मध्यपश्चिम विश्वविद्यालयले मनायो तेह्रौं वार्षिकोत्सव

सुर्खेत/५ असार-मध्यपश्चिम विश्वविद्यालयको तेह्रौं वार्षिकोत्सव समारोह सम्पन्न भएको छ । कर्णाली प्रदेशका मुख्यमन्त्री राज कुमार शर्मा, उपकुलपति र रजिष्ट्रारद्वारा केन्द्रीय प्रशासनिक भवन परिसरमा वृक्षारोपण गरी समारोहको सुरुवात गरिएको थियो ।


वीरेन्द्रनगर, सुर्खेत कुईनेपानी स्थित मध्यपश्चिम विश्वविद्यालयको सभाहलमा आयोजित उक्त समारोहमा प्रमुख अतिथि एवं मुख्यमन्त्री शर्माले कर्णाली प्रदेशको समग्र विकास र उन्नयनका लागि दक्ष जनशक्ति उत्पादनमा मध्यपश्चिम विश्वविद्यालयको महत्वपूर्ण भूमिका रहेको व्यक्त गरे । उनले कर्णाली प्रदेश सरकार र मध्यपश्चिम विश्वविद्यालय विच थप सहकार्य गर्दै जाने उल्लेख गर्दै कर्णालीको गरिबी, अशिक्षा र स्वास्थ सेवाको अभावका विरुद्ध एकताबद्ध संघर्ष गर्नु पर्ने बेला आएको बताए ।


साथै आगामि आर्थिक वर्षमा कर्णाली प्रदेश सरकारको निति तथा कार्यक्रममा मध्यपश्चिम विश्वविद्यालयको अनुसन्धान र विकास कार्यक्रमका लागि सहयोग गर्ने उल्लेख गरिएको जानकारी दिए ।


कार्यक्रममा उपकुलपति प्रा. डा. नन्दबहादुर सिंहले मध्यपश्चिम विश्वविद्यालयको एकीकृत भिजन र विश्वविद्यालयको प्रगती बारे प्रस्तुत गरेका थिए । कार्यक्रममा बोल्दै उनले अबको विश्वविद्यालयहरुले संसारै भरी प्रतिस्पर्धा गर्न सक्षम विद्यार्थी उत्पादन गर्नुपर्ने र मध्यपश्चिम विश्वविद्यालय यस प्रति कटिबद्ध रहेको बताए ।