सिकाइलाई दिगो बनाउन ‘थिम बेसमा’ आधारित शिक्षण सिकाइ आवश्यक

काठमाडौं/२९ मंसिर-काठमाडौँ विश्वविद्यालयको संयोजनमा विभूति विद्यामन्दिरमा सञ्चालित ‘कन्टिन्युअस टिचर्स प्रोफेसनल डेभलमेन्ट कार्यक्रम’अन्तर्गतको पाँचौ चरणको कार्यक्रम सम्पन्न भएको छ । ‘थिम बेस करिकुलम इन इसिडी एण्ड इन्ट्रिगेटेड करिकुलम इन ग्रेड वन टु थ्री’ र ‘प्रोजेक्ट बेस लर्निङ’ जस्ता तीन फरक शीर्षकमा सञ्चालित सो कार्यक्रमका प्रस्तोता सचिता सुवाल र परशुराम निरौला रहनु भएको थियो ।


बालबालिकाहरूको आधार सिकाइलाई दिगो र प्रभावकारी बनाउन ‘थिम बेसमा’ आधारित शिक्षण सिकाइ क्रियाकलाप हुनु आवश्यक रहेको छ । आधारभूत सिकाइ बालबालिकाहरूको चौतर्फी विकासमा केन्द्रित हुनुपर्छ । सामाजिक, शारीरिक मानसिक र बौद्धिक विकासलाई समानान्तर गतिमा लैजानु पर्छ । त्यसरी नै कुनै एक विषयको अध्यापनसँगै अन्य विषयलाई पनि समेटेर लैजान सकेको खण्डमा सिकाई धेरै प्रभावकारी हुने देखिन्छ ।


नेपाली भाषा, साहित्यसँगै गणित, विज्ञान र कला जस्ता विषयलाई एकीकृत गरी लैजान सकेको खण्डमा सिकाई दिगो हुने विचार विज्ञको रहेको छ । बालबालिकाहरू काँचा माटा हुन जसलाई कुमालेरुपि शिक्षकले जस्तो आकार दियो त्यस्तै बनाउन सकिन्छ भन्ने पुरातन मान्यतालाई भत्काउदै बालबालिका आफैँमा बीज हुन् जसलाई अङ्कुरण हुने उचित वातावरण शिक्षकले सिर्जना गर्नुपर्छ भन्ने धारणालाई कार्यक्रमकी प्रमुख प्रस्तोता सचिता सुवालले जोड दिइन ।


कार्यक्रमको दोस्रो चरणमा कार्यक्रम सहजकर्ता परशुराम एस् निरौलाले ‘प्रोजेक्टबेस लर्निङ’लाई मुख्य विषय बनाई कार्यक्रम प्रस्तुत गरेका थिए । सिकाइ जीवनका लागि हुनुपर्छ परीक्षाका लागि होइन भन्ने मूल मान्यतालाई जोड दिँदै विद्यार्थीका हरेक सिकाइलाई वातावरणसँग अन्तर सम्बन्धित गराई जीवनसँग जोड्न सक्नु पर्छ । विद्यार्थीहरूलाई दीर्घकालिन विकासको अवधारणालाई सु–शिक्षित गराउँदै विगत, वर्तमान र भविष्यसँग जोडिएर सिकाइ गर्न/गराउन सकेमा विद्यार्थीहरूको सफल भविष्य सुनिश्चित गर्न सकिने कुरा सहजकर्ता निरौलाले बताए ।


डा. पार्वती ढुङ्गानाको संयोजनमा सञ्चालित उक्त कार्यक्रम मंसिर २५गते विभूति विद्या मन्दिरको सेमिनार हलमा भएको थियो ।