई तहसनहस पार्यो।कक्षा १२ पछि दिनहुँ १५००–२००० को सङ्ख्यामा नेपाली युवाहरू विदेश पलायन हुने क्रम जारी छ । उच्च शिक्षा अध्ययनका नाममा दिनहुँ कम्तीमा ५०० विद्यार्थीहरूले लाखौँ रुपैयाँ खर्च गरेर एनओसी लिन थाले र विदेश जाँदै छन् । देशको युवा शक्ति र विद्यार्थी अबको केही वर्षमा रित्तिने निश्चित छ । सरकार र सरोकारवाला निकायहरू बेखबर जस्तै छन् ।


विद्यालय शिक्षा राजनीतिक हस्तक्षेपको शिकार भएको छ । बालविकास,राहत, करार, साविक उच्च मावि, स्थायी, अनुदान, विशेष आदि शिक्षकहरूका समस्याहरूलाई राज्यले सम्बोधन गर्न सकेन । त्यसैगरी विद्यालय कर्मचारीहरूको स्थायित्व समेतको कुनै व्यवस्था भएन । २०७८ को बजेटले सामुदायिक शिक्षकहरूलाई विभेद गरेको भनी सर्वोच्च अदालतमा मुद्धा पर्यो । स्थायी शिक्षकहरूका सेवा सुविधाहरू निजामती सरह हुनु पर्छ भनी शिक्षकका पेसागत भनिएका संगठनहरुले सरकारको ध्यानाकर्षण गराए तर बजेटले शिक्षकहरूको ग्रेड वृद्धिलाई ६ ग्रेड र ८ ग्रेड पश्चात् ग्रेड स्थगित गरायो र २०६०/ ६३ मा नियुक्त स्थायी शिक्षक र २०७०/७१ मा नियुक्त स्थायी शिक्षकको तलब भत्ता बराबर हुन पुग्यो । यो कुनै दृष्टिले पनि उपयुक्त होइन । ग्रेड स्थगित गरे पछि या त तह या त श्रेणी बढुवा गर्नु पर्छ ।


सरकारले १७ थरी शिक्षक तथा कर्मचारीहरूलाई एकै थरी वा स्थायी गर्नु पर्छ । खुला प्रतिस्पर्धाको आधारमा शिक्षकहरू र कर्मचारीहरूलाई स्थायी गर्नु पर्छ । अस्थायी, राहत, करार, उमाविका शिक्षकहरूलाई उमेरको हद नलगाई आयोगमा खुला प्रतिस्पर्धा गर्न पाउने व्यवस्था सहित ऐन जारी गर्नु पर्छ ।


सरकारले २०८० श्रावण १६ गते मन्त्री परिषद्बाट निर्णय गरी सङ्घीय संसदमा पेस गर्ने गरी सङ्घीय शिक्षा ऐनको मस्यांैदा तयार गरेको छ । सरोकारवाला शिक्षकहरूले त्यसमा असन्तुष्टि जनाएका छन् । शिक्षकहरूका पेसागत नेतृत्वसँग छलफल नै नगरी जारी गरिने ऐनमा सबै शिक्षकहरूको अपनत्व हुन जरुरी छ । शिक्षालाई प्रदेश र स्थानीय तहमा सुम्पेर राज्य शिक्षाबाट पन्छिन खोज्दै छ, जुन कुनै हालतमा उपयुक्त होइन । शिक्षा संघ, प्रदेश र स्थानीय तहको साझा सुचीमा रहनु पर्छ । शिक्षालाई स्थानीय तहमा जिम्मा लगाइँदा चरम राजनीतिक हस्तक्षेप हुने निश्चित छ । सामुदायिक शिक्षा तुरुन्तै ध्वस्त हुने छ । पेसागत भनिएका दलका शुभेच्छुक संस्थाहरूलाई खारेज गरी स्वतन्त्र शिक्षकहरूले समेत नेतृत्व गर्न सक्ने महासङ्घको व्यवस्था सङ्घीय ऐनमा गरिनु पर्नेमा शिक्षकहरूलाई दलको पुच्छर बन्न बाध्य पारिदै छ ।


विसौं वर्ष स्थायी सेवा गरेका शिक्षकहरूलाई आवधिक बढुवा गर्ने व्यवस्था शिक्षा ऐनले गर्न सकेन । शिक्षकहरूलाई हतोत्साहित गरेर सामुदायिक शिक्षा गुणस्तरीय बन्दैन । विश्वविद्यालयमा आफ्ना कार्यकर्ता भर्ती गरेर आन्तरिक स्थायी गर्ने निर्णय आफैमा स्वार्थी निर्णय हो । योग्य जनशक्तिलाई किनारा लगाएर आन्तरिक स्थायी गरिँदा युवा शक्ति निराश बनेका छन् । उनिहरू पलायन हुने निश्चित छ । शिक्षा क्षेत्रको बेथितिको बारेमा शैक्षिक सरोकारवालाहरूको ध्यान गएको देखिदैन । सार्वजनिक शिक्षा महँगो भयो । विभिन्न बहनामा संविधान विपरीत चर्को शुल्क असुलेर विद्यालयहरूले विद्यार्थी र अभिभावकको ढाड सेकेका छन् । अनाधिकृत रूपमा सन्दर्भ सामाग्रीहरूको प्रयोग गराएर किताबमा पनि कमिसनको खेल भएको छ । कक्षा १२ सम्म शिक्षालाई व्यापारीकरण गरी कक्षा १२ पछि विद्यार्थीहरूको खोजी गरिएको छैन।च्याउ झै क्याम्पसहरूलाई अनुमति प्रदान गरिएको छ । विद्यार्थी पलायन भएकोमा कसैलाई चिन्ता छैन ।


