यात्रा संस्मरण : भारतको विकास र शिक्षा कस्तो होला भन्ने लागेको थियो

काठमाडौं १७ जेठ कुनै ठाउँको यात्रा गर्नु तीर्थ जानु गीत गाउनु संगीत सुन्नु नाच्नु हास्नु आदि मानिसलाई आनन्द र रमाइलो महसुस गराउने कृयाकलापहरु हुन भन्ने मैले कतै पढेकी सुनेकी थिए । हुन पनि मानिसलाई एकै प्रकृतिको काम सधै गरिरहदा, एकै खालका मानिसहरुसँग सधै व्यवहार गर्दा र एकै ठाउँको वसाइले दिक्क लाग्ने र काममा प्रभावकारीता कम हुने कुरा अनुसन्धानहरुले पनि देखाइसकेका छन् ।


हालैका वर्षहरुमा मानिसहरु फूर्सद निकालेर आफूसँग मिल्ने मान्छेसँग घुम्न जाने, वनभोजमा जाने, प्रसिद्ध तीर्थस्थलहरु घुम्ने, वनपाखा खोलानाला झरना समुन्द्र हेरेर मन रमाइलो भएको महसुस गर्दछन् । मन रमाइलो हुने क्रियाकलापहरुमा कसैकसैलाई जंगली र घर पालुवा जनावर पालेर उनीहरुसँग खेलेर,वालवालिकाहरुसँग खेलेर वोलेर, वोटविरुवा लगाएर, फलफूल वोटविरुवा लगाएर पनि रमाएको पाइन्छ । कसैले गीत गाउने नाच्ने गीत लेख्ने कविता लेख्ने पढने आदि गरेर प्रशन्न र आनन्द भएको महसुस गर्दछन् ।आनन्द र रमाइलोको महसुस गर्ने सवै मान्छेका आ–आफ्नै तरीका हुँदा रहेछन् ।यो संसारमा कसैले त गर्न नहुने काम, अवैध काम गरेर समेत रमाएका पनि होलान ।


मलाई पनि जीन्दगीमा पहिलो पटक विदेशको तीर्थयात्रा गर्न मनमा हुटहुटी लागेर आयो । लामो वसको यात्रा गा(हो हुन्छ भनेर घरमा भनिरहनु भएको थियो तर मैले मानिन ।आजभन्दा ३५ वर्ष पहिले मेरो स्वˑवुवा ऋषिराम अर्याल तीर्थ गर्न यस ठाउँमा आउनु भएको थियो । त्यो वेला वुवा कतै हिडेर कतै वस त कतै रेलमा चढेर गएँ भन्नुहुन्थ्यो । सायद पैसाको कमी र यातायातको पनि असुविधा भएर होला भन्ने लाग्छ अहिले मलाइ । बुवा स्वर्गे हुनुभएको पनि ४ वर्ष भयो । बुवालाई पटक पटक सम्झदै म यात्रा गरिरहेकी थिए ।


मेरो माइती घर रुपन्देही जिल्लाको झारवैरा भन्ने ठाउँमा हो । माइती तर्फवाट दिदी वहिनी भाउजु काकी आमाहरु दाजुहरु जाने रे भन्ने खवर पाएपछि म पनि हरिद्वार जाने निधो गरे । वाटोको म्याद वाहेक हाम्रो एक हप्ताको कार्यक्रम थियो । २०७९ फागुन २७ गतेदेखि चैत ३ गतेसम्म ।


फागुन २३ गते म काठमाण्डौवाट रुपन्देही तर्फ लागे एकदिन आराम गरेर २५ गते विहानको खाना खाएर १२स्३० वजे घरै अगाडिवाट भारतीय नं प्लेटका ठूला ठूला डिलक्स वस सिट सूख्या ५६ थिए । हामी वस्ने सीट वीचभन्दा अलि अघि थियोवस्दा आराम नै थियो । झारवैरावाट हिडेको वस रानीवगिया नयाँगाउँ वुटवल शंकरनगर भैरहवाका तीर्थयात्रु चढाउदै हामी सुनौली नाकामा पुग्यौ । भैरहवामा सौचालयको प्रयोग समेत गरेर नेपाल र भारतको सिमा नाका सुनौलीमा चेकजाँच गराइवसहरु अगाडि वढे ।


हामी चढने त्यस खालका वस ५ वटा थिए भने तीर्थयात्रु २५० जना थियौ । गुरुको आज्ञा अनुसार म लगायत माइती दिदी वहिनी १ नं वसमा वसियो । वसमा वसेपछि सवैजना भजनकिर्तन गाउन थाल्नुभयो कोही नाच्न थाल्नुभयो । वाद्यवादनका साधन पनि लिएर आएका रहेछन् । साँच्चिकै यात्रा रमाइलो लागिरहेको थियो ।


