काठमाडौं ४ असार निजी तथा आवासीय विद्यालय अर्गनाइजेशन नेपाल (प्यब्सन) र माछापुच्छ्रे बैंकको सहकार्यमा विद्यार्थीसँग माछापुच्छ्रे कार्यक्रम सञ्चालन हुने भएको छ । विद्यार्थीहरुलाई आर्थिक क्षेत्रका बारेमा पठनपाठन र जानकारी दिने उदेश्यले यो कार्यक्रम सञ्चालन गर्न लागिएको हो ।
दुई संस्था बीच सम्झौता तथा जानकारी दिने उदेश्यले काठमाडौंमा आयोजना गरिएको एक कार्यक्रमका विच विद्यार्थीसँग माछापुच्छ्रे कार्यक्रम सञ्चालनको घोषणा गरिएको छ । राष्ट्र बैंकको सुझाब अनुसार सामाजिक उत्तरदायित्व अन्तर्गत कार्यक्रमलाई अगाडि बढाइएको कार्यक्रममा जानकारी दिइयो ।
प्यब्सनले धेरै उत्कृष्ट विद्यालयहरु बनाइरहेको सन्दर्भमा यो कार्यक्रम विद्यार्थी तथा अभिभावकलाई लाभदायी हुने प्यब्सनका केन्द्रीय अध्यक्ष डिके ढुंगानाले बताए । उनले कतिपय विद्यार्थीलाई बैंकमा गएर भौचर भर्न, पैसा जम्मा गर्न, अनलाईन कारोबार सञ्चालन गर्न जानकारी नभएको बताउँदै यो कार्यक्रमले विद्यार्थीहरुलाई आर्थिक क्षेत्रको बारेमा बुझ्न र ज्ञान लिन सहज हुने धारणा राखे ।
ढुंगानाले आर्थिक शिक्षा विद्यालय तह कक्षा ६ देखि १२ सम्म नै सिकाउन आवश्यक रहेको र यसले विद्यार्थीलाई करियरमा सिइओ, बैंकर्स वा यो क्षेत्रमा कसरी जान सकिन्छ भन्ने जानकारी हुनेमा जोड्दिए ।
माछापुच्छ्रे बैंकका अध्यक्ष डा. उपेन्द्र महतोले प्यब्सनसँगको सम्झौता सुरुवात मात्रै भएको र यसलाई व्यवहारिक रुपमा लागू गरेर आर्थिक, बैंकिग बारेमा विद्यार्थीलाई सिकाउनका लागि भुमिका खेल्ने भनाई राखे । महतोले विद्यार्थीको नाममा खाता खोलेर विद्यार्थीलाई नै शुल्क तिर्न लगाउन सके आफ्ना लागि पढाईमा कति खर्च भयो भन्ने कुराको व्यवाहारिक रुपमा थाहा पाउनुका साथै आर्थिक अनुशासन र जिम्मेवारी वहन गर्न सक्ने बाँनिको विकास हुनेमा जोड्दिए ।
बैंकका सिइओ सन्तोष कोइरालाले वित्तिय साक्षरता र फाइनान्सीयल लिक्ट्रेसीका बारेमा विद्यार्थीलाई बुझाउन आवश्यक रहेकोले प्यब्सनसँग सहकार्य गरिएको बताए । त्यसैगरी प्यब्सन केन्द्रीय उपाध्यक्ष कृष्ण अधिकारीले विद्यार्थीलाई आर्थिक क्षेत्रका बारेमा ज्ञान दिनुका साथै भविष्यमा उद्यमी बन्नका लागि यो कार्यक्रम सहयोगि हुने अपेक्षा लिएको भनाई राखे ।
नेपाल राष्ट्र बैंकका कार्यकारी निर्देशक गुरुप्रसाद पौडेलको चालु आर्थिक वर्षलाई विद्युतीय भुक्तानि बर्ष मनाइरहेको अवस्थामा माछापुच्छ्रे बैंक र प्यब्सनको सम्झौताले विद्यार्थीलाई डिजिटल प्रणालीको महत्वबारे जानकारी दिन सहज हुने भनाई थियो ।
उनले भने तीन वर्ष अगाडी किताबमा छापिएका विषय वस्तु पढाएर अहिलेको अवस्थामा काम गर्दैन । डिजिटल युगको समयमा विद्यार्थीलाई नयाँ नयाँ विषयमा पढाउन आवश्यक छ । त्यसैले यो कार्यक्रमले विद्यार्थीलाई आर्थिक क्षेत्रका बारेमा पठनपाठन गर्न सहज हुने छ । साथै विद्यालय तहमा आर्थिक क्षेत्रका बारेमा पठनपाठन नहुने बताउँदै पाठ्यपुस्तकमा नै राखेर पठनपाठन गर्न आवश्यक रहेको पौडेललको भनाई थियो ।