सङ्घीय शिक्षा ऐनले निम्न कुराहरूमा ध्यान दिन जरुरी छ :


१, शिक्षा पूर्ण रूपमा राज्य नियन्त्रित र निःशुल्क हुनु पर्छ ।

२. शैक्षिक संस्थाहरू सार्वजनिक र गुठी मात्रै हुनु पर्छ ।

३. शिक्षकहरूको मर्यादा र सेवा सुविधा सबै भन्दा उच्च हुनु पर्छ ।

४. पेसागत संगठनहरू खारेज गरिनु पर्छ ।

५. शिक्षकहरूलाई राजनीतिक दलको कार्यसमितिमा रहन बन्देज गरि त्यस्तो गरेमा सेवाबाट बर्खास्त गरीनु पर्छ ।

६. प्रधानाध्यापकको नियुक्ति योग्यता र वरिष्ठताको आधारमा खुला प्रतिस्पर्धाका आधारमा तहगत रूपमा गरिनु पर्छ ।

७. शिक्षक सरुवालाई मापदण्डका आधारमा ऐनमै व्यवस्था गरि गर्नु पर्छ ।

८. शिक्षालाई संघ, प्रदेश र स्थानीय तहको साझा सूचिमा राख्नु पर्दछ ।

९. शिक्षक सेवा आयोगलाई संवैधानिक आयोग बनाई सबै प्रकारका शिक्षक र विद्यालय कर्मचारीहरूको स्थायी नियुक्तिको सिफारिस आयोगद्वारा लिइने परीक्षामा सफल हुनेहरूलाई गरिनु पर्दछ ।

१०. शिक्षकहरूको नियुक्ति साधारण आधारभूत अर्थात् प्राथमिक तहबाट गरि आन्तरिक प्रतिस्पर्धाका आधारमा निमावि तथा मावि तहमा गरिनु पर्दछ ।

११. शिक्षक बढुवालाई जिल्लागत होइन राष्ट्रिय रूपमा शत प्रतिशत आन्तरिक खुला र हरेक १० वर्षमा आवधिक बढुवा गरिनु पर्छ । बर्तमान बढुवा व्यवस्था खारेज योग्य छ ।

१२. जिशिअ लगायत शैक्षिक कर्मचारीहरू शिक्षकहरूबाट नियुक्ति गर्ने व्यवस्था ऐनमा गरिनु पर्दछ ।

१३. शिक्षकहरूलाई काम र उपलब्धिको आधारमा पुरस्कृत र दण्ड गरिनु पर्छ ।

१४. विद्यालय शिक्षाको पाठ्यक्रम देशको उत्पादन र जनशक्ति प्रयोग हुने गरि निर्माण गरिनु पर्छ । बर्तमान पाठ्यक्रम सैद्धान्तिक मात्रै छ । व्यवहारिक छैन । शिक्षा स्वरोजगार मूलक हुनु पर्छ ।

१५. देश भित्रै पठनपाठन हुने विषय अध्ययन गर्न विदेश जान दिनु हुँदैन । वैदेशिक अध्ययनमा छात्रवृत्तिमा बाहेक जान दिनु हुदैन ।

१६. शिक्षा सेवाको उमेरको हद ३५–५५ र सेवालाई २० वर्ष भन्दा अधिक बनाइनु हुँदैन । युवा जनशक्तिलाई शिक्षामा प्रयोग गर्न अब्बल विद्यार्थीहरूलाई शिक्षक बनाइनु पर्दछ । शिक्षकहरूका अस्थायी सेवा समेत जोडेर सुविधा सहित पुराना शिक्षकहरूलाई बिदाइ गरी सक्षम जनशक्ति भित्र्याइनु पर्छ ।

१७. शैक्षिक प्रशासनका कर्मचारी शिक्षकहरूबाटै नियुक्ति गरिनु पर्छ ।

१८. एक विद्यालय एक नर्सको अवधारणालाई ऐनमै व्यवस्था गर्नु पर्छ ।

१९. न्यून विद्यार्थी भएका स्कुलहरू मर्ज गर्नु पर्छ ।

२०. महिला शिक्षकहरूलाई महिनामा कम्तीमा ३ दिन महिनावारी बिदा र अविवाहित शिक्षकहरूले विवाह गर्दा कम्तीमा एक हप्ता बिबाह बिदा पाउने व्यवस्था गरिनु पर्छ ।


अन्तमा


शिक्षालाई राज्यले उच्चतम प्राथमिकता दिएर सबै क्षेत्रको नेतृत्व शिक्षाले गर्ने गरि ऐनमै व्यवस्था गरिनु आवश्यक छ । सङ्घीय ऐन सदनमा पेस गरे पश्चात् विभिन्न राजनीतिक दलहरूले दफावार छलफल गरि शिक्षालाई प्राथमिकता दिने गरि संशोधन प्रस्ताव पेस गर्नु हुन माननीय सांसद, मन्त्री एवं सरोकारवाला सबैमा हार्दिक अनुरोध गर्दछु । शिक्षा बिना देश विकास सम्भव छैन । “राजनीतिक हस्तक्षेप रहित शिक्षा, आजको आवश्यकता ।“


कुसुम न्यौपाने नवलपरासी (पूर्व) । न्यौपाने स्थायी शिक्षक हकहित मञ्च संयोजक हुन् । उनी वि।स। २०५२ साल देखि सामुदायिक विद्यालयमा शिक्षकका रूपमा कार्यरत छन् ।