काठमाडौँ /६ जेठ-स्वदेशका विश्वविद्यालयलाई गुणस्तरीय बनाइ उच्चशिक्षाका नाममा विद्यार्थी विदेशिने क्रम रोक्न शिक्षाकर्मीहरुले आग्रह गरेका छन् । ‘उच्चशिक्षाको वर्तमान अवस्था’बारे उच्च शिक्षालय तथा माध्यमिक विद्यालय सङ्घ (हिसान), काठमाडौँ र खबर एजुकेशन डटकमद्वारा आयोजित नीतिगत संवादमा वक्ताहरुले त्रिभुवन विश्वविद्यालय र अन्य विश्वविद्यालयमा वार्षिक क्यालेण्डर कार्यान्वयन नहुनु, नवप्रवर्तन, अध्ययन अनुसन्धानमुखी र रोजगारमुखी शिक्षा नहुनु, विद्यार्थीको शुल्कको मापनमा एकरुपता नहुनुल गायतका समस्या देखिएको जनाएका छन् ।
शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयका सहसचिव डा. हरि लम्सालले नीतिगतरुपमा सरकारले गर्नुपर्ने जति सम्बोधनको प्रयास गरे पनि सोचेबमोजिम परिणाम आउन नसकेको स्वीकारे । लम्सालले आगामि दिनहरुमा कार्यशैलीमा बदल्न आवश्यक रहेको र सामुदायिक कलेज र प्राइभेट कलेजहरुलाई मर्ज गर्न तिर जानुपर्ने बवस्था आएको बताए ।
त्रिभुवन विश्वविद्यालयका शिक्षाध्यक्ष प्रा.डा.शिवलाल भुसालले विश्वविद्यालयमा राजनीतिक हस्तक्षेपले संस्कृतिकै रुप लिएकामा चिन्ता व्यक्त गर्दै त्यसलाई तोड्न कोशिश भइरहेको बताए । उनले उच्च शिक्षाको शैक्षिक अवस्था सुधारका लागि विश्वविद्यालयमा भएका न्युनतम पूर्वाधारको सदुपयोग गर्नुपर्ने बताउँदै नतिजा प्रकाशनमा अब ढिला नहुने प्रतिबद्धता जनाए ।

हिसानका केन्द्रीय अध्यक्ष रमेश सिलवालले विश्वविद्यालयलाई राजनीतिक हस्तक्षेप र बन्द हड्ताल मुक्त बनाउन आग्रह गर्दै उच्चशिक्षाका नाममा लाखौँ रकम विदेशिने अवस्था अन्त्य गर्न नेपाल सरकार, सम्बन्धित विद्यालय र कलेजहरु गम्भीर हुनुपर्ने बताए । उनले विश्वविद्यालयको शैक्षिक क्यालेण्डर नियमित नहुँदा विद्यार्थी भड्किएको र अवसर खोज्दा कलेजहरुमा समस्या सिर्जना भएको भनाई राखे ।
अमेरिकन मिलिटरी विश्वविद्यालय,अमेरीकाका प्रोफेसर डा. मेदिनी अधिकारीले नीति राम्रो नहुँदा उच्च शिक्षामा समस्या आएको बताए । उनले विश्वविद्यालयलाई राजनीति मुक्त बनाउनु पर्ने, बजारको आवश्यकता अनुसार पठनपाठन हुनुपर्ने, सम्बन्धनको सवालमा कोटा सिस्टम हटाउनु पर्ने र उत्कृष्ट विदेशी विश्वविद्यालय नेपालमा पनि आउन चाहे खोल्न दिनुपर्ने धारणा राखे ।
त्यसैगरी नेपाल अभिभावक महासंघका अध्यक्ष सुप्रभात भण्डारीले नेपालका विश्वविद्यालयमा शैक्षिक क्यालेण्डर लागु नहुनु बिडम्बना रहेको बताउँदै विश्वविद्यालय प्रति विद्यार्थीलाई विश्वास नभएकोले देशबाट बाहिरिएको भनाई राखे । उनले मुल्याङ्कन प्रणालीमा सुधारको खाँचो रहेको र तीन घण्टे परीक्षा प्रणालीलाई खारेज गर्नुपर्नेमा जोड् दिए । साथै विश्वविद्यालयमा हुने गरेको राजनीतिकरण बन्द गर्नुपर्ने, एकिकृत शिक्षा ऐन बनाएर विश्वविद्यालयको सुधार गर्नुपर्ने उनको भनाई थियो ।