जब वसहरु भारतको भूभागमा गुडन लागे मैले वाहिर तर्फ ध्यान दिन थाले । दिदीसँग अनुरोध गरेर मेरो वसाइ झ्यालमा नै वनाएँ ।भारतको भूभागका वजार क्षेत्र, शहरी क्षेत्र हेर्दै गयौ । ठूला ठूला खेतका फाँटमा गहुँवाली झुलीरहेका थिए ।भारत कृषिप्रधान देश र कृषिमा अगाडि नै हो भन्ने गहुँवाली देखेर विश्वास लाग्यो ।


लखनउ पुग्नुभन्दा अगाडि हाम्रो गाडि रोकियो अरु गाडि पनि रोकिए । सौचालय जानु परेर रोकिएका रहेछन् ।हामी सवै गाडिवाट झरियो । जहाँ टेकेपनि फोहर देखियो । फोहरमा के देखियो भन्दा जताततै प्लाष्टिक, सुर्ती खैनीका पाता, पान खाएर थुकेका, पानीका वोतल, वाटोमा कही धुलो कही हिलो र अझ भन्नु पर्दा खुला दिसा पिसाव गर्ने रहेछन् ।भैरहवा सौचालय जाँदा सफा र पानी सहितका थिए भने भारतमा त्यस्तो देखिएन ।सौचालय भए पनि पानी विनाका । पानी नभए पछि वाहिर वाहिरखेखि नै दिसा पिसाव वगेका र टेक्न पनि ठाउँ पाइएन । हामी वाहिर खुला ठाउँमा पिसाव गरी वस चढ्यौ ।


हाम्रो गाडी लखनउ पुग्यो ।लखनउ ठूलो शहर रहेछ । हामी त्यहाँ रोकिएनौ । वेलुका हुन लाग्यो, विहान गाडीमा राखेका पानीका वोतल थिए, हामीसँग धेरै थरिका खानेकुराहरु थिए झोलामा । कसैसँग फलफूल, तरकारी पुडी, च्यूरा, अचार, चकलेट, तितौरा, ढकनी, मालपुवा आदि । दिउस चकलेट फलफूल तितौरा आदि खाइयो भने रातीको समयमा वसहरु एउटा होटलमा रोकियो । कसैले होटलमा खाना खानुभयो कसैले आफुँसँग वनाएर ल्याएका खानेकुराहरु खानुभयो ।


हामीहरुलाई हरिद्धार लैजाने गुरु वहाँका परिवार र २ छोरा ११वर्ष र ६ वर्षका हामी सँगै यात्रा गरिरहनु भएको थियो । गुरुसँग यात्रा सँगै खाना खाजा साँच्चिकै रमाइलो लागिरहेको थियो । त्यो रातभरी हामी यात्रा गरिरह्यौ । अध्यारो भएकाले वाहिर केहीदेखिदैन । आमा दिदी वहिनी र साथीहरु भजनकिर्तन पनि गाउँछन नाच्छन कति रमाइलो र रुचि जाँगर चलाउछन तीर्थ जाने भनेपिछ ।


विहान ५ वजे ५ वटा वस एउटा ठूलो चउर जस्तो तर चिया नास्ता पसलको सौचालय पनि भएको ठाउमा रोकियो । त्यस ठाउँको नाम लेखेको वोर्ड पनि कतै देखिएन अध्यारो भएर होला । तर सौचालयको हालत उस्तै फोहर । विहानपख सवैलाई सौचालयको आवश्यकता अति जरुरी हुने नै भयो । यात्रुहरु वसको पछाडि छेउछाउ गएर वसे । म लगायत अन्य दिदी वहिनी भाउजु आन्टी अव के गर्ने हे भगवान राधे राधे आपद आइलाग्यो । वसकै पछाडि गयौ । त्यहाँ धेरैजना घोप्टी परेर सौच गरिरहनु भएको पाइयो । झिसमिसे अध्यारो भएकोले कसैका पनि अनुहार चिनिदैन तरिका यही रहेछ भन्ने लाग्यो ।


वस चढेर करिव ३५ किलोमिटर पुगेपछि फेरी म सिटवाट उठें । नजाने मलाई दिमागमा के आयो कोही साथी छुट्यो कि भन्ने । सवै सीट हेरे अन्टीलाई सीटमा देखिन । क्याविनमा हुनुहुन्छ कि भनि हेर्न गएँ । म वेलावेला क्याविनमा जाने गर्थे वहाँ पनि जानु भयो कि भनेर तर देखिन । पछाडि सीटमा सुत्नुभएको छ कि भनेर हेरे देखिन । अव भने चिच्याएर भने अन्टी छुट्नु भयो ।


