काठमाडौं/१४ असार-काठमाडौं विश्वविद्यालय स्कुल अफ एजुकेशनले स्टिम एजुकेशन सम्बन्धी सेमिनारको आयोजना गरेको छ । स्टिम शिक्षाको बारेमा विभिन्न विद्यालयका प्रिन्सिपल, सरोकारवाला, स्थानीय तहलाई जानकारी दिने र स्टिम विधिको प्रभावकारि प्रयोग कसरी भएको छ भन्ने उदेश्यले सेमिनारको आयोजना गरिएको हो ।
असार १३ गते आयोजना गरिएको सेमिनामा स्टिम एजुकेशनमा विश्वविद्यालय, स्थानीयतह, शिक्षण संस्थाहरु निजी तथा सामुदायिक विद्यालयमा के कस्ता अध्ययन, अनुसन्धान र अभ्यास भइरहेका छन् भन्ने विषयमा अनुभव आदानप्रदान गर्नुका साथै त्यसको प्रयोगले विद्यार्थीको पठनपाठनमा ल्याएको परिवर्तन बारे छलफल केन्द्रीत थियो ।
काठमाडौं विश्वविद्यालय स्कुल अफ एजुकेशन स्टिम विभागका प्रध्यापक विनोद पन्तले स्टिम शिक्षा बहुविधागत धारणा रहेको बताए । उनले एकिकृत सिकाई, विज्ञान र कलालाई जोडेर व्यक्ति, परिवार, समाज र देशको रुपान्तरणका लागि विभिन्न विधाहरुबाट आएका मानिसहरुले समन्वयगरी अगाडी बढ्नुपर्नेमा जोड् दिए ।
काठमाडौं महानगरपालिकाका शिक्षा विभाग पमुख सिताराम कोइरालाले बुक फ्रि फ्राईडे अन्तर्गत स्टिम विधिको धेरै प्रयोग गरिरहेको जानकारी दिँदै ४० भन्दा बढी सामुदायिक विद्यालयमा स्टिम विधिको प्रयोगबाट पठनपाठन गरिएको बताए । उनले गणित र विज्ञानका विद्यार्थी धरै भएको देशले छिटो विकास गरिरहेको उदाहरण दिँदै काठमाडौं महानगरले पनि गणित र विज्ञानलाई प्राथमिकता दिएको जानकारी दिए । यसले महानगरलाई विकास गर्न सहयोग हुने अपेक्षा रहेको कोइरालाको भनाई थियो ।
कार्यक्रममा स्टिम विधिको प्रयोग र अभ्यास गरिरहेका सामुदायिक तथा निजी विद्यालयका व्यक्तिहरु, विभिन्न संस्थाहरु, स्थानीय तह र विज्ञहरुको सहभागिता रहेको थियो ।



