महानगरले रोक्यो शैक्षिक मेला

काठमाडौं/३२ जेठ-उच्च शिक्षालय तथा माध्यमिक विद्यालय संघ (हिसान) र कान्तिपुर पब्लिकेसन्सको संयुक्त आयोजनामा आजदेखि सुरु भएको शैक्षिक मेला काठमाडौं महानगरपालिकाले बन्द गराएको छ । प्रक्रिया पूरा नगरी शैक्षिक मेलाको आयोजना गरिएको भन्दै बन्द गराएको हो ।


बिहिबारका लागि शैक्षिक मेला बन्द गराइएको महानगरको शिक्षा विभागका कर्मचारीहरुले बताएका छन् । उनीहरुले महानगरसँग अनुमति नै नलिई मेलाको आयोजना गरिएको र पत्र आझमात्रै प्राप्त भएको बताएका छन् ।


महानगरले मेलामा बसेका सबै कलेजका व्यक्ति, विद्यार्थी र अभिभावकलाई बाहिर निकालेर ताला लगाएको छ । मेलामा कलेजहरुले भर्ना गर्ने नाम टिपाउने, फारम भराउने जस्ता कार्य गरेकाले आजको लागि बन्द गरिएको महानगरले जनाएको छ ।


तर, विद्यार्थीलाई पढाई हुने विषयमा मात्रै परामर्श दिनेगरी भोलिदेखि मेला सञ्चालन दिइने महानगरले जनाएको छ । मेलामा ७५ भन्दाबढी शैक्षिक संस्थाका स्टलहरू रहेका छन् । मेला ३ असारसम्म सञ्चालन हुने छ ।


शैक्षिक मेलाको बिहिबार बिहान सभामुख देवराज घिमिरेले उद्घाटन गरेका थिए ।