त्रिभुवन विश्वविद्यालय योजना महाशाखाका ननिर्देशक प्रा.डा.धुव्रकुमार गौतमले विश्वविद्यालय शिक्षा कति वर्षको हुनुपर्ने भन्ने कुरामा समेत प्रष्ट हुन नसकेको बताए । उनले भने स्नातक तहको शिक्षा ४ वर्षको बनायौं भने बजारले माग गरे अनुरुपको जानशक्ति उत्पादन गर्न सक्छौं र कोर्स पुरा हुन्छ भन्ने सोचमा हामी गयौं । तर, अरु देशका विश्वविद्यालयमा तीन वर्षको पढाई बनाउँदै गर्दा अब हामीले सोच्ने की नसोच्ने ? त्यसकारण यसलाई परिवर्तन गर्न खाँचो रहेको मलाई लाग्छ । त्यसैगरी देशमा आवश्यक जानशक्तिको बारेमा सरकारको प्रक्षेपण नहुँदा उच्च शिक्षामा असर परिरहेको दाबी गरे । उनले शिक्षा मन्त्रालयले उच्च शिक्षामा बहस गर्न आवश्यक रहेको बताए ।
काठमाडौं विश्वविद्यालयका उपकुलपति प्रा.डा.भोला थापाले उच्च शिक्षामा समस्या र चुनौती धेरै रहेपनि आत्तिहाल्नु हाल्नुुपर्ने अवस्था नरहेको बताए । ठुलो संख्यामा विद्यार्थीहरु विदेश अध्ययन गर्न गएको र स्वदेशका विश्वविद्यालयमा विद्यार्थी घटेपनि यसलाई सुधार गर्न सकिने र त्यसतर्फ सोच्नुपर्ने समय आएको उनको भनाई थियो ।
थापाले काठमाडौं विश्वविद्यालय अन्तर्गतका केही कार्यक्रममा विद्यार्थीको संख्या घटे पनि आर्थिक रुपमा भने समस्या नरहेको बताउँदै विदेशी विद्यार्थीलाई नेपालमा पढाउने सवालमा राज्य र विश्वविद्यालयले सोच्नुपर्ने भनाई राखे । उनले भने विदेशी विश्वविद्यालय नेपालमा आए जस्तै काठमाडौं विश्वविद्यालयका केही कार्यक्रमहरु भारत, अष्ट्रेलिया लगायतका देशमा सञ्चालन गर्ने तयारी गरेका छौं । यो सम्भव हुन्छ तर हामी सबै लाग्नु पर्छ ।
उपकुलपतिले विश्वविद्यालयलाई उत्कृष्ट बनाउन केही राम्रो काम गर्न खोजे विभिन्न वाहानामा आरोप लागाउने, स्पष्टिकरण सोधेर दुःख दिने बताउँदै विश्वविद्यालयमा गरिने राजनीतिको अन्त्य गर्न खाँचो रहेको थापाको भनाई थियो । उनले नेपालमा अहिले आएको अवस्था आउँदै छ भनेर केही वर्ष अगाडी कुलपति, सहकुलपति र शिक्षा मन्त्रालयका कर्मचारीहरुलाई भन्दा हासेको र नपत्याएको स्मरण गर्दै विद्यार्थीहरु नेपालमा टिकाई राख्नका लागि सरकारले रोजगारको वृद्धि गर्नुपर्नेमा जोड दिए । साथै चिकित्सा शिक्षा आ

योग आएपछि नेपालको मेडिकल शिक्षा धरापमा परेको बताउँदै थापाले यसबारे सरकार गम्भिर हुन समेत आग्रह गरे ।
शिक्षा मन्त्रालयको आँकडा अनुसार आर्थिक वर्ष २०७९/०८० को जेठ ३ गतेसम्म ९२ हजार एक सय ४१ विद्यार्थीले विदेशमा अध्ययनका लागि अनुमतिपत्र लिएको देखिन्छ भने हाल दैनिक यो सङ्ख्या पाँच सयका हाराहारीमा रहेको छ । नेपाल राष्ट्र बैँकको तथ्याङ्क अनुसार पछिल्लो नौ महिनाको अवधिमा रु ६७ अर्ब १९ करोड बाहिरिएको छ । अघिल्लो आर्थिक वर्षको सोही अवधिमा रु ४३ अर्ब ६७ करोड बाहिरिएको थियो ।



