अन्तर विद्यालय लोक नृत्य प्रतियोगिता सम्पन्न,प्यारागन एकेडेमी विजयी

भक्तपुर/६ पुष-नेशनल प्याब्सन भक्तपुरको आयोजनामा अन्तर विद्यालय लोक नृत्य प्रतियोगिता सम्पन्न भएको छ । नेशनल प्याब्सनका केन्द्रिय सह–कोषाध्यक्ष बिक्रम ढुकुछुको प्रमुख आतिथ्यतामा जिल्ला स्तरीय लोक नृत्य प्रतियोगितामा सम्पन्न भएको हो ।


प्रतियोगितामा प्यारागन एकेडेमी विजयी भएको छ । प्यारागनको नेवारी धिमे नृत्य प्रथम हुँदा इडेन गार्डेन स्कुलको खलो नृत्य (माझी समुदायको पितृ उद्धार गर्ने) द्वितीय भएको थियो । त्यसैगरी मदरल्याण्ड स्कुलको संगीनी नृत्य तृतीय भयो र एसएस सदनले सान्त्वना पुरस्कार हात पारेका थियो ।


उक्त नृत्य प्रतियोगिता कार्यक्रममा प्रमुख अतिथि ढुकुछुले विद्यार्थीहरूको क्षमता अभिबृद्धिमा यस्तो कार्यक्रम निकै उपलब्धिमुलक हुने बताएका छन् । सोही कार्यक्रममा नेशनल प्याब्सन भक्तपुरका अध्यक्ष सञ्जय खड्काले नेपाल लोक संस्कृतिको धनी देश भएकोले लोकसंस्कृति झल्कने नृत्यहरूलाई संस्थाले बिशेष प्राथमिकतामा राखी कार्यक्रमहरू गर्दै आएको बताए ।


नेशनल प्याब्सन भक्तपुरका अध्यक्ष सञ्जय खड्काको सभापतित्वमा सम्पन्न प्रतियोगितामा नेशनल प्याब्सनका केन्द्रिय सदस्य जिबी खड्का, नेशनल प्याब्सन बागमती प्रदेशका उपाध्यक्ष पुण्यराम कवां लगायत भक्तपुर शाखाका पदाधिकारीहरूको उपस्थितीमा सम्पन्न कार्यक्रममा विजयी विद्यालय तथा विद्यार्थीहरूलाई पदक तथा शील्ड वितरण गरिएको जानकारी जिल्लाका सचिव जयप्रकाश राईले बताए ।


साथै प्रतियोगितामा प्रथम हुन सफल प्यारागन एकेडेमीका नृत्य नेशनल प्याब्सनको बागमती प्रदेश स्तरीय अन्तर विद्यालय लोक नृत्य प्रतियोगितामा छनौट भएको कार्यक्रम संयोजक तथा भक्तपुर शाखा सदस्य सुमन शिल्पकारले जानकारी दिनु भयो ।