काठमाडौं/३ असोज–नेपाल शिक्षक महासंघले आज माइतिघर मण्डलामा सरकार विरुद्ध सडक आन्दोलन गर्दै छ । बिहान ११ बजेबाट सुरु गरिने उक्त आन्दोलनका लागि अहिले माइतिघर मण्डलामा देशभरबाट आएका शिक्षक विद्यालय कर्मचारीहरु भेला हुने क्रम जारी रहेको छ ।
सरकारले संसदमा पेश गरेको विद्यालय शिक्षा सम्बन्धी विधेयकमा शिक्षकहरुलाई धोका दिएको भन्दै विधेयक विरुद्ध सामुदायिक विद्यालय बन्द गरेर काठमाडौं केन्द्रीत सडक आन्दोलनको घोषणा गरेको हो ।

विभिन्न चरणमा आन्दोलन गर्दे आइरहेको नेपाल शिक्षक महासंघले सडकबाटै सरकारलाई दबाब दिने जनाएको छ । विद्यालय शिक्षा सम्बन्धी कानूनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयक को मस्यौदा माथि नेपाल शिक्षक महासङ्घले पेश गरेको सुझावमा रहेका महत्वपूर्ण मुद्दाहरुलाई पटकपटकको संवाद र छलफल पछि पनि समावेश नै नगरी त्यसलाई विधेयकको रुपमा संसदमा पेश गरिएको महासंघको भनाइ छ ।

महासंघले विधेयकको रुपमा दर्ता भइसकेको दस्तावेजको सुधार र परिवर्तन शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयको एकल प्रयत्नमा हुनसक्ने कुनै सम्भावना नरहेको र बदलिएको परिस्थितिलाई मध्यनजर गरी मन्त्रालयबाट वार्ताका लागि आह्वान गरिए पनि वार्तामा नबस्ने अडान लिएको छ ।




