शैक्षिक गुणस्तर अभिवृद्धिका लागि विद्यालयको अवस्था अध्ययन

काभ्रे/१ पुष-काठमाडौ विश्वविद्यालय र स्कुल अफ एजुकेसन पनौतीको सामुदायिक शिक्षा सुधारमा विगत ८ वर्षदेखि क्रियाशील ग्रामीण सामुदायिक संगठन (आरसीएफ) नेपालको सहकार्यमा शुरु गरिएको शैक्षिक गुणस्तर अभिवृद्धिको अभियान अन्तर्गत पनौती–६, काभ्रे स्थित श्री गोरखनाथ आधारभूत विद्यालयको अवस्था बारे अध्ययन गरिएको छ ।


पनौतीका सामुदायिक विद्यालयहरुमा शिक्षाको गुणस्तर अभिवृद्धिमा अहिलेको अवस्थामा अवरोध पुर्याउने के कस्ता तत्वहरु रहेका छन् भन्ने विषयमा काठमाडौ विश्वविद्यालयमा स्टेम एजुकेशन अध्ययनरत विद्यार्थीहरुको सहयोगमा यो कार्य गरिएको हो ।


गत मंसिर २८ गते काठमाडौ विश्वविद्यालय स्कुल अफ एजुकेशनका कार्यक्रम संयोजक डा. पार्वती ढुंगानाको नेतृत्वमा गरिएको अध्ययन कार्यको समन्वय आरसीएफ नेपालका कार्यकारी निर्देशक श्रीकृष्ण थापाले गरेका थिए ।


गोरखनाथ आधारभूत विद्यालयका प्रधानाध्यापक ईश्वर बहादुर भण्डारी र सहायक प्रधानाध्यापक राजकुमार तिमल्सिनाले सहभागीहरुलाई विद्यालयमा नै फुलिरहेका लालुपाते फुलका गुच्छाले स्वागत गर्दै काठमाडौ विश्वविद्यालय जस्तो प्रतिष्ठित संस्थाले गरेको यस किसिमको अध्ययनसंग सम्वन्धित क्रियाकलापबाट विद्यालयलाई फाइदा पुग्ने विषयमा आफू ढुक्क रहेको बताए । साथै उनले समन्वय गरेकोमा आरसीएफ नेपाललाई धन्यबाद दिए ।


अध्ययन कार्यका क्रममा एक समूहले प्रधानाध्यापक र सहायक प्रधानाध्यापकसँग विद्यालयको समग्र व्यवस्थापकीय पक्षमा छलफल गरेको थियो भने अर्को समूहले विभिन्न कक्षाहरुमा गएर सिकाई क्रियाकलापहरुको अवलोकन गरेको थियो ।

अवलोकनका क्रममा भेटिएका अत्यन्त सकारात्मक विषयहरु र सुधार गर्नुपर्ने विषयहरुको जानकारी समेत प्रधानाध्यापकलाई गराइएको थियो ।


यसै क्रममा काठमाडौ विश्वविद्यालय स्कुल अफ एजुकेशनका कार्यक्रम संयोजक पार्वती ढुंगानाले यस किसिमको अध्ययन पनौतीका अन्य विभिन्न विद्यालयहरुमा समेत गरी त्यसको आधारमा शैक्षिक गुणस्तर सुधार सम्वन्धी कार्यक्रमहरुको निर्माण गरी लागु गर्ने योजना रहेको जानकारी दिइन ।


कार्यक्रमको समन्वय गरिरहेको संस्था आरसीएफ नेपालका कार्यकारी निर्देशक श्रीकृष्ण थापाले काठमाडौ विश्वविद्यालयसंगको यस किसिमको साझेदारीले समुदायमा आधारित भएर सञ्चालन गरिएको शैक्षिक गुणस्तर सम्वन्धी यस किसिमको अभियानलाई निकै हौसला प्राप्त भएको धारणा व्यक्त गरे । यस साझेदारी कार्यक्रमले पनौतीका ३४ वटा सामुदायिक विद्यालयहरुमा अध्ययनरत करिब ५ हजार बालबालिका दीर्घकालमा लाभान्वित हुने विश्वास व्यक्त गरे ।