कास्की/२ साउन-पोखरा विश्वविद्यालय स्थापना भएको २६ वर्ष पुरा भई २७ औं वर्ष भएको छ । पोखरा विश्वविद्यालय ऐन २०५३ वि.सं. २०५४ साल श्रावण १ गतेदेखि जारी भई लागू भएकोले हरेक वर्ष श्रावण १ गतेलाई पोखरा विश्वविद्यालय दिवसको रूपमा मनाउँदै आएको छ । २७ वर्षसम्म आइपुग्दा यो विश्वविद्यालय मुलुककै उच्चशिक्षाको एउटा अग्रणी र धरोहरको रूपमा स्थापित भएको छ ।
पोखरा विश्वविद्यालय स्थापना दिवसको अवरमा विश्वविद्यालयले लेखनाथमा सरसफाई तथा विश्वविद्यालयको स्थापना, विकास र विस्तारका बारेमा एक औपचारिक कार्यक्रम गरी मनाएको छ ।
कार्यक्रमलाई सम्बोधन गर्दै पोखरा विश्वविद्यालय उपकुलपति प्रा.डा. प्रेमनारायण अर्यालले पोखरा विश्वविद्यालयलाई निजी क्षेत्रको सहभागितामा सञ्चालन गर्ने प्रावधान भएकोले नयाँ सम्बन्धन प्रक्रियालाई अगाडि बढाउनुपर्नेमा जोड दिए । पोखरा विश्वविद्यालयमा सरकारको लगानी ज्यादै न्यून रहेकोले आँफैमा धानिन सक्नेगरी आङ्गिक कलेजको विस्तार तथा नयाँ विधा र क्षेत्रहरूमा नयाँ कलेजहरूलाई सम्बन्धन दिनै पर्ने उनको भनाई थियो ।
कलेजहरूको नियमित अनुगमन गर्ने र नचलेका कार्यक्रम खारेज गर्ने, प्राज्ञिक सुधारका लागि शिक्षक, विद्यार्थीलाई अनुसन्धान र उद्यमशीलतामा प्रेरित गर्ने र कर्मचारीलाई तालिम प्रशिक्षण दिने, पाठ्यक्रमलाई परिमार्जन गर्दै जाने नीति विश्वविद्यालयको रहेको बताए ।
पोखरा विश्वविद्यालय सेवा आयोगका अध्यक्ष प्रा.डा. तीर्थ राज अर्यालले शिक्षकले अनुसन्धान र थेसिस गाईडलाई प्राथमिकतामा राखी आफ्नो योग्यता अद्यावधिक गर्दै जानुपर्नेमा जोड् दिए । विश्वविद्यालयका रजिष्ट्रार प्रा.डा. दिपक बहादुर भण्डारीले विश्वविद्यालयको आम्दानीको मुख्य श्रोत भनेको नै विद्यार्थी भएकोले नयाँ नयाँ ठाउँमा रोजगार र बजारमुखी कार्यक्रम सञ्चालन गरी विद्यार्थी भर्नादर बढाउनुपर्ने बताए ।
पोखरा विश्वविद्यालय मानविकी तथा सामाजिक शास्त्र सङ्कायका डीन सह–प्रा.डा. अजय थापाले विश्वविद्यालय शुन्यबाट सञ्चालन भई आज स्नातक, स्नातकोत्तर, एमफिल तथा विद्यावारिधितहमा कार्यक्रम सञ्चालन गरेको र ६६ वटा कलेजअन्तर्गत ६४ वटा कार्यक्रम सञ्चालन गरी ३७ हजारभन्दा बढी विद्यार्थी अध्ययरत रहेको उल्लेख गर्दै यो गर्व गर्न लायकको भएको भनाई राखे ।
पोखरा विश्वविद्यालय विज्ञान तथा प्रविधि सङ्कायका डीन प्रा. राजेशकुमार ठगुराठीले विश्वविद्यालयलाई सबैले आफ्नो घर सम्झी कार्य गर्नुपर्ने बताए । उनले विद्यार्थी कलेक्सन होइन सेलेक्सनबाट लिनसक्ने गरी विश्वविद्यालय बनाउनुपर्नेमा जोड दिए । स्वास्थ्य विज्ञान सङ्कायका डीन सह–प्रा. डा. अमर नागिलाले पोखरा विश्वविद्यालयले उच्चशिक्षाको सर्वाङ्गिण विकासमा महत्वपूर्ण योगदान गरेको उल्लेख गर्दै यसलाई सबैले अझ बढी पढ्न लायक र काम गर्न लायक बनाउनुपर्नेमा जोड दिए । व्यवस्थापन सङ्कायका डीन सह–प्रा.डा. दयाराज ढकालले विश्वविद्यालयलाई माया होइन प्रेम गरेर अगाडि बढ्न सबैलाई आग्रह गरे ।
