कालिकोटको महावै गाउँपालिकामा वृहत शैक्षिक सम्मेलन सम्पन्न

कालिकोट/२४ असार-महावै गाउँपालिकाद्वारा आयोजित ‘वृहत शैक्षिक सम्मेलन’ सम्पन्न भएको छ । समग्र गाउँपालिकाको शैक्षिक सुधार र उन्नयन गर्ने उदेश्यले वृहत शैक्षिक सम्मेलन आयोजना गरेको हो ।


गाउँपालिकाका अध्यक्ष खेम बहादुर सिंहको अध्यक्षतामा भएको उक्त कार्यक्रमको प्रमुख अतिथि मध्यपश्चिम विश्वविद्यालयका उपकुलपति प्रा.डा. नन्द बहादुर सिंह रहका थिए । सम्मेलनमा प्रमुख अतिथि एवं उपकुलपति प्रा. डा. सिंहले आफु २८ वर्ष पछि आफ्नो जन्मस्थल डिल्लीकोट, महावै फर्किदा यातायात, बिजुली, खानेपानी, शिक्षा र स्वास्थ लगायतको क्षेत्रमा उल्लेखनीय परिवर्तन अनुभूति भएको कुरा व्यक्त गरे ।


उनले आफ्नो बाल्यकाल सम्झिदै आफुले कठीन परिस्थितिका बाबजुत शिक्षा हासिल गर्नुपरेता पनि अहिले त्यो अवस्था नरहेको र सम्पूर्ण महावैबासीले आ आफ्नो छोराछोरीहरुलाई विद्यालय भर्ना गरी उनीहरुको उज्ज्वल भविष्य निर्माणमा जुट्नुपर्ने कुरा उल्लेख गरे । साथै शैक्षिक क्षेत्रमा रहेका विकृति र पछौटेपनलाई हटाउदै गुणस्तरीय शिक्षाका लागि सबैले जुट्नु पर्ने कुरामा उनले जोड दिए ।


उपकुलपतिले महावै गाउँपालिका र समग्र कालिकोट जिल्लाको विकासका लागि महावै गाउँपालिका स्थित लसुनढुङ्गामा स्मार्ट सिटीको निर्माण गर्न गाउँपालिकालाई आवश्यक प्रावधिक सहयोग गर्ने र सोको लागी उक्त क्षेत्रको पहिलो चरणको अध्ययन, अवलोकन तथा सूचना संकलन समेत गरिसकेको जानकारी दिए । उपकुलपतिको नेतृत्वमा ग्र्याजुएट स्कूल अफ साइन्स एण्ड टेक्नोलोजी तथा इञ्जिनियरिङ्गका डीन सह प्रा. डा. सुदीप ठकुरी, उपकुलपति कार्यालयका सूचना प्रविधि विज्ञ उप प्रा. पन्चदेव भट्ट, इन्जिनियरद्वय सुनिल तिवारी र विरेन्द्र सिंह सम्मिलित पाँच जनाको टोलीले लसुनढुङ्गा स्मार्ट सिटी अध्ययनको कार्य सुरु गरेको हो ।


शैक्षिक सम्मेलनमा जनप्रतिनिधि, शिक्षक, कर्मचारी र अभिभावक बीच अन्तरक्रिया तथा छलफल गरी ८ बँुदे ‘महावै गाउँपालिका वृहत शैक्षिक सम्मेलन घोषणा पत्र ( २०८०’ सार्वजनिक गरिएको थियो । उक्त घोषणा पत्रमा सामुदायिक विद्यालयहरुको गुणस्तर विकास, सर्वसाधारणको पहुँच, शिक्षक कर्मचारीको प्रभावकारी सेवा प्रवाह, विभिन्न निकाय बीचको समन्न्वय, व्यवस्थित परिक्षा प्रणाली, आवश्यक पाठ्यसामाग्रीको सुनिश्चितता, त्रैमासिक अभिभावक भेला, आवश्यकताको आधारमा विद्यालयको कक्षा कटौती र समायोजन तथा शिक्षक दरबन्दीको व्यवस्था र पेशागत तालिम संचालन गर्ने विषयमा सामुहिक प्रतिवद्धता गरिएको थियो ।


सम्मेलनमा मध्यपश्चिम विश्वविद्यालयबाट ग्र्याजुएट स्कूल अफ साइन्स एण्ड टेक्नोलोजि तथा इञ्जिनियरिङ्गका डीन, उपकुलपति कार्यालयका सूचना प्रविधि विज्ञ, उपकुलपतिका स्वकीय सचिव र इन्जिनियर उपस्थित रहेको थियो भने गाउँपालिकाका जनप्रतिनिधि, कर्मचारी, सामुदायिक विद्यालयका शिक्षक, अभिभावक, ओदा फाउन्डेसनका प्रतिनिधि, पत्रकार र आम समुदाय लगायतको उपस्थिति रहेको थियो । कार्यक्रमको संचालन महावै गाउँपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत गणेशमान सिंहले गर्नु भएको थियो ।