युवराज रेग्मी
झापा/१० असार-झापाको गौरादह नगरपालिकालाई बालमैत्री नगर घोषणा गर्ने अभियानमा विद्यार्थीहरु जुट्दैछ्न ।
बालमैत्री स्थानिय शासनको परिकल्पना अनुरुप गौरादह नगरलाई बालबालिका मैत्री नगरपालिका बनाउने गौरादह नगरको लक्ष्य अनुरुप गत जेष्ठ १८ र १९गते सरोकारवालाहरु सम्मीलित दुईदिने नगर स्तरिय अभिमुखिकरण कार्यक्रम सम्पन्न गरिएको थियो । गौरादह नगरपालिकाको आयोजनामा स्कुलचौन स्थित महारानीझोडा सानाकिसान कृषि सहकारी सस्थाको नमुना एकीकृत सहकारी खेती अन्तरगतको नमुना पाहुनाघर सभाहलमा दुईदिने अन्तरक्रिया सम्पन्न गरिएको थियो ।
सोही कार्यक्रम अन्तर्गत गौरादह नगरलाई बालमैत्री नगर बनाउने प्रतिबद्धता अनुरुप विद्यालयमा अध्ययनरत विद्यार्थीहरु गौरादह नगरलाई बालमैत्री नगर बनाउने अभियानमा जुटेकाहुन ।
बाल अधिकार सम्बन्धी अभिमुखिकरण गराउने अन्तरकृया कार्यक्रमको अबसर पारेर गौरादह नगरलाई बालमैत्री नगर घोषणागर्न आवश्यक रहेको महसुस गर्दै २०८३ फाल्गुन मसान्त सम्ममा गौरादह नगरलाई बालमैत्री नगर घोषणागर्ने लक्ष्यलिएर सरोकारवालाहरुले प्रतिबद्वता जनाएका थिए ।
अन्तरकृया कार्यक्रममा सहभागी सरोकारवलाको भेलाले गौरादह नगरलाई २०८३ फाल्गुन मसान्त सम्ममा बालमैत्री नगर घोषणागर्ने प्रतिबद्धता अनुरुप असार ९ गते शनिबार गौरादह नगरमा नगरस्तरिय बाल संजाल गठन गरिएको छ ।
श्री डोरामारी माध्यमिक विद्यालय गौरादह ४ कि छात्रा पुजन खरेलको अध्यक्षतामा १५ सदस्यीय नगर बाल संजाल गठन गरिएको हो । नगर बाल संजालको उपाध्यक्षमा सुमन सिटौला, सचिबमा रोइसा भुजेल सह–सचिबमा अभिरङ्ग लौडारी र कोषाध्यक्षमा बिपन थापा सर्बसम्मत निर्बाचित भएकाछ्न ।
गौरादह नगरपालिका वडा न १ को सभाहलमा आयोजित कार्यक्रममा गौरादह नगर अन्तरगतका ९ वटै वडाका सामुदायिक र संस्थागत विद्यालयमा अध्ययनरत करिब १०० जना प्रतिनिधि विद्यार्थी र संरक्षक शिक्षकहरुको उपस्थितिमा नगर बालसंजाल गठन कार्यक्रम सम्पन्न भएको हो ।
गौरादह नगरपालिका महिला तथा बालबालिका साखा प्रमुख कबिता तुम्बापोको संयोजकत्वमा आयोजित कार्यक्रमको सहजिकरण बाल अभियता बिर्तामोड निवासी सुमन ढकालले गरेका थिए ।