कार्यक्रममा पोखरा विश्वविद्यालका परीक्षा नियन्त्रक सह–प्रा. डा. तुल्सीराम भण्डारीले विश्वविद्यालयको लागि सबैले बस्तुनिष्ठ भएर सोच्नुपर्ने बताए । उनले विश्वविद्यालयको उन्नयनमा सकिन्छ काम गर्ने हो, सकिदैन चुप लागेर बस्ने हो भन्दै यसलाई हामीले नबनाए कसले बनाउँछ र यसको साख हामीले नबचाए कसले बचाउँछ भने । पोखरा विश्वविद्यालयका कार्यकारी परिषद्का सदस्य उप–प्राध्यापक योगराज लामिछानेले विश्वविद्यालयको विकृति र विसंगतिका हिस्सेदारी हामी सबै हौँ भन्दै विधि र पद्धतिमा विश्वविद्यालय सञ्चालन गर्न सबैले पहल र प्रतिबद्धता गर्नुपर्ने भनाई राखे ।
पोखरा विश्वविद्यालय योजना तथा कार्यक्रम महाशाखा प्रमुख प्रा.डा. दिपकराज पौडेलले विश्वविद्यालयलाई कसैले कमजोर बनाउन नहुने उल्लेख गरे । उनले विश्वविद्यालयको छत्रछायाँमा शिक्षक तथा कर्मचारीले धेरै अवसर प्राप्त गरेकाले यसका उपलब्धीलाई सबैले सकारात्मक भएर सोच्नुपर्ने बताए । पोखरा विश्वविद्यालय प्राध्यापक संघका सभापति सह–प्रा.डा. निरञ्जन श्रेष्ठले विश्वविद्यालयमा प्रायःजसो हुने बन्द हडतालले विश्वविद्यालय जर्जर बनेको उल्लेख गर्दै यस्तो संस्कृति सँधैका लागि अन्त्य गर्न भौतिक एवम् शैक्षिक पूर्वाधार विकासमा जोड दिनुपर्ने बताए ।
विश्वविद्यालय सभाका सदस्य रामबाबु भण्डारीले पोखरा विश्वविद्यालय सञ्चालनमा धेरै चुनौति र अवसर दुबै रहेको उल्लेख गर्दै यसको उन्नति र प्रगतिमा सबै एकजुट भएर तन, मन र कर्मका साथ लाग्नुपर्नेमा जोड दिए । पाठ्यक्रम विकास केन्द्रका कार्यकारी निर्देशक सह–प्रा.डा. पूर्णबहादुर खाँडले पोखरा विश्वविद्यालय अझै पूर्ण आकारमा आइनसकेको उल्लेख गर्दै यसको विकास र विस्तारमा सबैले आत्म समिक्षा गरी अगाडि बढ्नुपर्ने बताए ।
स्कूल अफ बिजनेशका स्कूल निर्देशक सह–प्रा.डा. श्रृजन ज्ञवालीले पोखरा विश्वविद्यालयको सञ्चालनमा सबैको उत्तिकै समान महत्व रहेको उल्लेख गर्दै सबैले कर्तव्यनिष्ठ भएर काम गर्नुपर्नेमा बताए । कर्मचारी संघका अध्यक्ष सहायक प्रशासक चोलाकान्त च्वाँईको विश्वविद्यालय आफ्नो उद्देश्य अनुरूप चल्नुपर्ने उल्लेख गर्दै अनावश्यक कुरामा खातिरदारी लिई फाइदा लिने परिपाटीको अन्त्य हुनुपर्नेमा भनाई थियो ।
पोखरा विश्वविद्यालयको २७ औं स्थापना दिवसको कार्यक्रममा विभिन्न निकायका पदाधिकारी, शिक्षक तथा कर्मचारीहरूको उपस्थिति रहेको थियो ।



