आन्दोलनरत विद्यालय कर्मचारीसँग छलफल गर्न वार्ता समिति

काठमाडौं/१ असार-विद्यालय कर्मचारीको विषयमा छलफल गर्न शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले विद्यालय कर्मचारीहरुसँग छलफल गर्न वार्ता समिति बनाएको छ । मन्त्रालयले शिक्षा तथा मानव स्रोत विकास केन्द्रका महानिर्देशक चुडामणि पौंडेलको संयोजकत्वमा वार्ता समिति बनाएको हो ।


मन्त्रनलयका अनुसार अर्थ मन्त्रालय र संघिय मामिला मन्त्रालयका प्रतिनिधि सहित पाँच सदस्य वार्ता समिति बनाइएको जनाएको छ । आज वार्ता समिति बनाइएपनि आइतबार समितिका संयोजकलाई पत्र दिइएपछि विद्यालय कर्मचारीहरुसँग छलफल अगाडि बढाइने मन्त्रालयको भनाई छ ।


तर, विद्यालय कर्मचारी परिषद्का अध्यक्ष गंगाराम तिवारीले छलफल र सम्झौताले मात्रै नहुने भन्दै निर्णायक आन्दोलन गरेरै छाड्ने अडान लिदैँ आएका छन् । उनले समिति बनेको भर्खर थाहा पाएपनि आफुहरुलाई कुनै मन्त्रालयबाट नआएको बताए । तिवारीले माग पुरा गरेरै छाड्ने बताउँदै वार्ता, छलफलसँगै आन्दोलन पनि निरन्तर चल्ने जानकारी दिए ।


उनीहरुले जेठ २० गतेदेखि चरणबद्ध आन्दोलन गरिरहेका छन् । नेपाल सरकारको नीति तथा कार्यक्रममा (आर्थिक वर्ष) २०८०/०८१ बुँदा नं. १२७ मा सामुदायिक विद्यालयमा कार्यरत विद्यालय कर्मचारीको सेवा सुविधा सम्बोधन गरिनेछ भनिएपनि बजेट भाषणमा काँही उल्लेख नगरिएको भन्दै आन्दोलनका कार्यक्रम घोषणा गरेका हुन् ।