शिक्षक र विद्यार्थीको सहभागितामा कक्षा व्यवस्थापनलाई प्रभावकारी बनाउन सकिन्छ

काठमाडौं /१३ मंसिर-काठमाडौँ विश्वविद्यालय स्कुल अफ एजुकेसन धुलिखेल र जेम्स इन्स्टिच्युट अफ हायर एजुकेसन (जेम्सस्कुल) बिचको सहकार्यमा कार्यशाला सम्पन्न भएको छ । शिक्षकको क्षमता विकास गरी कक्षागत सिकाइ क्रियाकलापलाई कसरी अझ प्रभावकारी बनाउने र कक्षा व्यवस्थापन विषयमा एउटा कार्यशाला सम्पन्न भयएको हो ।


कार्यशालामा कक्षा व्यवस्थापन भनेको के हो र यसलाई कसरी कक्षाकोठा व्यवस्थापनमा प्रयोग गर्न सकिन्छ भन्ने विषयमा सहभागी शिक्षकहरु विचमा व्यापक छलफल गरिएको थियो । छलफलमा सहभागी शिक्षक ममता बस्नेतले विद्यार्थीका हरेक समस्यालाई शिक्षकको व्यक्तिगत दृष्टिकोणबाट मात्र हेर्ने गर्दा कक्षा व्यवस्थापनमा कठिनाइ हुने बताइन् ।


त्यसैगरी शिक्षक सुरज बरालले घरमा अभिभावक स्वयम् आफ्ना छोराछोरीका हरेक समस्या र आवश्यकताको परिपूपर्तिका लागि सहभागी भइदिने (हेलिकप्टर प्यरेन्टिङ) भएको कारणले विद्यार्थीमा परनिर्भरताको विकास भएको र शिक्षकसँग पनि उसले त्यही अपेक्षा गर्ने भएकाले कक्षा व्यवस्थापनमा समस्या हुने गरेको विचार व्यक्त गरे ।


ज्योतिलाल भट्टराईले कक्षा शिक्षणमा कक्षा घण्टीको अवधिभर एउटै प्रकारको शिक्षण पद्धति शिक्षकले अपनाउँदा कक्षा निरस र पट्यारलाग्दो हुने भएकाले प्रत्येक २० मिनेटमा चरणबद्ध सत्रहरु चलाएर कक्षा व्यवस्थापनलाई प्रभावकारी बनाउन सकिने बताए । शिक्षक कृष्णप्रसाद अधिकारी र श्रद्धा अर्याल जोशीले आजका विद्यार्थीहरु इन्टरनेट पुस्ताका र शिक्षकहरु चक डस्टर पुस्ताका भएको कारणले पनि कक्षा व्यवस्थापनमा समस्या आउनेमा जोड दिए ।


छलफलमा उल्लिखित समस्यालाई कसरी समाधान गर्दा कक्षा व्यवस्थापन सहज हुन्छ भन्ने विषयमा शिक्षकहरुकै तर्फबाट विभिन्न समाधानका उपायहरु प्रस्तुत भएका थिए । कार्यक्रममा सहभागी शिक्षक योगेशराज सिलवालले कक्षामा शिक्षण सिकाइ सुरु गर्नुपूर्व विद्यार्थीसँग स्वस्थ र सकारात्मक कुराकानीका साथै पूर्वसिकाइको पुनरावलोकनबाट पाठ सुरु गरेमा कक्षा व्यवस्थापन सहज हुने बताए । खगेन्द्र चम्लागाईँले कक्षा व्यवस्थापनका अवरोधहरुलाई हटाउन विद्यार्थीहरुलाई सिर्जनात्मक कार्यअनुसन्धानमा अनिवार्य सहभागी गराउनुपर्ने बताए ।


विद्यार्थीमा आत्मनिर्भरता बढाउन उनीहरुको सुविधाजनक क्षेत्रबाट विद्यार्थीहरुलाई बाहिर निस्कन प्रोत्साहन गर्नुपर्ने विचार शिक्षक अनिश ढकालले व्यक्त गरे । शशी भुजेलले शिक्षण सिकाइमा पाँच गतिशीलता जस्तै शिक्षक प्रस्तुतीकरण, एकल विद्यार्थी प्रस्तुतीकरण, युगल विद्यार्थी प्रस्तुतीकरण, सामान्य कार्य र समूहगत छलफल जस्ता क्रियाकलापबाट कक्षाकोठा व्यवस्थापन प्रभावकारी हुने कुरामा जोड दिए ।


शिक्षक प्रशान्त पौडेलले विद्यार्थी र शिक्षक दुवैको सहभागितामा कक्षाकोठाको शैक्षणिक परिस्थितिगत नैतिकतालाई सम्मान गर्ने आचारसंहिता निर्माण गर्नुपर्ने र नियमित संशोधनसहित त्यो शैक्षिक सत्रभरि लागू गरेमा कक्षा व्यवस्थापनमा सहयोग पुग्ने विचार व्यक्त गरे ।


विद्यालयमा गरिने यस्ताखाले छलफल तथा कार्यशालाले आजका इन्टरनेट पुस्ताका विद्यार्थी र पुरानो पुस्ताका शिक्षकहरुबिच फ्युजन भई प्रगतिशील शिक्षण सिकाइ क्रियाकलाप प्रभावकारी र सार्थक हुने कुरामा सहभागी सबैको मतैक्य रहेको पाइयो ।


छलफलकाक्रममा शिक्षकहरुले कक्षाकोठाको व्यवस्थापन गर्नुअगाडि विद्यार्थीको बारेमा थाहा पाउनुपर्ने र सोहीअनुसार कक्षा व्यवस्थापन गर्न सहज हुने कुरा बताए । हरेक विद्यार्थीमा फरकफरक समस्या हुने गरेको र ती समस्यालाई शिक्षकले पहिचान गर्न नसकेमा कक्षा व्यवस्थापनमा कठिनाइ हुने निष्कर्ष निकालियो ।


काठमाडौँ विश्वविद्यालयका सिपिइपी कार्यक्रम संयोजक पार्वती ढुङ्गाना र प्राध्यापक डाक्टर लक्ष्मण ज्ञवालीले सो तालिमको सहजीकरण गरेका थिए ।


(यो समाचार खबर एजुकेसनका लागि जेम्स विद्यालय धापाखेल ललितपुरका नेपाली विषय अध्यापनरत् शिक्षक पारसमणि खतिवडा तयार पार्नुभएको हो भने तस्विर आरती आचर्यले खिच्नु भएको हो ।)