शिक्षकको उचित व्यवस्थापन हुनुपर्छ

काठमाडौं/२१ भदौं-नेपाल शिक्षक महासंघकी अध्यक्ष कमला तुलाधारले शैक्षिक गुणस्तर नहुनुमा शिक्षकलाई मात्रै दोष दिन नहुने बताएकी छन् । शिक्षालाई गुणस्तर बनाउन शिक्षकसँगै शैक्षिक सामग्रीको पनि उत्तिकै भूमिका हुने र विद्यालयको व्यवस्थापन राम्रो भए मात्र गुणस्तर शिक्षा प्रदान गर्न सकिने बताएकी छन् ।


ट्याक्सएड एलाइन्स नेपालले आयोजना गरेको शिक्षकको व्यवस्थापन र शिक्षामा लगानि कार्यक्रममा बोल्दै तुलाधरले शिक्षक व्यवस्थापन आजको मुख्य चुनौती रहेको बताइन । उनले सर्वप्रथम शिक्षकको उचित व्यवस्थापन हुनुपर्ने र सरकारले अपुग दरबन्दीलाइ पुरा गर्न तर्फ लाग्नुपर्ने बताइन ।


उनले भनिन् ‘तथ्यांक हेर्ने हो भने करिब ५५ हजार भन्दा माथि अपुग दरबन्दी छ । धेरै शिक्षकहरु अन्यायमा पर्नुभएको छ । राहत शिक्षक, करार शिक्षकहरुले पाउनुपर्ने सेवा सुबिधा समेत पाउन सक्नुभएको छैन । यी विषयलाई राज्यले यथाशिघ्र सम्बोधन गर्नुपर्छ । मावि, प्रावि हरेक तहमा लेबल अनुसारका शिक्षकको नियुक्ती छैन । त्यसैले लेबल अनुसारको दरबन्दी मिलान समेत हुनु अत्यन्तै जरुरी छ । गुणस्तर शिक्षा भएन भनेर शिक्षकलाइ दोष लगाइन्छ, तर समस्या खास कहाँ छ भनेर न विद्यालय, न राज्य, न समाज कसैले ध्यान दिएको पाइदैन ।’


त्यसैगरी अध्यक्ष तुलाधरले अहिलेको मूल समस्या स्थानिय तहमा आउँदा जनप्रतिनिधिको बुझाइमा कमि रहेको बताईन । शिक्षालाई समेटेर चुनाबमा घोषणापत्र बने पनि जनप्रतिनिधिलाई नै शिक्षामा के के गर्ने भन्ने कुरा स्पष्ट नभएको उनको भनाई थियो । चिनजान र आसेपासेलाई लाइसेन्स बिनै शिक्षक बनाइदिने, घटुवा बढुवा बर्खास्त र भर्ती सबै चिजमा जनप्रतिनिधिको अबुझ निर्णयले शिक्ष प्रणालीमा झन् समस्या बिकराल बन्दै गएको बताइन ।


४ महिनामा एकपटक तलब आउनाले पनि शिक्षकहरु विविध समस्या भोग्न बाध्य भएको बताइन । ‘तलबमै बेथिति भएपछी शिक्षक ले खाने कसरी ? स्थानीय तहका शिक्षा विभागका कर्मचारीको रवैयाँको त झनै कुरा नगरु । योसँगैै हामीले माग गरेको भनेको बालविकासका शिक्षकलाइ सहजकर्ता नभनेर शिक्षक नै भनिनुपर्छ भन्ने हो । तर, बिडम्बना सुझाब र माग नै परिवर्तन नहोला भन्न सकिन्न’ उनले भनिन् ।


त्यस्तै हाल ३८ हजार भन्दा बढी राहत शिक्षकहरुको दरबन्दी रहेको र उनीहरुको उचित व्यवस्थापन, २०७२ सालपछिका करार शिक्षक छन् उनीहरुलाई उमेर हद नलगाई स्वच्छ प्रतिष्पर्धामा जान दिनुपर्ने, पास नभएका शिक्षकलाइ आर्थिक सहयोग गर्नुपर्ने, फरक क्षमता भएका शिक्षकलाई सुबिधा, स्थायी भएका शिक्षकले भोग्नुपरेको पेन्सनको समस्या लगायतका कुरामा उचित निर्णय गर्न सके शिक्षा पेशामा मानिसहरुको आकर्षण बढाउन सकिने उनको तर्क थियो । ‘शिक्षक पेशामा कुनै सेवा सुबिधा र सुरक्षा नभएकोले शिक्षा क्षेत्रमा कोहि आउँन तयार नभएको हुँदा राज्यले ढिला नगरी शिक्षामा लगानी बढाउनुपर्नेमा जोड्दिइन । शिक्षामा लगानी बढाउनबाट राज्य उम्कन पाउँदैन, लगानी बढेन भने गुणस्तर पनि धरापमा पर्छ’ उनले भनिन् ।