बूढानीलकण्ठ नगरपालिका : खुला प्रतिस्पर्धाबाट प्रधानाध्यापक नियुक्त गर्न आवेदन माग

काठमाडौँ /४ साउन-काठमाडौँको बूढानीलकण्ठ नगरपालिकाले खुला प्रतिस्पर्धाबाट प्रधानाध्यापक नियुक्त गर्ने भएको छ । पालिकाले योग्यता पुगेका शिक्षकहरुबाट आवेदन माग गर्दै खुला प्रतिस्पर्धाबाट प्रधानाध्यापक नियुक्त गर्ने तयारी गरेको हो ।


बूढानीलकण्ठ नगरपालिकाको सामुदायिक विद्यालयमा प्रधानाध्यापक नियुक्ति कार्यविधि, २०८० बमोजिम सामुदायिक विद्यालयमा खुला प्रतिस्पर्धाबाट प्रधानाध्यापक नियुक्ति गर्नका लागि आवेदन माग गरेको छ ।


आवश्यक योग्यता पुगेका शिक्षकहरूले सूचना जारी भएको मितिले १५ दिन भित्र आवेदन दिनुपर्ने नगरपालिकाले जनाएको छ । आधारभूत तह कक्षा (१–५) को हकमा मान्यता प्राप्त शिक्षण संस्थाबाट कम्तीमा स्नातक तह वा सो सरह उत्तीर्ण गरेको हुनुपर्नेछ ।


आधारभूत तह कक्षा (१–८) को लागि मान्यता प्राप्त विश्वविद्यालयबाट कम्तीमा स्नातक तह वा सो सरह उत्तीर्ण गरेको हुनुपर्नेछ । माध्यमिक तह कक्षा (१–१०/१२) को लागि मान्यता प्राप्त विश्वविद्यालयबाट कम्तीमा स्नातकोत्तर तह वा सो सरह उत्तीर्ण गरेको शिक्षकले आवेदन दिन सक्ने सूचनामा उल्लेख गरेको छ ।


साथै सम्बन्धित तहको शिक्षक पदमा कम्तीमा ५ वर्ष स्थायी सेवा गरेको, नियुक्ति हुँदाको बखत कुनै राजनीतिक दलको सदस्य नरहेको, उच्च नैतिक चरित्र भएको शिक्षकले आवेदन दिन सक्नेछन् ।