१ लाख ९ हजार ८ सय ३६ जनाले लिए एनओसी (हेर्नुहोस कुन देशमा कति)

काठमाडौं/३० असार– एक वर्षमा उच्च शिक्षा अध्ययनका लागि एनओसी लिनेको संख्या १ लाख ९ हजार ८ सय ३६ रहेको छ । मन्त्रालयले रद्ध गरिएको एनओसी सहित गरेर १ लाख २२ हजार ११ जनाले आवेदन दिएको जानकारी दिएको छ ।


चालु आर्थिक वर्ष २०७९ ८० को साउन १ गतेदेखि असार २९ गतेसम्म उच्च शिक्षाका लागि विदेश अध्ययनमा जाने १ लाख ९ हजार ८ सय ३६ जनाले एनओसी लिएको मन्त्रालयको भनाई छ । आवेदन दिएका १ लाख २२ हजार ११ कुल विद्यार्थी मध्ये १२ हजार १ सय ७५ जनाको रद्ध गरिएको छ ।


वैदेशिक अध्ययन अनुमति शाखाका अनुसार यो वर्ष अष्ट्रेलियाका लागि सबै भन्दा धेरै विद्यार्थीले एनओसी लिएका छन् । ३३ हजार ९ सय ६८ जनाले अष्ट्रेलियाका लागि एनओसी लिएका छन् भने ८ हजार ३ सय ७२ आवेदन विभिन्न कारणले रद्ध गरिएको छ । त्यसैगरी जापान अध्यनमा जान एनओसी लिने विद्यार्थीहरुको संख्य २१ हजार ६ सय ५४ रहेको छ । त्यस्तै क्यनडा २१ हजार ४ सय २५, बेलायतका लागि १० हजार ४ सय ७४, अमेरिकाका लागि ३ हजार ९ सय १, डेनमार्क १ हजार ८४, फ्रान्स १ हजार २ सय ६९, भारत २ हजार १ सय ८४, न्युजल्यण्ड १ हजार ८ सय ५६, रिपब्लिक अफ कोरिया २ हजार ९ सय ९३ र युएई २ हजार ३ सय ८१ जनाले एनओसी लिएका छन् ।


वैदेशिक अध्ययन अनुमति शाखाले सेवामा परिवर्तन


यस वर्ष वैदेशिक अध्ययन अनुमति शाखाले सेवा प्रवाहमा विभिन्न परिवर्तन गरिएको जनाएको छ । एनओसीलाई व्यवस्थित र विद्यार्थीहरुलाई सहज गर्न विभिन्न कार्य गरेको जनाएको छ । शाखाका अनुसार यो वर्ष भएका कार्यहरु निम्म छन् :


१. शाखाको सफ्टवेयर अपडेट गरी आवेदकको प्रोफायल नागरीकता नम्मरको आधारमा ट्रयकिङ्ग गर्ने प्रबन्ध मिलाएको छ । जसको परिणामस्वरुप फरक मोबाइल नं र ईमेल ठेगाना प्रयोग गरी पहिले लिएको एनओसीबाट कुनै शैक्षिक कार्यक्रमको लागि लिएको वैदेशिक मुद्रा सटही सुविधा लिँदा गरिएको कारोबार रकम फिर्ता नहुँदै पटक पटक एनओसी लिएर वैदेशिक मुद्रा अपचलन गर्ने प्रथालाई पूर्ण रुपमा विराम चिन्ह लगाएको छ ।


२. समय तालिका अनुसार सेवा प्रवाह गरी सेवा लिन आउँदा हुने सेवाग्राहीको भीडलाई पूर्ण रुपमा नियन्त्रण गरी कम्तिमा १५ देखि २० मिनेटभित्र सेवा लिन सक्ने व्यवस्था मिलाएर सेवा प्रवाहलाई छिटो छरितो र प्रभावकारी बनाएको छ ।


३. नेपाल राजपत्रमा प्रकाशित विवरणअनुसार तोकिएका सार्वजनिक विदाका दिनमा समेत वैदेशिक अध्ययन अनुमति शाखाको सेवा प्रवाहलाई सुचारु गरेएको छ ।


४. २०८० साल जेठ १ गते सोमबारबाट क्यासले, फेसलेस, र पेपरलेस सेवा प्रवाहको यात्रा प्रारम्भ गरी शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयको अनलाइन सेवा प्रवाह गर्ने पहिलो निकायको रुपमा स्थापित गरिएको छ । पूर्ण रुपमा यसप्रकारको सेवा प्रवाह गर्ने यात्राको शुभारम्भ गर्ने पहिलो निकायको रुपमा वैदेशिक अध्ययन अनुमति शाखालाई स्थापित गराइएको छ ।


५. हालसम्म राष्ट्रिय परीक्षा बोर्ड, सिआईएमएस, इमिग्रशन विभाग, चिकित्सा शिक्षा आयोग र त्रिविको पाठ्यक्रम विकास केन्दको एपिआई वैदेशिक अध्ययन अनुमति शाखाको सफ्टवेयरमा इन्ट्रिग्रेड गर्ने कार्य सम्पन्न गरेको छ ।