काठमाडौं/५ भदौं-शैक्षिक गुणस्तर सुधारका नाममा बालविकास शिक्षकलाई सेवाबाट अवकाश दिने अन्यायपूर्ण निर्णय भएको भन्दै नेपाल राष्ट्रिय शिक्षक सङगठनले आपत्ति जनाएको छ । राप्ती नगरपालिका अन्तर्गत कार्यरत ११ जना बालविकासका शिक्षकलाई शैक्षिक गुणस्तर सुधारका नाममा अवकाश दिने निर्णय प्रति आपत्ति जनाएको हो ।
सङगठनले विज्ञप्ति जारी गर्दै भनेको छ “सेवा प्रवेशको तत्कालीन समयमा अत्यन्त न्युन मासिक निर्वाह खर्च रु ५०० मात्र रकममा निरन्तर सेवा गर्दै आउनु भएका बालविकासका शिक्षकहरुलाई तत्कालीन समयमा नेपाल सरकारबाट जारी मापदण्ड बमोजिम तोकिएको न्युनतम शैक्षिक योग्यता र प्रक्रिया बमोजिम नियुक्त भई पाँच वर्ष अवधिसम्म निरन्तर रूपमा सेवारत रहँदै आउनु भएका बालविकासका शिक्षकहरुलाई पछिल्लो समयमा संशोधित न्युनतम शैक्षिक योग्यताको कारण देखाई उहाँहरूलाई हचुवाको भरमा सेवाबाट वर्खास्त गर्ने उक्त नगरपालिकाको निर्णय ट्रेड युनियन अधिकारको बिरुद्धमा हुनुको साथै घोर अन्यायपूर्ण, आपत्तिजनक र खेदजनक पनि छ ।”
साथै बालविकास शिक्षकहरुलाई परिवर्तित सन्दर्भमा शैक्षिक योग्यता बढाउन अवसर दिएर प्रोत्साहित गर्नुपर्ने र माथिल्लो योग्यता तोकी पेसाबाट विस्थापित गर्ने गतल निर्णय अविलम्व सच्याई अवकाश दिइएको भनिएका सबै ११ जना बालविकासका शिक्षकहरुलाई सेवामा पुनः निरन्तरता दिई न्यायोचित व्यवहार गर्न माग गरेको छ ।
अन्यथा यसबाट उत्पन्न हुने परिणामको जिम्मेवारी समेत सम्बन्धित नगर पालिकाले नै लिनुपर्ने चतावनी दिएको छ ।



