निजी विद्यालयलाई बालेनको निर्देशन : कानूनमा तोकिए बमोजिम शिक्षकलाई तलब दिनु

काठमाडौं/१४ असार-काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र शाहाले नेपाल सरकारले तोकेको तलब स्केल नघटाई शिक्षकलाई तलब उपलब्ध गराउन निजी विद्यालयलाई निर्देशन दिएका छन् । निजी विद्यालयका शिक्षकहरूको तलब सामुदायिक विद्यालयको भन्दा न्यून भएको गुनासो अआउने गरेको भन्दै निर्देशन दिएका हुन् ।


उनले ‘शिक्षा ऐन, २०२८’ को दफा १२(७)(छ) मा संस्थागत विद्यालयको शिक्षकलाई पनि नेपाल सरकारले तोकिदिएको तलब स्केल नघटाई तलब दिनुपर्ने भनी उल्लेख गरिएको बताएका छन् । साथै काठमाडौँ महानगरपालिका विद्यालय शिक्षा व्यवस्थापन नियमावली, २०७४ को नियम ६८ मा शिक्षक तथा कर्मचारीको तलब भत्ता, निवृत्तिभरण, उपदान लगायतका अन्य सुविधा खाइपाइ आएकोमा नघट्ने गरी संघीय शिक्षा कानूनमा तोकिए बमोजिम हुने उल्लेख गरिएकोले निजी विद्यालयलाई निर्देशन दिएको बताए ।


त्यसैगरी सरकारले तोकेको तलब स्केल निजी विद्यालयले उपलब्ध नगराए निम्न काठमाडौँ महानगरपालिका शिक्षा विभागमा सम्पर्क गर्न अनुरोध गरेका छन् ।