काठमाडौं/२ मंसिर-काठमाडौं विश्वविद्यालय स्कुल अफ एजुकेशनले नोभेम्बर १६, २०२२ देखि छोटो अवधिका कोर्सको रुपमा स्टिम बेस्ड पेडागोजी इन स्कुल कार्यक्रम सुरु गरेको छ । ४८ घन्टा ३ क्रेडिट आवर हुने गरि तयार गरिएको यो कोर्स तालिम मोडेलमा हुने बताइएको छ । यस कोर्सले शिक्षकहरुका कक्षाका कृयाकलापहरुलाई कसरी विद्यार्थी केन्द्रीत बनाएर स्टिमका सिद्धान्त अनुसार कक्षा सञ्चालन गर्न सकिन्छ भन्ने व्यवहारिक ज्ञान र सीप प्रदान गर्नेछ ।
काठमाडौं विश्वविद्यालयका डिन प्रा.डा. बालचन्द्र लुइटेलको प्रमूख आतिथ्यतामा शुरु भएको पहिलो सेसनको अभिमुखीकरण कार्यक्रममा भाइस चान्सलर प्रोफेसर भोला थापाले कार्यक्रमको सफलताको शुभकामना सन्देश पठाउनु भएको थियो । प्रोफेसर बालचन्द्र लुइँटेलले काठमाडौ विश्वविद्यालय र खासगरी स्कुल अफ एजुकेशनले बिभिन्न कार्यक्रम मार्फत देशको शैक्षिक विकासमा योगदान दिदै आएको छ भन्ने बारेमा प्रस्तुती दिनु भएको थियो । अहिलेको अवस्थामा काठमाडौं विश्वविद्यालयले सीपीईपी मार्फत सङ्घिय सरकार, प्रदेश सरकार, अन्तराष्ट्रिय गैरसरकारी संस्थाहरु, नगरपालिका, गाउँपालिका र सरकारी तथा संस्थागत विद्यालयहरुसङ्ग सहकार्य गर्दै शिक्षाको क्षेत्रमा योगदान दिईरहेको जानकारी गराउनु भयो ।
सहभागीहरुलाई विश्वविद्यालयमा छोटो अवधिका कोर्सका लागि स्वागत गर्दै स्टिम डिपार्टमेन्टका प्रमूख बिनोदप्रसाद पन्तले छोटो अवधिका कोर्स शिक्षकहरुलाई लक्षित गरेर डिजाइन गरिएको र आगामी दिनमा अरु कोर्सहरु पनि छिट्टै सुरु गरिने बताए । यो कार्यक्रमले खासगरी विद्यालय नेतृत्व गर्नेहरुको कक्षागत शिक्षणका ज्ञान र शिपलाई परिमार्जन गर्दै प्रयोजन परक शिक्षालाई कक्षामा अभ्यास गर्न मद्दत पुर्याउने अपेक्षा गरिएको छ ।



