संविधानको परिधिभित्र रहेका शिक्षकका माग पूरा गर्न सरकार तयार : कार्यवाहक प्रधानमन्त्री खड्का

काठमाडौँ/३ असोज-कार्यवाहक प्रधानमन्त्री पूर्ण बहादुर खड्काले सार्वजनिक विद्यालयका शिक्षकहरू आफ्ना मागबारे सरकारलाई जानकारी नै नगराई आन्दोलनमा उत्रिएको भन्दै असन्तुष्टि व्यक्त गर्नुभएको छ । राष्ट्रिय शिक्षा दिवसका अवसरमा शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयले मङ्गलबार आयोजना गरेको कार्यक्रममा उहाँले सडक आन्दोलन गरेर मात्रै माग पूरा नहुने भएकाले वार्ता र छलफलमा आउन शिक्षकलाई अनुरोध गर्नुभयो ।


शिक्षकका माग सम्बोधन गर्नकै लागि विगतमा मन्त्रीपरिषद्ले पारित गरिसकेको विधेयकमाथि थप एक महिना छलफल गरेर सरोकारवालाको सहमतिमा टुङ्ग्याएको बताउँदै उहाँले भन्नुभयो, “तर, विधेयक संसद्मा दर्ता भएपछि शिक्षक महासङ्घद्वारा आफ्नो असन्तुष्टि सरकारलाई भनिएन । हामीसँग कुरा नै नगरी अकस्मात् उहाँहरू आन्दोलनमा जाने निर्णय गर्नुभयो ।” विगतको शिक्षा ऐनसँग जोडिएका हरेक विषयलाई समावेश गरेर विधेयक ल्याइएको उल्लेख गर्दै कार्यवाहक प्रधानमन्त्री खड्काले मुलुकको अर्थतन्त्रले धान्ने र संविधानको परिधिभित्र रहेका शिक्षकका माग पूरा गर्न सरकार तयार रहेको बताउनुभयो ।


गत साता संसद्मा पेस भएको विद्यालय शिक्षासम्बन्धी कानुनलाई संशोधन र एकीकृत गर्न बनेको विधेयकप्रति असन्तुष्टि व्यक्त गर्दै पछिल्लो समय सार्वजनिक विद्यालयका शिक्षक आन्दोलनमा उत्रिएका छन् । आन्दोलनकारी शिक्षकलाई वार्ता र छलफलबाट समस्या समाधान गर्न अनुरोध गर्दै उहाँले भन्नुभयो, “छलफलबाट समाधान नहुने समस्या छैन । सडकबाट होइन, वार्तामा बसेर समस्या समाधान गरौँ।”


मुलुकको शिक्षा सुधारका लागि सरकार थुप्रै नीतिगत सुधारमा लागेको बताउँदै उहाँले सामूहिक पहलबाट मात्रै शिक्षामा गुणात्मक सुधार गर्न सकिने बताउनुभयो । उहाँले सरकारले चिकित्सा क्षेत्रमा सुधारका लागि अग्रसरता लिइसकेको पनि बताउनुभयो । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री अशोककुमार राईले आन्दोलनरत शिक्षकलाई वार्ताका माध्यमबाट समस्या समाधानमा लाग्न अनुरोध गर्नुभयो । आजको गरखापत्रमा समाचार छ ।