ठूलो ६ लेनको हाइवे लोकल गाडी केही नचल्ने वाटो,ठूला ठूला मालवाहक टृक र लामो दूरीका वसहरु मात्र चल्ने रहेछन्। गुरुको भनाइ अनुसार हाम्री आन्टी छुट्नु भएको भए ठूलो समस्या हुने रहेछ मनै सिरिङ्ग भयो । हामीसँग भारतको सीमकार्ड थिएन कसलाई फोन गर्ने । संचारको सुविधा शून्य थियो । हाम्रा अरु वसमा चढनु भयो कि भनेर वस चालकलाई अरु वसका चालकसँग फोन गर्न भनियो । अर्को वसमा चढनु भएको रहेछ । अनुमति विना अर्को वसमा चढन पाइने थिएन तर थाहा नभएर चढनुभएछ । हामी वल्ल ढुक्क भयौ ।


करिव एक घण्टा विताएपछि हामी वाटो लाग्यौ । रात दिन एउटै ड्राइभरले वस चलाइरहेका थिए । चालक अलि उमेर पाका भएका ६० वर्षका जस्ता थिए । थकाइ लागेहोला अथवा निन्द्रा लागेहोला की भन्ने चिन्ताले मलाइ पिरोलेर म वेलावेला वसको क्याविनमा जाने गर्दथे । वसमा मलाई निन्द्रा कम लाग्ने हुनाले वरपर हिडिरहन्थे । गाडी सार्है राम्रो चलाउने रहेछन । रातको समयमा पनि वस ठाउँ ठाउँमा रोकेर हमीलाई फ्रेस गराउथे ।


दिउसो १२ वजेतिर फेरी वसहरु अयोधा भन्ने ठाउँमा होटलमा रोकिए । खाना खायौ पैसा तिरेर जाने सौचालय रहेछन सौचालय गयौं ।१ वजे त्यहँवाट प्रस्थान भइयो ।


वेलुका ५ वजे हरिद्धार जगतगुरु आश्रम कनखलमा पुगियो । हाम्रो लागि आश्रममा खाना र आराम गर्न कोठामा विस्तारा ठिक पारिएको रहेछ । त्यहाँ पुगेपछि हातखुट्टा धोएर पहिले खाना खायौ । त्यसपछि गुरुको आज्ञावमोजिम हलमा जम्मा भयौ । गुरुले भोलीको कार्यक्रम वताउनुभयो र कोठा विभाजन गरी साँचो लिएर आराम गर्न गयौं ।


भोलीपल्ट फागुन २७ गतेदेखि चैत ३ गतेसम्म विहान ५ वजे गंगास्नान गरी आश्रममा आउने तातोपानी चिया पिउने । कोठामा गएर धोएको सफा लुगा लगाइ विहान ८ वजे देखि ९ः३० वजेसम्म १८ पुराण पूजा महामृत्युञ्जय पूजा कसै कसैले पितृकार्यर श्राद्ध गर्ने गरियो । ९ः३० वजेदेखि १ वजेसम्म श्रीमद्भागवत कथा श्रवण गर्ने । १ वजेदेखि २ः३० सम्म भोजन समय छुट्याइएको थियो । ३ वजेदेखि वेलुकाको खाना समय अगाडि हमीलाई गुरुहरुले नजिकका तीर्थ स्थलहरु र मन्दिरहरु आश्रमहरु घुमाउन लैजानुभयो भने कहिले हामी आफै पनि समूह वनाएर घुम्न गयौं ।


प्रसिद्ध स्थानहरु
१. हरकीपोडी घाट : हामी वसेको आश्रमवाट झण्डै ४ किमि दूरीमा रहेको यो पवित्र एवं प्रसिद्ध घाट सूर्यास्त र सूर्योदयको समयमा निकै रमाइलो देखिने रहेछ ।गंगा नदिको किनार साँझमा ६ वजे र विहान ६ वजेको गंगा आरती यहाँको आकर्षण रहेछ ।देश विदेशका पर्यटक एवं तीर्थयात्रुहरु रमाइरहेका थिए ।


