महेन्द्रनगर/१ भदौं-सुदूरपश्चिम विश्वविद्यालयले शैक्षिक कार्यक्रम सञ्चालन गर्न इच्छुक संस्थाहरुका लागि आवेदन माग गरेको छ । विभिन्न शैक्षिक कार्यक्रमहरुका लागि सम्बन्धन दिन आवेदन माग गरेको हो ।
विश्वविद्यालयबाट विभिन्न शैक्षिक कार्यक्रमको सम्बन्धन दिने उदेश्यले लागि मिति २०७५ जेठ १४गते सूचना प्रकाशित गरे पनि विविध कारणले सो सम्बन्धन प्रक्रिया स्थगित भएकोमा सुदूरपश्चिम विश्वविद्यालय कार्यकारी परिषद्को २०८० साउन ३१ गते बसेको बैठकले स्थगित रहेको सम्बन्धन प्रक्रियालाई सुचारु गर्ने निर्णय गरेको छ । साथै सम्बन्धन लिन इच्छुक नयाँ संस्थाहरूबाट समेत आवेदन आह्वान गर्ने निर्णय गरेको छ ।
२०७५ जेठ १४ गतेको सूचना अनुसार आवेदन दिएका संस्थाहरूले आफ्नो अद्यावधिक विवरण पेस गर्न र नयाँ आवेदन दिने संस्थाहरूबाट हाल विश्वविद्यालयमा सञ्चालनमा रहेका विज्ञान तथा प्रविधि सङ्काय, कृषि विज्ञान सङ्काय, मानविकी तथा सामाजिक शास्त्र सङ्काय, शिक्षा शास्त्र सङ्काय, सिभिल इन्जिनियरिङ सङ्काय, व्यवस्थापन सङ्काय अन्तर्गत विभिन्न कार्यक्रमहरूको सम्बन्धन लिनका लागि आवेदन दिन सक्ने जनाएको छ ।
साथै २०८० भदौं ०१ गतेदेखि १५ गतेसम्म तोकिए बमोजिमको आवेदन दस्तुर बुझाई आवेदन दिन सकिने छ ।




