देशमै शैक्षिक गतिविधिमा अग्रसर कालिका खेलकुदमा पनि अब्बल : सदस्य सचिव घिसिङ

चन्द्रकान्त खनाल
रुपन्देही/१ पुष-नेपालकै नमुना कालिका मानवज्ञान माध्यामिक विद्यालयको ६२ औ वार्षिकोत्सब तथा अभिभावक दिवसको अवसर पारेर आयोजना गरिएकोे दोस्रो कालिका जिल्लास्तरीय रनिङ शिल्ड प्रतियोगिता आजबाट सुरु भएको छ ।


दोस्रो कालिका जिल्लास्तरीय रनिङ शिल्ड प्रतियोगिताको राष्ट्रिय खेलकुद परिषद्का सदस्य सचिव टंकलाल घिसिङले उदघाटन गरे । उद्घाटन समारोहमा बोल्दै घिसिङले देशमै शैक्षिक गतिविधिमा अग्रसर रहेको कालिका खेलकुदमा पनि अब्बल रहेको वताए ।


आफु पदभार ग्रहण गरेको एक वर्षको अवधिमा नवांै राष्ट्रिय खेलकुदसहित धेरै खेलकुद प्रतियोगिता सम्पन्न गर्न सफल भएको दाबी गर्दैै उनले उमेर समुहका खेलाडीहरुलाई अवसर दिने रुपमा कार्यक्रम ल्याउन लागिएको वताए । खेलकुद विकासमा धेरै लगानी गर्ने विद्यालयहरु पहिचान गरि सम्मानका कार्यक्रमबाट प्रोत्साहन मिल्ने उनको भनाई छ ।


उद्घाटनसत्रमा विद्यालयका कृतिमानी खेलाडी सलिम देवानले टर्च लाईट प्रदर्शन गरेका थिए भने खेलाडीहरुको मार्चपास, विद्यार्थीहरुको पिटी प्रदर्शन गरेका थिए । यसैविच विद्यालयले वार्षिकोत्सवको अवसरमा पोखरामा सम्पन्न नवौं राष्ट्रिय प्रतियोगिता २०७९ र १२ आंै राष्ट्रपति रनिङशिल्डमा विभिन्न विद्यामा पदक जित्ने खेलाडीहरुलाई दोसल्ला र सम्मानपत्रबाट सम्मान गरिएको थियो ।


राखेपका सदस्यसचिव टंकलाल घिसिङ, प्रदेश खेलकुद विकास परिषद लुम्बिनीका सदस्यसचिव जयप्रकाश भट्टराई, मदनभण्डारी स्पोर्ट्स एकेडेमीका अध्यक्ष धुर्ब आचार्य, वडा नं १० का वडाअध्यक्ष बलु पुन लगायतले एथलेटिक्समा लङजम्प विद्यामा राष्ट्रिय कृतिमानसहित पदक विजेता सलिम देवान, कबडी प्रतियोगितामा पदक बिजेता सतिस चौधरी, धर्मराज धवल, कृष्ण तरामु, आईटिएफ तेक्वान्दोमा पदक जितेका सबिना श्रेष्ठ तथा १२ औं राष्ट्रपति रनिङशिल्डमा कबडीमा स्वर्ण पदक जितेका राहुल अर्याललाई सम्मान गरिएको थियो । कार्यक्रममा प्रदेश खेलकुद विकास परिषद लुम्बिनीका सदस्य सचिव जयप्रकाश भट्टराईले सरकारबाट गर्नुपर्ने खेलकुद विकासका धेरै गतिविधि सामुदायिक र नीजि विद्यालयबाट भैरहेको वताए ।


बुटवल कालिका कलेजका प्राचार्य घनश्याम पाठकले खेलाडी देशको गहना व्यवहारमा उतार्न जरुरी रहेको वताए । समाज परिवर्तनमा प्रत्येक घडीमा चुनौती आउने भन्दै यो पार गर्न सक्नु सफलता भएको उनको भनाइ थियो । विद्यालयका प्रधानाध्यापक दिनेश थापाले स्वस्थ्य र खेललाई प्राथमिकता दिदै शिक्षासंग जोड दिने उदेश्यसहित खेलकुद गतिविधिलाई अगाडि बढाईएको वताए ।


प्रतियोगितामा २४ स्वर्ण, २४ रजत र २४ कास्य पदक गरि ७२ पदकमा खेलाडीहरुले प्रतिस्पर्धा हुने विद्यालयका खेलकुद संयोजक हरिस ओलीले जानकारी दिए । ओलीका अनुसार ४५ वटा विद्यालय सहभागी हुने प्रतियोगितामा प्रथम, द्घितिय र तृतीय टिमलाई नगद ५० हजार, ३० हजार र २० हजार रुपैया, शिल्ड, मेडल, प्रमाणपत्रबाट पुरस्कृत गरिने बताए । विद्यालयको ६२ औ वार्षिकोत्सब तथा अभिभावक दिवस यहि पुस ७ गते सम्म बिभिन्न कार्यक्रम गरि मनाउने छ ।