२. नीलकण्ठ महादेव मन्दिरः यो मन्दिर रहेको स्थानमा तीनवटा पर्वत देखिन्छन् जुन ब्रम्हा विष्णु महेश्वरको रुपमा मानिन्छ । यही पर्वतको वीचमा नीलकण्ठ महादेव मन्दिर रहेको छ । देवता र दानव वीच समुन्द्र मन्थन पछि बिष र अमृत दुवै प्रप्तपछि बिष ग्रहण गर्ने कोही नभएर भगवान शीवले पिउनुभयो । त्यो विष शिवको कण्ठमा वसेर निलो भएको हुनाले निलकण्ठ नामाकरण भएको भनाइ पाइयो । बिस पिण्डको रुपमा नीलकण्ठ मन्दिर राखिएको पाइयो ।


३. ऋषिकेशः ऋषिकेश गंगा नदिको किनारमा अवस्थित छ । ऋषिकेशमा पनि साँझविहान गंगा आरती हुने रहेछ । यहाँवाट सुन्दर र हरिया पहाड, गंगा नदी र हरिद्धार वजार क्षेत्र दृश्यावलोकन गर्न सकिन्छ ।यसभित्र परमार्थ निकेतन, २०० मीटर भित्र गीता भवन, स्वर्ग आश्रम वजार छ । रामझुला सेतु, जानकी झुला सेतु र त्यहाँदेखि ११ मीटर फरकमा लक्ष्मण झुला सेतु अवस्थित छन् । यी सेतु भनेका गंगा नदीमा राम, सीता र लक्ष्मणका नामका पुल हुन् तर असाध्यै सजाइएका र झिलिमिलि आकर्षक वनाएका हुनाले पर्यटक लोभिने रहेछन् ।


४. मनसादेवी मन्दिरः यो मन्दिर पहाडको माथी वनेको छ ।यस मन्दिरमा जान ३ वटा वाटाहरु छन् । घुमाउरो हिडेर जाने वाटो, सिंडी चढेर जाने वाटो र केवलकारको पनि व्यवस्था रहेछ । हामी सिंडी चढेर गयौं । यहाँदेखि पनि सुन्दर वजार क्षेत्र देखिने रहेछ । यस मन्दिरको दर्शन गरेपछि मनले चिताएको पुग्ने, परिवारमा सुख शान्ति आउने विश्वास गरिने रहेछ ।


दक्षेश्वर मन्दिर, श्रीधर्मगंगा घाट, शान्तिकुञ्ज, भारतमाता मन्दिर, नारायणशीला आदि स्थानमा पनि हामी गइयो ।
चैत २ गते वेलुका हामी तिर्थयात्रुहरुले आफैले वनाएर लगेका सवा तीन करोड वत्ती हरिद्धारको हरकी पोडी भन्ने घाटमा प्रज्ज्वलन गरियो । सवा तीन करोड द्धिप प्रज्ज्वलन गर्दा गंगा नदि किनार धपक्क वलेको देखियो । सारा घाट उज्यालो भयो । त्यस घाटमा साँझको आरती हेर्न विभिन्न देशका पर्यटकहरु र त्यसशहर र भारतका अन्य गाउँ शहरवाट मानिसहरु आउने रहेछन । नेपालीले वालेका वत्ती देखेर आश्चर्य एवं रमाइलो मानेर हेर्ने फोटो खिच्ने गरिरहेका थिए । भारतीय संचार माध्यमहरुले पनि नेपालीले गरेको काम लाइभ देखाइरहेका थिए ।


चैत ३ गते वेलुकाको खाना खाएर नेपाल पर्कने कुरा गुरुले २ गते नै भन्नुभएको थियो । ३ गते विहान गंगा नुहाएपछि आ(आफना लगेज र झोलाहरु आफू आएकै वसमा राख्न र त्यसैमा चढ्न अनुरोध गर्नुभयो हामीले त्यसै ग¥यौ । ३ गते वेलुका ७ वजे भोजन तयार भएको जानकारी आयो । तर खानेवेलामा हावाहुरी असिना पानी प(यो । धेरै मानिस भएकाले खुला ठाउँमा खाने गरेका थियौ र त्यो रात समस्या भयो।गुरुले आज अन्तिम दिन पानी परेको धेरै राम्रो हो भन्नुभयो ।पानी सिमसिम आइरहेको थियो अलि अलि भिजेर भए पनि भोजन लियौ र ८ वजे वस चढन गयौ । वसमा सिटको विषयमा कचकच हुँदा १ घण्टा लाग्यो । ९ वजे हामी वाटो लाग्यौ ।


३ गते रातभरी वसमा कुदियो ४ गते विहान नैनी सिरण्डी भन्ने ठाउँमा रोकियो । पानी सहितका सौचालय भएकाले खासै समस्या भएन तर लाइन भने लामै लागियो । वाहिर भने खुला दिसापिसाव त्यहाँ पनि देखियो । भारत उत्तर प्रदेशमा यस सम्वन्धी थिती वसाल्न अझकेही दशक नै लाग्छ भन्ने लाग्यो । नैनी सिरण्डी ताल नुहाएर पूजा गरियो र वाटो लागियो । दिउस २ वजे अयोध्याधाम दर्शन गर्न वसहरु रोकिए । हामी ८÷१० जनाको समूह मिलेर अटो चढेर गयौं । ३ कि.मी. अटोको यात्रा पछि १ कि।मी। पैदल हिडेपछि राम जन्मभूमि अयोध्या आइयो । त्यहाँ कडा चेकजाँच गरेर मोवाइल घडी सवै लकरमा राखी भित्र गइयो । सिमसिम पानी परेको थियो भिजेर निथ्रुक्क भइयो । मन्दिर निर्माणको क्रममा रहेछ । नेपालको कालीगण्डकीवाट लगेको शीलावाट वनाउन लागिएको रहेछ अटो चालकले पनि वताए । हामी भने खुशी एवं गौरवले दंग परियो ।


अयोध्यावाट वेलुका ९ वजे मात्र वाटो लागियो । आफ्नै सुरले अटो चढेर गएका तीर्थयात्रुहरु त्यसमा पनि ठूलो संख्यालाई वटुल्न गुरुलाई गा¥हो भएको सहजै अनुमान गर्न सकिन्थ्यो । सवै जना भिजेर मुसा जस्तै भएर वसमा जम्मा भइयो । त्यस रातभरी हिडेपछि जामी सुनौली आइयो । सुनौली वोडर ८ वजेमात्र खुल्ने रहेछ । अगाडि नै पुगेकाले हामी विहानपख सौचालय जानु प¥यो । वसका स्टाफ केही समय भए पनि सुत्नतर्फ लागे । हामीलाई सौचालय जानुपर्ने भयो ।अवस्था उही आइलाग्यो सौचालय भए पनि भित्र पानी छैन वाहिर चापाकल थिए । खुला दिसापिसाव भएर वाहिरी वातावरण फोहर थियो । जसोतसो समस्यावाट तरियो ।


विहान ८ वजे सुनौली नाका खुल्यो । चेकजाँच गरेपछि हामी भैरहवा आयौं । भैरहवाका तीर्थयात्रु झरे त्यसपछि शंकरनगर वुटवल नयाँगाउँ वनकट्टाका झरेपछि हामी झरियो । घर आइपुग्दा विहान १० वजेको थियो । नुहाइधुवाइ गरेपछि खाना खायौं । भोलीपल्ट अर्थात चैत ६ गते नाइट वसमा काठमाण्डौ आउन टिकेट लिएँ । थकाइ धेरै लागेको थियो । तै पनि विदा सकिए अफिस हाजिर हुनुपर्ने भएकाले म फेरी काठकमाण्डौ लागें ।


भारतको विकास, पूर्वाधार,सम्वृद्धि,मानिसको चेतनार शिक्षा कस्तो होला भन्ने लागेको थियो । वाटाहरु फराकिला रहेछन् वरिपरि रुखविरुवा फूलहरु लगाएर हरियाली वनाइएको देखियो । कृषिवाली पनि त्यत्तिकै राम्रो दखियो । गहिराइमा अध्ययन गर्न अवलोकन गर्न त मैले कहाँ पाउनु र। तीर्थस्थल गंगा नदि किनार र वाटो वरपर माग्ने मान्छे धेरै देखिए । पुलमुनि पनि साना साना कटेरा वनाइ वसेका देखिए । हामीहरुले खुद्रा पैसा साटेर लगेका थियौं त्यही दिंदै हिडिरहेका थियौं । गंगा नदि धेरै सफा, नीलो पानी वगिरहेको र पानी पनि धरै थियो । त्यहाँ नुहाउदा पहिला घरमा सावुन स्याम्पुले नुहाएर मात्र जानुपर्ने रहेछ । नदि किनारमा कुनै पनि क्रसर चलाउन नपाइने भएर नदि सफा भएको रहेछ । जता पनि गंगामैयाँ र गंगामैयाँ की जय भनेको कानमा गुञ्जी रहयो । हामीले पनि एक एक वटा वोतलमा गंगाजल भरेर नेपाल ल्यायौं । त्यही जल, र श्रीमदभागवतको फूल प्रसाद सवैलाई वाड्यौं ।


(लेखक रमा अर्याल पन्थी भाषा आयोगकी उपसचिव हुन् ।)